अट्वारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ। यो पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन्। यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ। दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अट्वारी भदौ महिनामा पर्छ। तर कुनै साल असोजमा पनि मानेको पाइन्छ। जे जस्तो भएपनि अट्वारी धेरैजसो कृष्ण अष्टिम्की पछिको दोस्रो आइतबार अथवा कुश अमाँवस (कुशेऔंशी) पछिको पहिलो आइतबारलाई अट्वारी मान्ने चलन छ। तर अट्वारीको विषयमा विभिन्न मतमतान्तर पनि हुँदै आएको छ। ठाउँ अनुसार चालचलनमा विविधता छ र यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरु अगाडि आएको देखिन्छ। यसकारण पछिल्लो समय यस पर्वको निश्चित तिथि, मिति हुनु पर्ने कुरा थारू समुदायका बौद्धिक वर्गहरुको बहसको विषय पनि बन्दै आएको छ।
अट्वारी, कुशेऔंसी पछिको पहिलो आइतबारलाई ‘बर्का अट्वारी’को रुपमा मानिन्छ भने कोही–कोही त्यसपछिको चार सहित पाँच आइतबार ‘अट्वारी’ व्रत बस्ने गर्छन्। यसरी ‘पाँच अट्वारी’ पछि दशैं आउँछ। अथवा कुशेऔंसी र दशैको बीचमा आउने पाँच आइतबारलाई अट्वारी मान्न सकिन्छ। यसरी पाँच अट्वारी व्रत बस्ने चलनले पनि कुशेऔंसीको पहिलो आइतबारलाई अट्वारी मान्ने चलनको प्राण बलियो देखिन्छ।
केही मानिसहरुको धारणा हिन्दु नारीहरुको हरितालिका तीज पछिको आइतबारलाई अट्वारी मान्ने पनि छ। तर यो त्यति सान्दर्भिक देखिदैन। यदि तीजपछिको आइतबारलाई मान्ने हो भने ‘पाँच अट्वारी’ व्रत बस्नेहरुको अट्वारी प्रभावित हुन्छ। अर्को कुरा थारू समुदायमा तीजको प्रभाव पनि निकै पछिबाट परेको देखिन्छ। थारूवस्तीमा आजको जस्तो हिजो मिश्रित जातजातिहरुको बसाइ थिएन। थारू समुदायको एकलौटी बसाई थियो। आफ्नै कला, संस्कृति र सामाजिक मान्यताभित्रै रमाउने थारू समुदाय, अन्य समुदायको पर्वलाई आधार बनाएर आफ्नो पर्वको निर्धारण गर्ने विषय पनि हुँदैनथ्यो। अहिलेको जस्तो विभिन्न जातजातिहरुको मिश्रित बसाई र सबैले एकअर्काका कला, संस्कृतिलाई स्वीकारी सकेको अवस्थामा यो कुरा उठ्नु स्वभाविक भएपनि वास्तविकता भने होइन।
उसो त कुशेऔंसी पछिको पहिलो आइतबार प्रायः तीज पछि नै पर्छ। यो एउटा संयोग मात्र हो। यसले पनि तीज पछिको आइतबारलाई मान्ने भन्ने कुराको बढावा दिन सक्छ। तर यो सत्य होइन र सँधै यस्तै पनि हुँदैन। कहिलेकाही त तीजकै दिन आइतबार पर्छ। पछिल्लो समय यही तर्ककै भ्रममा परेर फरक फरक आइतबार अट्वारी मान्ने समस्या देखापरेको छ। यसले पाँच अँट्वारी मान्नेहरुको व्रत प्रायः प्रभावित पार्छ। कुनै–कुनै साल पित्तरपक्ष, मलमास या समय अनुकूल नभए (गाउँमा हैजा लगायतका रोगको प्रकोप बढी देखिए वा दैविक प्रकोपका कारण) समय हेरेर अट्वारी पर्व मान्ने चलन पनि छ। यसो गर्दा पाँच अट्वारी व्रत बस्नेहरु सबै आइतबार व्रत बस्न सक्दैनन् र अँटवारी पनि फरक फरक मितिमा मनाउने बाध्यात्मक समस्या देखापर्छ।
