उम्मेदवारमाथिको आक्रमण तीब्र

उम्मेदवारमाथि ढुङ्गा प्रहार 
बाजुरा- एकीकृत नेकपा (माओवादी)का उम्मेदवार सहदेव बोगटी र नेता पदमबहादुर शाहीमाथि बाजुराको जडाङ्मा ढुङ्गामुडा गरिएको छ। बोगटीका अनुसार ढुङ्गा प्रहारबाट नेता शाही र मन नेपालीसहित केही एमाओवादी कार्यकर्ता घाइते भएका छन्। घाइतेको सदरमुकाम मार्तडीको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराले भने नेपाली कांग्रेसका दुई जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको जनाएको छ। एमाओवादीको टोली चुनावी प्रचारमा हिँडिरहेका बेला केही दिनअघि ब्रह्मतोलाको गुइगाडको भिरमा अज्ञात समूहले ढुङ्गा खसाएका थिए। ज्यान मार्ने उद्देश्यले यस्तो गरिएको नेता शाहीले बताए।
नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य पदम बडुवालले एमाओवादीसँग कुनै किसिमको रिसइवी नरहेको र विपक्षीमाथि आक्रमण गर्ने कुनै योजना नभएको स्पष्ट गरे।

नेपाली कांग्रेसका उम्मेदवारको गाडीमा आगजनी
धनकुटा- नेपाली कांग्रेसका तर्फबाट धनकुटा क्षेत्र नं २ का उम्मेदवार आनन्दसन्तोषी राईको सवारी साधनमा गएराति अज्ञात समूहले आगजनी गरेको छ। तेत्तीस दलीय मोर्चाको निर्णयअनुसार नेकपा–माओवादी, नेकपा एकीकृत र मञ्च सम्बद्ध सङ्घीय लिम्बूवान राज्य परिषद्का कार्यकर्ताले गाडीमा आगजनी गरेको नेकपा–माओवादीका धनकुटा अध्यक्ष सन्देश बिहानीले बताए।
आगजनीबाट राईले प्रयोग गर्दै आएको मे१ज २३७ नंको गाडीको टायर, तथा मुनिको भागमा क्षति पुगेको छ। हिजो घोर्लिखर्क गाविसमा चुनावी अभियान सकेर धनकुटा नगरपालिका –७ सङ्गम चोकस्थित राईकै घरनजिक राखिएको गाडीमा आगजनी भएको हो।
राति नै आगजनी गरिए पनि बिहानमात्र थाहा पाएको गाडी चालक थरेन्द्र पोख्रेलले बताउनुभयो। राति करिब १ बजे आगजनी भएको प्रहरीले अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले आगजनी गर्ने समूहको पहिचान हालसम्म नभएको भन्दै खोजीकार्य जारी राखिएको बताए।
आगजनी भएको स्थान जिल्ला प्रहरी कार्यालय धनकुटाबाट करिब १०० मिटरको दूरीमा छ।

लिम्बुवान र वैद्यका गरी दश कार्यकर्ता पक्राउ
इलाम- एकीकृत नेकपा (माओवादी)को चुलाचुलीमा चलिरहेको चुनावी अभियानमा प्रचार सामग्री र झन्डा च्यात्ने मञ्च सम्बद्ध सङ्घीय लिम्बूवान राज्य परिषद्का दुई जना कार्यकर्तालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ।
एमाओवादी २ नं क्षेत्रका उम्मेदवार रमेशकुमार लिङदेनको चुनावी प्रचार सामग्री च्यात्ने चुलाचुली–१ का विक्रम फागो र पप्पु फागोलाई प्रहरीले पक्रेको हो। पक्राउ परेका उनीहरू विरूद्ध प्रहरीले आजै जिल्ला प्रहरीमा सार्वजनिक मुद्दा दायर गरेको छ।
यस्तै फाकफोक गाविस कार्यालयबाट खाम्वाङमा निर्वाचन शिक्षा सामग्री लैजाँदै गरेको अवस्थामा सामग्री लुट्ने चार जनाको समूहमध्ये एकतप्पाका शेरबहादुर लिम्बू पक्राउ परेका छन्। उनको साथबाट प्रहरीले खाम्वाङ माविका शिक्षक लोकनाथ भट्टराईको एकथान मोबाइलसमेत बरामद गरेको छ। फरार रहेका अन्यलाई पनि प्रहरीले खोजी कार्य व्यापक बनाएको छ।
आमचोक–८ स्थित विजयटार निमाविका प्रअ रूपनारायण अधिकारीलाई पनि प्रहरीले उम्मेदवार आक्रमण आरोपमा पक्राउ गरेको छ। जिल्ला शिक्षा कार्यालयले शिक्षकलाई राजनीतिक कार्यकर्ताको रूपमा नलाग्न निर्देशन दिएपनि त्यसको बेवास्ता गर्दै अराजक क्रियाकलापमा संलग्न रहेको पुष्टि भए जागिर जानेसम्म हुन सक्ने जिशिअ दिलनाथ पुरीले बताए।
यसैबीच प्रहरीले एकसाताकाबीचमा जिल्लामा १० जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरिसकेको छ। इलामको महमाईमा कात्तिक ७ गते मतदाता सामग्री जलाउने नेकपा–माओवादी महमाईका दीपक सेञ्चुरी, चुलाचुलीका सुकबहादुर लावती र न्यूसन राई, त्यस्तै सुवासचन्द्र नेम्वाङको चुनावी सभालाई अवरोध गर्ने मञ्च सम्बद्धका कार्यकर्ता गोविन्दसिंह लिम्बू र भूपेन्द्र लिम्बूलाई एकतप्पाबाट, नेकपा–माओवादी गजुरमुखीका इञ्चार्ज डकेन्द्र लिम्बूलाई मङ्गलबारेबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले बताउनुभयो। चुनाव विरोधी क्रियाकलाप गर्ने जोसुकैलाई पनि कारबाही गरिने उनले बताए।

