नेपाल २३ वर्षपछि च्याम्पियन (खेलको हाइलाइटसहित)

Nepal(Blue)  Vs  Bahrain(Red)Final Match 1खेलमिलेमतो प्रकरण, एन्फा अध्यक्ष गणेश थापामाथि भ्रष्टाचारको अभियोगको १० वर्षे प्रतिबन्ध अनि मैदानभित्र लगातारको असफल नतिजाका कारण नेपाली फुटबलप्रेमीमा कुनै उत्साह थिएन। अघिल्लो महिना भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा श्रीलंकाको प्रयोगात्मक टोलीसँग पनि पराजित हुँदै समूह चरणबाटै बाहिरिएपछि समर्थकको निराशा झनै बढेको थियो।

त्यस्तो अवस्थामा बंगबन्धु कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता खेल्न बंगलादेश जान लागेको टोलीबाट ठूलो आश गरिएको थिएन। तर, सबैको अपेक्षाविपरीत उच्च प्रदर्शन गर्दै नेपाली राष्ट्रिय टोलीले लामो समयपछि उपाधि जित्ने स्वर्णिम मौका शुक्रबार चुकाएन।

बहराइनको २३ वर्षमुनिको टोलीमाथि ३–० को रवाफ जमाउँदै नेपालले बंगबन्धु गोल्डकपको उपाधि जित्यो। विमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठको गोलमा फाइनलको नतिजा आफ्नो पक्षमा पारेपछि ढाकास्थित बंगबन्धु रंगशालामा २३ वर्षपछि नेपालले चरम खुसीको क्षण आत्मसात गर्योफ। पछिल्लोपटक सन् १९९३ मा नेपालले सोही मैदानमा छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) अन्तर्गत फुटबलमा स्वर्ण जितेको थियो। अन्तर्राष्ट्रिय फुटबलमा नेपालले अहिलेसम्म जितेको त्यो पछिल्लो आधिकारिक उपाधि हो। आमन्त्रण प्रतियोगिताको हकमा भने २००९ मा काठमाडौंमा सम्पन्न पहिलो प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि नेपाल रातोले जितेको थियो।

खेलको हाइलाइट हेर्नुस्:

१९९३ मा छैटौं साफ जित्दामा गोलकिपर उपेन्द्रमान सिंह अहिले राष्ट्रिय टोलीको गोलकिपिङ प्रशिक्षकमा छन् भने अर्का सदस्य बालगोपाल महर्जनले मुख्य प्रशिक्षकका रूपमा नेपाली टोलीको नेतृत्व गरिरहेका छन्।

दक्षिण एसियाभन्दा बाहिरका टोलीसमेत सहभागी भएको प्रतियोगिता पहिलोपटक जित्नेक्रममा नेपालले विजेता सूचीमा पहिलो राष्ट्रिय टोलीका रूपमा पनि नाम लेखाएको छ। २० वर्षको इतिहास भए पनि चारपटकमात्र हुन सकेको प्रतियोगिता यसअघि कुनै पनि राष्ट्रिय टोलीले जित्न सकेको छैन।

उपाधिसँगै नेपाली टोलीले नगद पुरस्कारस्वरुप ५० हजार अमेरिकी डलर प्राप्त गर्योन। बहराइनले २५ हजार अमेरिकी डलर पायो। यसैबीच, एन्फाले पनि २३ सदस्यीय नेपाली टोलीलाई जनही ५ लाख रुपैयाँ दिने भएको छ। राष्ट्रिय खेलकुद परिषदले उपाधि जिते जनही २ लाख रुपैयाँ दिने यसअघि नै घोषणा गरिसकेको छ।

नेपाली टोलीका प्रशिक्षक बालगोपालले जितलाई नेपाली फुटबलका लागि मात्र नभई समग्र खेलकुदकै लागि खुसीको दिन भएको बताएका छन्। ‘फुटबलका लागि यो विशेष दिन त हुँदै हो समग्र खेलक्षेत्रले पनि यसमा खुसी मान्नुपर्छ,’ उनले भने, ‘सेमिफाइनलमा माल्दिभ्स जस्तो टोलीलाई हराएपछि भने हामी च्याम्पियन बन्नेमा आशावादी थियौं। बहराइनले राम्रो खेल्यो तर हामीले त्यो भन्दा पनि राम्रो खेल्यौं।’