रुपन्देहीका साहित्कार बमबहादुर थारूले ‘रुपन्देहीको थारू समाज र संस्कृति’ भन्ने आफ्नो पुस्तकमा ‘कुशेऔंसीको आठौं दिनपछिको आइतबारलाई बर्का अट्वारी मान्ने गरिन्छ’ भन्ने कुरा उल्लेख गरेका छन्। उनले ‘पाँच अट्वारी’को विषयमा भने कुनै कुरा उल्लेख गरेका छैनन्। त्यसो त रुपन्देही, नवलपरासी, चितवन लगायतका पूर्वका केही जिल्लामा मनाइने विधि प्रक्रियाहरु पश्चिमाजिल्ला भन्दा फरक छ। तर, कपिलवस्तु, दाङ देउखुरी, बाँके, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका थारूहरुमा वैचारिक धारणा फरक फरक भएपनि विधि प्रक्रियामा भने एकरुपता पाइन्छ।
प्रकृति पुजक थारू समुदायमा खास गरेर यो पर्व सूर्यको जन्म दिवसको (सूर्यको पूजा गरेर) रुपमा मनाइन्छ। सूर्यको जन्म भदौं महिनामा भएको थियो। जुन दिन कुशेऔंसीको पहिलो आइतबार थियो। आइतबारलाई रविबार पनि भनिन्छ। रवि भनेको सूर्य (सुरज, अग्नि)। जब भयावह कालरात्रिमा सूर्यको जन्म भयो। त्यसपछि यो संसार उज्यालो भयो भन्ने किम्बदन्ती छ। सूर्यले अँध्यारो चिरेर उज्यालो गराउँछ। जसले गर्दा मान्छे मात्रै होइन यस पृथ्वीमा बस्ने हरेक प्राणीलाई सजिलो हुन्छ। प्रकृतिप्रति विश्वास गर्ने थारू समुदाय, सूर्य उज्यालोको प्रतीक भएकोले यसको पूजा उज्यालोदाताको रुपमा गरेका हुन्।
यो पर्वको विषयमा केही अन्य मिथकहरु पनि छन्। श्रीमद्भागवत् पुराण अनुसार यो व्रत सबभन्दा पहिले सन्तनु राजाका पुत्र राजकुमार देवदत्त अँट्वारी व्रत बसे भन्ने उल्लेख छ। उनी सूर्य उपासक थिए। उनी विहेवारी पनि गरेनन्। राजकुमार देवदत्तहरु चारभाइ थिए। देवदत्त, भीष्मपितामह, पाण्डु र विदुर। भीष्मपितामह अन्धो र पाण्डु पाण्डा रोगी (कुष्ठ रोग) भएकोले उनलाई पाण्डु भनिएको हो। सूर्यको पूजा गरेपछि पाण्डुको रोग निको भयो। धार्मिक दृष्टिले सूर्य पूजा (अग्नि पूजा) गरेपछि कुष्ठ रोग निको हुन्छ भन्ने प्राचीन धारणा छ। त्यसैले यो व्रत पहिले राजकुमार देवदत्त बसे। पाण्डु, कुन्ती, माद्री, कर्ण, भीम लगायत सूर्यको पूजा हेतु श्रीमदभागवत सुनाए। त्यसपछि देउताहरु सूर्यको पूजा गर्न थाले। त्यसैगरि ठूला–ठूला ऋषिमुनिहरु पनि सूर्यको उपासकको रुपमा सूर्यको जन्म दिन आइतबारलाई अँट्वारी व्रत बसेर मनाउन थाले। जुन अहिले पनि यो चाड चलन चल्तीमा छ।
