थारु र मधेसीलाई गच्छदारको आग्रह- आन्दोलन होइन वार्तामा आउनुस्

Bijay Gachhadar

फोरम लोकतान्त्रिकका अध्ययक्ष विजयकुमार गच्छदारले आन्दोलनरत मधेसी मोर्चा र थारुलाई आन्दोलन छाडेर वार्तामार्फत संविधान संशोधनको लागि तयार हुन आग्रह गरेका छन्। आन्दोलनको चरण समाप्त भइसकेको भन्दै गच्छदारले वार्तामार्फतै सबै विषयको निकास निकाल्न आग्रह गरे।

शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गच्छदारले आफ्नो दलले संविधानलाई हार्दिकतापूर्वक स्वीकार गरेको भन्दै नयाँ संविधान खारेज नहुने बताए। ‘केही कमीकमजोरी भएर संशोधनमार्फत् टुंग्याउन सकिन्छ,’ उनले भने, ‘अब आन्दोलनको चरण समाप्त भइसकेको छ। म मधेसी मोर्चा र थारु साथीहरुलाई आन्दोलन होइन सम्वादमा आउन र वार्तामार्फत् संविधान संशोधन गरी आफ्ना माग पूरा गराउन आग्रह गर्छु।’

उनले मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको भन्दै संयन्त्रको संयोजकमा को व्यक्ति छ भनेर नसोच्नसमेत आग्रह गरे। ‘व्यक्ति होइन त्यो सरकारले गठन गरेको संयन्त्र हो,’ उनले भने, ‘संयन्त्रमा आफ्ना प्रतिनिधि पठाएर जिम्मेवार हुन मोर्चाका साथीहरुलाई आग्रह गर्छु।’ पत्रकार सम्मेलनमा गच्छादारले यही वैशाख २०-२२ सम्म विराटनगरमा पार्टीको महाधिवेश गर्ने जानकारी दिए।

Leave a Reply

Your email address will not be published.