राजधानीको रङ्गमञ्चमा थारु नाटक मञ्चन गर्ने सपना पूरा हुँदै

सुशील चौधरी
भुरभुरा रहर थारु नाटक पुस १५ देखि २३ गतेसम्म सर्वनाम थियटर, कालिकास्थानमा बेलुकी साढे चारबजेदेखि मञ्चित हुन गइरहेको छ। विगत तीन दसकदेखि थारु भाषामा नाटक लेखन तथा मञ्चन गर्दै आएकोमा यसपटक राजधानी केन्द्रीत नाटक घरहरु माथारु भाषाका नाटक मञ्चन गरेर नेपाली थारु भाषा तथा संस्कृतिको उन्नयनका लागि राष्ट्रिय बहसको थालनी गर्ने अभिप्रायले काठमाडौंमा नाटक प्रदर्शनका लागि छलफल भइरहेको थियो। त्यसभन्दा पहिले नेपाली रङ्गमंचको आधुनिक धरोहरको रुपमा स्थापित आरोहण नाट्य अभियानसँग २०५८ सालतिर गाँसिएपछि नाटक लेखन र मञ्चनको क्रमले पुनः गति लिएको थियो। बढी जसो कचहरी नाटक लेखन, निर्देशन र प्रस्तुतिको क्षेत्रमा संलग्न भइयो। सौभाग्य नै भनौं, नेपाली रङ्गमंचका हस्ती सुनिल पोखरेलको संगतले म पनि ख्याल ख्यालैमा रङ्गगकर्मी भएँ। उनको अगुवाईमा रंगकर्मीको रुपमा डेनमार्कमा एक महिना नाटक प्रदर्शन गर्दै हिंडे।

गुरुकुल नाट्य घर खुलेदेखि नै म काठमाडौंमा मञ्चित हुने धरैजसो नाटकहरु हेरेको छु। त्यसपछिका दिनमा राजन खतिवडाको सक्रियतामा खुलेको मण्डला नाटक घर होस् की शिल्पी थिएटर या सर्वनाम लगायतका नाटक घरहरुमा पागलजस्तै गरी भौँतारिएको छु। सहृदयी साथी कृष्णराज सर्वहारीको धेरै लामो घोचाईपछि थारु नाटक संग्रह प्रकाशन गर्ने ध्याउन्नमा नाटक लेख्दै गर्दा नाटक भुरभुरा रहर लेख्ने रचनागर्भ तयार भयो। यसै वर्षको सुरुवातमा सर्वनाम नाटक घरमा आबद्ध भाई प्रनव आकाशसँग भेट भयो।

उनको नाटकप्रतिको लगाब देखेर म मोहित भएको थिएँ। उनले सधै नाटक मागिरहन्थे। पुनर्लेखन गरेर नाटकको पाण्डुलिपि हात लगाइदिएँ। उनले नाटक निर्देशन गर्ने जाँगर देखाए। दिलदार मित्र जो चम्पन साँस्कृतिक समूहको संयोजक छन्, नन्दुराज चौधरी पनि हौसिए। समूहका मेहनती कलाकारहरु पनि हातमा हात मिलाए, फलस्वरुप भुरभुरा रहर थारु नाटक पुस १५ देखि २३ गतेसम्म सर्वनाम थियटर, कालिकास्थानमा बेलुकी साढे चारबजेदेखि मञ्चित हुन गइरहेको छ। काठमाडौ बस्ने सबै थारुलगायत गैर थारु नाटक प्रेमीहरुलाई सर्वनाम नाटक घरमा स्वागत छ। यसको अवलोकनले तपाईहरुलाई आफ्नै थारु गाउँमा पुगेको अनुभूति हुनेछ।

rahar-tharu-bhasa-natakभुरभुरा रहर नाटक मंचन मेरो जीवनको ठूलो परिघटना बन्दैछ। म मा रहेको रङ्कर्मी मोहले मूर्त रुप लिइरहेको छ। यो नाटक सवाल्टर्न थारु जाति, भाषिक समुदायको लोकजीवन, कला, संस्कृतिको प्रतिविम्ब हो। राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक मुल प्रवाहिकरण हुने दौडमा सामेल हुन र विकासका कतिपय बैकल्पिक मानक बनाउन यो पहिलो प्रयासले गर्नेछ भन्ने अपेक्षा पनि गरिएको छ। पहिचान र समावेशिताको मुद्धा उठान भइरहेको बेला आदिवासी थारु समुदायको भाषा र संस्कृतिमा आधारित नाटक भुरभुरा रहरले समाज अनुसन्धान्कर्ताहरु, संस्कृतिविद्, तथा आमदर्शकहरुलाई आकर्षित गर्ला र भरपुर माया पाउने आशा लिएको छुँ।

Leave a Reply

Your email address will not be published.