अर्को मिथक महाभारत कथासंग जोडिएको छ। पाँच पाण्डव मध्ये सबैभन्दा बलियो भेवाँ (भीम) थिए। जब कौरव र पाण्डवको लडाइ भयो। त्यसै समय भीम रोटी पकाउँदै थिए। लडाई चरमोत्कर्षमा पुगेपछि उनी रोटी पकाउँदा–पकाउँदै टावामै छोडेर लडाईमा हिंडेँ। जब लडाइबाट फर्किदा उनी निकै भोकाएका थिए। टावामा छोडेर गएको एक पट्टी मात्र पाकेको रोटी खाएर पेट भरे। अहिलेपनि अट्वारीमा अक्केकरे रोटी (एक पट्टी मात्र पकाएको रोटी) पकाउने चलन छ। यसरी अक्केकरे रोटी उनै भीमलाई पुज्ने गरिन्छ भन्ने किम्बदन्ती छ। थारू समुदायमा भीमको ठूलै गुणगान भएपनि उनीसंगको अट्वारी पर्वको सन्दर्भ भने कमजोर देखिन्छ। अँट्वारी (रवि व्रत, आइतवार व्रत, अग्नि पुजन) थारू समुदायमा मात्रै होइन मधेसी समुदायमा पनि मान्ने चलन छ। उनीहरुको व्रतमा भीमसंग प्रसंग जोडिएको पाइदैन। अर्को कुरा भीम स्वयम् आफै अट्वारी व्रत रहने गरेको प्रसंग गीता र महाभारतसंग सम्बन्धित थारू लोकगीतहरुमा पाइन्छ।
भीमसंगको अर्को सन्दर्भ पनि अट्वारी पर्वसंग जोडिएको छ। थारू लोककथामा थारू राजा दंगीशरणलाई लडाइमा सघाएको भन्ने कुरा उल्लेख छ। यसरी सघाएको र सबैभन्दा बलियो पुरुष भीम भएकोले उनी जस्तै बलियो हुने संकल्पका साथ पुरुषहरु उनकै पूजा गरेर अट्वारी व्रत बस्ने विचार जनमानसमा छ। तर लोककथाले जे भने पनि महाभारतकालीन (३५०० वर्षभन्दा अगाडि) पौराणिक पात्र भीम र १२–१३औं शताब्दितिर दाङको सुकौराकोटमा राज्य गरेका ऐतिहासिक पात्र दंगीशरणसंगको सन्दर्भले बौद्धिकस्तरमा विश्वासको अभाव हुनसक्छ। किनभने थारू लोककथा बाहेक महाभारत पुराणमा कहीकतै भीमसंगको दंगीशरणको सन्दर्भ जोडिएको पाइँदैन। त्यसकारण यस विषयमा गहिरो अध्ययन हुन जरुरी छ। अट्वारी पर्वको बारेमा अध्ययन गर्दा विभिन्न मिथक र सन्दर्भहरु पाइन्छन्। ती सन्दर्भहरु वैचारिक रुपमा एकरुपता रहेको पाइदैन। ठाउँ अनुसार फरक फरक विचार, चालचलन र प्रक्रिया रहेको पाइन्छ।
अँट्वारी, व्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि ‘डटकट्टन’ (दर) खाने चलन छ। दर खानाका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन, तरकारीको जोहो गरिन्छ। माछाको सुखौरा (सुकुटी) धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ। अट्वारीमा माछाको सुखौरा विशेष मानिन्छ। तर, अन्य कुनै चीजको मासु भने हुँदैन। सागमा पोंइ अनिवार्य जस्तै हुन्छ। भिन्डी, टोरैं, ठुसा (मास जस्तै एक प्रकारको दाल बाली, झिलिङ्गी, सिल्टुङ) लगायतका तरकारी हुन्छ। ‘डटकट्टन’ व्रत बस्नेहरु भाले बास्नु भन्दा पहिले खानुपर्छ। यदि खानुभन्दा पहिले भाले बासे भने ‘डटकट्टन’ खान पाइदैन। खाए भने ऊ व्रत बस्न पाउँदैन। उसलाई जुठो मान्ने चलन छ।