सिगौडीमा दुई माओवादीबीच झडप
दैलेख- चुनाव प्रचारमा खटिरहेका एमाओवादीका कार्यकर्ता र नेकपा–माओवादीका कार्यकर्ताबीच झडप भएको छ। एमाओवादी क्षेत्र नं २ को सिगौडी–५ घुम्ती डाँडामा भएको चुनावीसभालाई नेकपा–माओवादीका कार्यकर्ताले बिथोलेका छन्।
पच्चीस जनाको समूहमा आएका नेकपा–माओवादीका कार्यकर्ताले चुनावीसभा बिथोल्ने काम गरेपछि दुई पक्षबीच आधा घन्टा झडप भएको थियो। दुवै पक्षका कार्यकर्ता सामान्य घाइते भएको बताइएको छ। नेकपा–माओवादीका कार्यकर्ताले पर्चा, पम्प्लेट, माइक लुटेर लगेको र ब्यानर च्यातेर फालिदिएको एमाओवादीले जानकारी दिएको छ।

प्रहरीले सुरक्षाका लागि थप बल सिगौडीतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। सिगौडी जिल्ला सदरमुकाम दैलेख बजारदेखि २० कोष टाढा पर्दछ। रासस

डोल्पामा झडप
नेकपा (एमाले)का कार्यकर्ताले एमाओवादीका डोल्पा जिल्ला कमिटी संयोजक नैनाप्रसाद पहाडीलाई दिउँसो १२ बजे कुटपिट गरेको विषयलाई लिएर बुधबार दुई दलका कार्यकर्ताबीच फेरि झडप भएको छ।
एमालेका कार्यकर्ताको कुटपिटबाट लिकु गाविस–१ का ४२ वर्षीय नैनप्रसाद पहाडीको दायाँ आँखाको माथिल्लो आँखीभौमाथि चोट लाग्नुका साथै लगाएको चश्मासमेत फुटेको छ। एमाओवादीका कार्यकर्ताले दुनैस्थित लालिमान बुढाको पला गेस्ट हाउसमा बैठकमा बसिरहेका कार्यकतामाथि ढुङ्गा प्रहार गरेपछि दोहोरो झडप भई बजारमा हिँडिरहेका सर्वसाधारणको भागदौड मच्चिएको थियो।
यसैगरी दोहोरो ढुङ्गा हानाहानबाट पला गेस्ट हाउसको काठको बार्दली र झ्यालका सिसाहरुमा तोडफोड भएको बताइएको छ। दुवै पक्षबाट ढुङ्गा हान्न थालिएपछि प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको र नेपाली सेना परिचालन गरिएको थियो।

बुधबार बिहान एमाले र एमाओवादीका उम्मेदवार र जिल्लास्तरका नेताहरुलाई जिल्ला निर्वाचन कार्यलय डोल्पाले जिल्ला प्रहरी कार्यलयमा झिकाएर आचारसंहिता पूर्णरुपमा पालना गर्न सचेत गराएको मुख्य निर्वाचन अधिकारी नारायणप्रसाद पोख्रेलले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.