बाबुराम भट्टराईको नयाँ शक्ति र सीके राउत सुरक्षा निगरानीमा

Baburam Bhattarai and Ck raut

उपत्यका विशेष सुरक्षा बैठकमा मधेसी मोर्चाले गर्न लागेको आन्दोलन, नयाँ शक्ति र सीके राउतको गतिविधिमा विशेष निगरानी राख्ने विषयमा छलफल भएको छ । बैठकमा सहभागी गृहमन्त्री शक्तिबहादुर बस्नेतले अहिलेको प्रमुख चुनौती संविधान जसरी पनि कार्यान्वयन गर्नुपर्ने रहेको बताएका थिए ।

बैठकमा सुरक्षा अधिकारीहरूले पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पनि संविधान कार्यान्वयन गर्न नदिने शक्तिसँग लागेकाले उक्त पार्टीको गतिविधिमा निगरानी राखिनुपर्ने बताएका थिए । संविधान मस्यौदा समितिका सभापति रहेका भट्टराई एकाएक सरकारको विपक्षमा उभिनुले संविधान कार्यान्वयन गर्न नदिन उनले ठूलो भूमिका खेल्न सक्ने तर्क सुरक्षा अधिकारीले बैठकमा राखेका थिए ।

मन्त्री बस्नेतले भने संविधान कार्यान्वयनमा बाधा पुर्‌याउने जुनसुकै शक्ति र पार्टीलाई रोक्ने रणनीति अवलम्बन गरेर कार्ययोजना बनाई लागू गर्न निर्देशन दिएको स्रोतले बतायो । स्रोतका अनुसार गृहमन्त्री बस्नेतले भनेका थिए,‘जुनसुकै शक्ति भए पनि संविधान कार्यान्वयन गर्न नदिन र राज्यशक्तिमा आफ्नो भूमिका खोजेका हुन् । उनीहरूका गतिविधिलाई कुनै पनि हालतमा रोक्नुपर्छ ।’

संविधान कार्यान्वयन गर्न नदिन मधेसी मोर्चा, सीके राउत, विप्लव नेतृत्वको माओवादीलगायत एक ठाउँमा उभिने भएकाले त्यसलाई रोक्न कडा खालको सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याउनुपर्ने गृहमन्त्रीले बताएका थिए । बैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने, ‘सीके राउतलाई खुलमखुला मुलुकको विखण्डन गराउने र जनतालाई भड्काउने गतिविधि गर्न दिने हो भने संविधान कार्यान्वयनमा ठूलो असर पर्ने कुरा राखियो । मुलुकलाई अस्थिरता कायम राख्न सबैले कार्यगत एकता राख्न सक्ने जानकारी गृहमन्त्रीलाई अवगत गराइयो ।’ (अन्नपूर्णपोस्टबाट)

Leave a Reply

Your email address will not be published.