आइतबार अथवा अट्वारीको दिन व्रत बस्नेहरुको खान भान्सामा पाक्दैन। उनीहरु बिहानै नुहाएर बहरी (घरको प्रवेशद्वारको पहिलो कोठा) या आँगनमा गाईको गोबरले लिपपोत गर्छन्। लिपपोत गरेर ‘कोरे आगी’ (भान्सामा पहिले प्रयोेग नभएको आगो, चोखो आगो) मा रोटी पकाइन्छ। पुरानो आगो आज अपवित्र मानिन्छ। त्यसकारण गनयारी काठ या फोर्सा काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्ने गर्छन्। बाटुलो रोटी सूर्यको प्रतिकात्मक परिकारको रुपमा लिइन्छ। यो पर्वमा रोटी अनिवार्य हुन्छ। अन्य खानेकुरा भने सहायक हुन्छन्। अट्वारीमा अन्डी र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने पक्की, अम्रुट् (अम्बा, बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी पनि हुन्छ। नुन, बेसार, खुर्सानी, माछा, मासु भने आजको दिन बर्जित हुन्छ।
रोटी पकाएर तयार भयो भने स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा पिर्का या कुनै काठको वस्तुमा संगै बसेर आफ्नो प्रक्रिया अगाडि बढाउँछन्। खानुभन्दा पहिले अगयारी (अग्यारी) दिने चलन छ। निश्चित ठाउँमा गाईको गोबरले पुनः लिपेर त्यसमा आगो (फिलिङ्गो) राखिन्छ। त्यही आगोमा सर्री धूप (सल्लाको धूप), नौनी र खानका लागि तयार गरिएको बस्तु (अन्डीको रोटी, गहुँको रोटी, पक्की, काँक्रो, अम्रुट्, केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी) अलि–अलि सबै चीज एकैमा मिसाएर त्यसमा हवन गरिन्छ (चढाइन्छ)। यसरी आगोमा चढाउने कामलाई ‘अगयारी’ दिएको भनिन्छ।
सूर्य आगोको मुख्य श्रोत हो। त्यसैले सबैभन्दा पहिले आगोलाई अथवा सूर्यलाई प्रसादको रुपमा अगयारी दिने चलन आएको हो। अगयारी दिएर तीन पटक दायाँ र तीन पटक बाँयाबाट पानीले पर्छने (पानीको घेरो हाल्ने) चलन छ। कोइ–कोइ पाँच या सात फेरा पनि पर्छने गर्छन्। त्यसपछि आफ्ना चेली–बेटीहरुका लागि पहुरको रुपमा ‘अग्रासन’ छुट्याउने चलन छ। अथवा चेली बेटीहरुलाई दिनका लागि छुट्टै भाँडोमा निकालेर मात्रै खाने चलन छ। यो काम दिउँसो हुन्छ। अन्य व्रत जस्तो अट्वारीमा दिनभरि निराहार बसिदैन। दिउँसो नै पूजा गरी खाने चलन छ। यो क्रम सूर्यास्त नहुँदासम्म चल्छ। सूर्यास्तपछि खाने काम पूर्ण रुपले बन्द हुन्छ।
अर्को दिन सोमबार, ‘फर्हार’ गरिन्छ। फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार बस्नु पर्छ। फर्हार अट्वारीको अन्तिम पूजा हो। यस दिन व्रतालुहरु बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन्। घरका अन्य सदस्यहरुले पनि सहयोग गरेका हुन्छन्। आजको खानामा खास गरेर भात, खँरिया, फुलौरी, पोंइ मिसाएको ठुसा, सुखौरा माछा, चिचिण्डो, घिरौला, भेन्डी लगायतका विजोर संख्यामा तरकारीहरु बनाइएको हुन्छ। माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन। फर्हारपछि मात्रै मासु ल्याउने या खाने गरिन्छ।
