सिकलसेलको औषधि नेपालमा प्रतिबन्धित, डम्बर चौधरी भन्छन्- भारतबाट किनेर ल्याउँछु

नेपाल सरकारले सिकलसेल एनिमिया रोगको औषधोपचार निशुल्क घोषणा गरेपनि विरामीहरु भने सहज रुपमा औषधी पाउन सकेका छैनन् । रोगीहरुले केहि औषधी देशभित्रै खरिद गर्न पाएपनि केहि औषधी नेपालमा प्रतिबन्धित भएकोले भारतीय बजारहरुबाट खरिद गर्नु पर्ने बाध्य रहेको छ । प्रायः नेपालमै नपाइने औषधीको अभाव हुँदै आएको विरामीहरुको दुखेसो रहेको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–९ वेलारका २४ वर्षीय डम्बर चौधरी नेपालमा औषधी नपाएपछि भारतीय बजारबाट औषधी खरिद गरी सेवन गर्दै आएको बाध्यता सुनाए ।

करिब चार वर्षदेखि सिकलसेल एनिमिया रोग प्रतिरोधात्मक औषधी सेवन गर्दै आएका उनले नेपालमा औषधी नपाएपछि निरन्तर भारतीय बजार रुपैडिया, पलियालगायत बजारबाट खरिद गर्दै आएको बताए ।

‘करिब चार वर्षआघे छाती दुखाई हुने र शरीर सुख्दै जाने समस्या भएपछि उपचारको लागि नेपालजञ्ज गएको थिए’, रोगवारे जानकारी गराउँदै उनले भने–‘नेपालजञ्जका डाक्टर राजन पाण्डेले सिकलसेल रोग लागेको भने र औषधी खानु पर्ने सुझाव दिए, त्यसै दिनदेखि केहि औषधी नेपालमै त केहि औषधी भारतीय बजारबाट खरिद गरी सेवन गर्दै आएको छु ।’ यहाँको बजारमा औषधी नपाएपछि समस्या भएको उनको भनाई छ ।

यो समस्या रोग पीडित डम्बर चौधरीको मात्रै नभई, सेती अञ्चल अस्पतालको निगरानीमा औषधोपचार गराउ्रँदै आएका कैलाली–कञ्चनपुरस्थित अधिकांश विरामीहरुको समस्या हो । अञ्चल अस्पतालको सिकलसेल एनिमिया रोग स्रोत व्यक्ति यशोदा ढकालका अनुसार अस्पतालको निगरानीमा रहेका एक सय ८० विरामी मध्ये करिब २० भन्दा वढी विरामी भारतीय बजारबाट औषधी खरिद गरी सेवन गर्दै आएका छन् ।

भिडियो हेर्नुस्:


‘धेरै दुखाई हुने विरामीहरुले ‘हाई ड्याप’ भन्ने औषधी सेवन गर्नु पर्ने हुन्छ, जुन औषधी क्यान्सर रोगीहरुकोे उपचारमा पनि प्रयोग गरिन्छ’, स्रोत व्यक्ति ढकालले भनिन्–‘तर हाई ड्याप औषधी नेपालमा प्रतिबन्धित भएकोले भारतीय बजारबाट खरिद गर्नु पर्ने हुन्छ ।’

नेपालमा प्रतिबन्धित औषधी पनि सेवन गर्नु पर्ने भएकोले विरामीहरुले औषधीमा सहजता हुनु पर्ने माग गरेका छन् । औषधी सहज रुपमा नपाउनु भनेको पीडामाथि थप पीडा थपिएको विरामीहरुको भनाई छ ।

नेपाल सरकार एक वर्ष यता सिकलसेल एनिमिया रोगीहरुलाई एक लाख रुपैया बराबरको औषधोपचारको सेवा दिदै आएको छ । बाह्य देशको बजारबाट खरिद गरेको औषधीको पनि भुक्तानी दिदै आएको जनाइएको छ ।

विरामीहरुको बाध्यतालाई मध्येनजर गरी नेपाली बजारमा पनि सहज रुपमा औषधी उपलब्धताको लागि पहल भैरहेको जनाइएको छ । ‘भारतीय अघोषित नाकाबन्दी भन्दा पहिले हाई ड्याप औषधी काठमाडौबाट आपूर्ति हुँदै आएको थियो, तर नाकाबन्दीपाछि औषधी आएको छैन, तथापी औषधी आपूर्तिको पहल भैरहेको छ’, स्रोत व्यक्ति ढकालले भनिन् ।

सिकलसेल रोग आदिवासी थारू समुदायमा देखा परेको वंशानुगत रोग हो ।

Leave a Reply

Your email address will not be published.