सामूहिक प्रदर्शनका कारण च्याम्पियन बन्न सफल भएको जनाउँदै उनले भने, ‘हरेक खेलाडीले एकअर्कालाई सहयोग गरेर खेलेका छन् र धेरैपछि हामी एउटै प्रतियोगितामा धेरै गोल गर्न सफल पनि भएका छौं। यति बेला म खेलाडी, प्रशिक्षण टोली, नेपाली फुटबलप्रेमी सबैलाई धन्यवाद दिन चाहन्छु।’

लामो समयसम्म गोलको खडेरीबाट गुजि्रइरहेको टोलीका लागि गोलको वर्षा गराउन सफल फरवार्ड नवयुग श्रेष्ठ प्रतियोगिताकै उत्कृष्ट खेलाडी तथा उच्च गोलकर्ता बने। सेमिफाइनलमा माल्दिभ्समाथि ४–१ को नतिजा निकाल्दा ह्याटि्रक गरेका नवयुग चार गोलसाथ उच्च गोलकर्ता बनेका हुन्। यसैगरी फाइनलमा आफै एक गोल गर्नुका साथै नवयुगलाई अर्को गोलको अवसर सिर्जना गरेका विमल प्लेयर अफ दी फाइनल भए।

विमलको गोलबाट नेपालले चौथो मिनेटमा अग्रता लियो। कप्तान विराज महर्जनको क्रस अञ्जन विष्टले हेड गर्दा विपक्षी गोलकिपरले पन्च गरे, त्यसको रिबाउन्डमा विमलले नजिकबाट गोलको खाता खोले। समय सकिन तीन मिनेट बाँकी रहँदा विशालले नेपालको अग्रता दोब्बर पारे। अञ्जनले विपक्षी रक्षकलाई छलाएर निकालेको सुन्दर पासमा विशालले गोल गरेका हुन्। विमलको सानदार क्रसमा नवयुगले इन्जुरी समयमा हेडबाट गोल गर्दै जित निश्चित गरेका थिए।

तनावबीच सम्पन्न फाइनल खेल सकिँदा मैदानमा नेपाल १० तथा बहराइन ९ खेलाडीमा सीमित भइसकेका थिए। ८१ औं मिनेटमा नेपालका सुमन लामा र बहराइनका खेलाडी झगडामा उत्रेपछि दुवैले रातो कार्डको सामना गरे। इन्जुरी समयको दोस्रो मिनेटमा विराजलाई लात हानेपछि बहराइनका कप्ता नासिर अल ओसामले पनि रातो कार्ड पाउँदै मैदान छोडे।

खेलको सुरुआतमै गोल गरेका कारण त्यसले खेल जित्न मद्धत पुगेको प्रशिक्षक महर्जनले बताए। ‘सुरुमै गोल गर्दा सबै खेलाडीको मनोबल उच्च हुन्छ। यसलाई अन्तिमसम्म कायम राख्न खेलाडी सफल भए। जसका कारण २३ वर्षपछि पुनः ढाका आएर च्याम्पियन बन्न सफल भयौं। त्यतिबेला खेलाडी र अहिले पहिलोपटक प्रशिक्षणको पूर्ण जिम्मेवारी पाउँदा उपाधि जित्नुको बेग्लै आनन्द हुँदोरहेछ। यसलाई शब्दमा मात्र बयान गर्न कठिन छ।’

१९९९ मा आठौं साफ खेलेयता नेपालले औपचारिक प्रतियोगिताको फाइनल खेलेको छैन। उपाधि विजेता नेपाली टोली बंगबन्धु कपको एकमात्र अपराजित टोली रह्यो। फिफा वरीयतामा समेत दक्षिण एसियाली राष्ट्रमध्ये पुछारको नेपालले यसै प्रतियोगिताका क्रममा श्रीलंका र मादिल्सका राष्ट्रिय टोलीलाई हराउनुका साथै बंगलादेशसँग बराबरी खेलेर वरीयतामा सुधार गर्ने सम्भावना बढाएको छ।

Leave a Reply

Your email address will not be published.