फर्हार, सबै पकवान तयार भएपछि शुरु हुन्छ। व्रतालुहरु हिजोको जस्तै आज पनि नुहाई धुवाई गरी अगयारी दिएर आफ्ना चेली बेटीहरुका लागि ‘अग्रासन’ निकाल्ने गर्छन्। अग्रासन धातु वा प्लाष्टिकको भाँडामा निकालिदैन। अग्रासन बिशेषताः नम्ह्रैन (मालु), कमल या केराको पातमा निकाल्ने गरिन्छ। अट्वारी आउनुभन्दा केही दिन पहिले नै पात टिप्ने काम हुन्छ। प्रायः अग्रासन पात खुटेर बनाएको दुना टपरीमा निकालिन्छ। त्यो नभए विकल्पको रुपमा कमलको पात या केराको पात प्रयोेग भएको पनि पाइन्छ। यसरी प्रक्रियागत रुपमा सबै कार्य पूरा भइसकेका पछि मात्र व्रतालुहरु अन्न ग्रहण गर्छन्।
अन्य पर्वमा जस्तै अट्वारीमा आफ्ना चेलीबेटीहरुलाई घरमै बोलाउने चलन छैन। ब्रतालुहरुले निकालेको पहुर ‘अग्रासन’ उनीहरुकै घरमा पुर्याउन जाने चलन छ। अग्रासन पुर्याउन प्रायः दाजु भाइ नै जाने गर्छन्। दाजु भाइ नभए अन्य सदस्यहरु जान्छन्। चेलीहरु पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन्। सम्मानार्थ जाँड, रक्सी र मासु खुवाउने गर्छन्। अतिथि सत्कारका लागि थारू समुदायमा जाँड रक्सी ठूलो मानिन्छ। त्यसकारण जाँड रक्सी खुवाउन पाए सन्तुष्ट भएको महसुस गर्छन्।
यो पर्व भातृत्वप्रेम र सद्भावको पर्वको रुपमा पनि लिने गरिन्छ। लामो समयसम्म आफ्नो माइता जान नपाएका चेलीबेटीहरु यस पर्वमा आफ्ना दाजु–भाइ तथा परिवारसंग दुःख–सुखका कुरा खुलेर पोख्छन्। यसरी एकै ठाउँमा बसेर सुख–दुःखका कुरा र खानपिनले एकापसमा विश्वास र आत्मीयता बढाउँछ। पारिवारिक सम्बन्ध पनि सुमधूर बनाउँछ। तर यसका केही गलत पक्षहरु पनि छन्। सम्मानका नाममा अत्याधिक मदिरा सेवन गर्ने र गराउने परम्परा समय सापेक्षित देखिदैन। यसकै कारण अनावश्यक झैझगडा, पानीमा डुबेर मृत्यु, सडक दुर्घटना लगायत विभिन्न घटनाहरु भएको पनि देखिन्छ। यसको न्यूनीकरणमा ध्यान दिन जरुरी देखिन्छ। त्यसैगरि अग्रासनका नाममा बासी खानेकुरा, खानेकुरामा रंगको प्रयोेग, अनावश्यक खर्च, कुनै साल आफ्ना चेलीबेटी कहाँ अग्रासन पुर्याउन नसके चेलीहरुमा नकारात्मक सोचाई राख्ने र एकापसमा मनमुटाव भएको पनि देखिन्छ। त्यसकारण पर्व, सबैले पर्वको मर्म अनुसार मनाउनु पर्छ। यसलाई समय अनुसार परिमार्जन गर्दै आफ्नो गक्ष र मौलिकतामा सबैले सबैलाई खुशी पार्ने हिसाबमा मनाउन सक्नु पर्छ। अट्वारी सबैको शुभ रहोस्।