बल्ल आयो शान्तिदेवीको जीवनमा शान्ति

केही वर्ष अघिसम्म आर्थिक विपन्नताका कारण दैनिकजसो परिवारमा उत्पन्न अशान्ति खेप्दै आएकी सप्तरीको मानराजा–३ की शान्तिदेवी चौधरीको जीवनमा अहिले बल्ल शान्ति आएको छ ।

आर्थिक अभावमा छाक टार्न धौ धौ भएकाले दैनिकजसो तनावमा जीवन बिताउँदै आएकी शान्तिदेवीलाई कपडा व्यवसायबाट यथेष्ट आम्दानी हुन थालेपछि बल्ल शान्तिको आभास हुन थालेको हो । उनको जीवनमा आएको यस्तो परिवर्तन कुनै ईश्वरीय शक्तिबाट नभई आफ्नै मिहेनत र गरिबी निवारण कोषको सहयोगबाट प्राप्त भएको छ ।

करिब ३ वर्षअघि गरिबी निवारण कोषको सहयोगमा सरस्वती सामुदायिक विकास मञ्चद्वारा सञ्चालित सामुदायिक सशक्तीकरण तथा गरिबी न्यूनीकरण कार्यक्रमले शान्तिदेवीको जीवन उकासिएको छ । अहिले कपडा व्यवसाय गरेरै शान्तिदेवीले परिवार चलाउँदै आएकी छिन् भने बचत गरेको पैसाले घर घडेरीसमेत खरिद गरिसकेकी छन् ।

मिहेनत गरेर जीवनस्तर उकास्न सकिन्छ भन्ने बुझेर नै शान्तिदेवीले तीन वर्षअघि न्यून पुँजीमा सुरु गरेको कपडा व्यवसायले अहिले उहाँको जीवनमा ठूलो परिवर्तन ल्याइदिएको छ । गाउँका महिलाको सक्रियतामा गठन भएको लक्ष्मी सामुदायिक संस्थाको सदस्यसमेत रहेकी शान्तिदेवी भन्छिन्– ‘व्यवसाय गर्ने पहिला नै इच्छा थियो, तर पुँजी आभावका कारण गर्न सकेकी थिएन ।’

गाउँमा गठित महिलाको समूहमा आबद्ध भएपछि, त्यही कोषबाट ऋण लिएर आयआर्जनको बाटो रोजेकी उनले बताइन । शान्ति भन्छिन्– ‘गरिबी निवारण कोषबाट रु २५ हजार ऋण लिएर सुरु गरेको कपडा व्यवसायबाट परिवारको गुजारा चलेको हो ।’ घुम्ती कपडा पसल सुरु गरेकी शान्तिले हाल बनौला, तरही लगायतका बजारमा समेत गएर व्यवसाय गर्दै आएकी छिन् भने दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म आम्दानी गर्न थालेकी छिन् ।

यही व्यवसायबाट उनले श्रीमान्लाई रु ५० हजार खर्चेर वैदेशिक रोजगारमा पठाएकी छिन् । साधारण लेखपढ मात्र गर्न जानेकी शान्तिदेवी समूहमा लागेपछि निर्धक्क भएर बोल्न सक्ने मात्र होइन आम्दानी गर्ने र बचत गर्ने बानीको समेत आफूमा विकास भएको बताउँछिन् । सो गाविसका ३० जना विपन्न परिवारका महिला लक्ष्मी सामुदायिक संस्थामा आबद्ध भई अहिले विभिन्न आयआर्जनको कार्यमा संलग्न भएका छन् ।

Leave a Reply

Your email address will not be published.