बारबर्दियाका सामुदायिक विद्यालयमा सिकलसेल रोगबारे पढाइ हुने

बारबर्दिया नगरपालिकाले आफ्नो नगरमा रहेका सामुदायिक विद्यालयमा सिकलसेल रोेगको पाठ्यक्रम लागु गरेको छ । नगरपालिकाले स्थानिय पाठ्यक्रम अन्तर्गत नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयको माध्यामिक तहमा अनिवार्य बिषयका रुपमा सिकलसेल रोग सम्बन्धी पाठ्यपुस्तक लागु गरेको हो ।

नगरपालिकाले ३९ औँ शिक्षा दिवस तथा ५२ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर परेर माध्यामिक तहमा अनिबार्यरुपमा सिकलसेल रोग सम्बन्धी पाठ्यपुस्तक लागू गरिएको घोषणा गरेको हो । पहिलो चरणमा माध्यमिक तहको कक्षा ९ मा यो पुस्तक लागू गरिएको छ ।
बारबर्दिया नगरपालिकाले सिकलसेल ऐनिमिया सोसाईटी बाँकेको सहकार्यमा सिकलसेल जानकारी शिक्षा पाठ्यपुस्तक तयार गरेको हो । नेपालमै सिकलसेल रोगको बारेमा पठनपाठन सुरु गर्ने यो नगरपालिका पहिलो हो ।

हाल कक्षा ९ मा लागू गरिएको यो शिक्षा आगामी वर्ष अन्य कक्षामा पनि लागू गरिने बताइएको छ । भेरी अञ्चल अस्पताल कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले यो पुस्तक लेखेका हुन ।

सिकलसेल रोग थारु जातिमा जटिल समस्याको रुपमा रहेको रोग हो । विद्यार्थी मार्फत सिकलसेल रोगको बारेमा समुदायमा जनचेतना फैलाउन, समुदायमा यस रोगको असर घटाउदै नगर क्षेत्रबाट यो रोग उन्मुलन गर्ने उदेश्यले पाठ्यक्रम निमार्ण गरि लागू गरिएको नगरप्रमुख दुर्गाबहादुर थारुले बताए ।

यो विषयलाई सामाजिक शिक्षा विषयमा समावेश गरि वर्ष भरिमा जम्मा १८ घण्टी तथा १४ पाठ्यभार छुट्याइएको बारबर्दिया नगर शिक्षा शाखा प्रमुख टिकानाथ गोसाइले बताए । शिक्षा दिवसका अवसरमा शनिबार बारबर्दियास्थित युवक मावि जोगिगाउँमा आयोजित एक समारोहमा प्रदेश सांसद तिलक शर्मा, कुलप्रसाद पोख्रेल, नगरप्रमुख दुर्गाबहादुर थारु र डा. राजन पाण्डेले संयुक्तरुपमा सिकलसेल शिक्षा पाठ्यपुस्तकको बिमोचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.