गच्छदारले भने- ‘म सडकमा आएको होइन, आए भने तीन दललाई महँगो पर्छ’

Itahari Tharu Protest 06

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले थारु र मधेसीको आन्दोलनलाई वार्ताबाटै समाधान गर्नुपर्ने बताएका छन्। थारु समुदायको सोमबार इटहरीमा भएको विरोधसभालाई सम्बोधन गर्दै लोकतान्त्रिकका अध्यक्ष गच्छदारले ठूला तीन दलका नेतालाई शहीदहरुलाई सम्झेर मधेसमा उठेका मागलाई पूरा गरेर संविधान जारी गर्न आग्रह गरे।

Itahari Tharu Protest 03

उनले आफूले पहिलोपटक थारु समुदायले आयोजना गरेको सभालाई ऐक्यबद्धता जनाउन मात्र आएको बताउँदै सडकमै आन्दोलनमा सहभागी भएमा ठूला दलका नेताले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए।

Itahari Tharu Protest 01

‘मलाई विजय सडकमा आयो भनेर कसैले ठानेको भए त्यो गलत हो,’ उनले भने, ‘म सडकमा आएको होइन्। ऐक्यबद्धता जनाउन आएको हुँ। म सडकमा आए भने ठूला तीन दलका नेताले धेरै महँगो मूल्य चुकाउनुपर्नेछ।’

Itahari Tharu Protest 02

उनले आफू मधेसी नेता राजेन्द्र महत्तो र उपेन्द्र यादवजस्तो उग्र कुरा नगर्ने नेता भएको र राष्ट्रसँगै आम जनतको स्वार्थमा लाग्ने नेता भएको जिकिर गरे। ‘यदि राजेन्द्र महतो र उपेन्द्र यादवजस्तै उग्र कुरा गर्थे म पनि तिनीहरुकै श्रेणीमा गनिन्थे,’ उनले भने, ‘तीनतिर फर्केका तीन दलका नेतालाई एक ठाउँमा ल्याएको छु। संविधानसभाबाटै संविधान बनाउनुपर्छ भन्नेमा लागेको छु।’

Itahari Tharu Protest 04

संविधानको मस्यौदामा प्रस्तावित सीमांकनमा असहमति जनाउँदै जारी थरुहट र मधेस आन्दोलनमा पश्चिमका केही जिल्लामा हिंसात्मक घटना हुनु दुःखद भएको बताउँदै गच्छदारले शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरे।

Itahari Tharu Protest 07

उनले संविधानसभाबाट संविधान जारी नगरे तीन ठूला दलका नेतालाई अपराध लाग्ने बताए। उनले संविधान जारी नगरे अपराध हुने थारु समुदायका माग पूरा नगरेमा पाप लाग्ने र अन्य जातजातिका अधिकार पूरा नगरे महापाप लाग्ने बताएका हुन्।

Itahari Tharu Protest 07

‘तीन दलका ठूला नेतालाई भन्छु संविधान नबनाउने भए नबनाउनुहोस् तर संविधान नबनाउँदा तपाईँहरुलाई पाप लाग्छ,’ भने, ‘संविधान नबनाउँदा ठूला दलका नेतालाई २००७ सालदेखि यता पटकपटक आन्दोलन गर्दा शहीद भएका सबैले तपाईँहरुलाई सराप्नेछन्।’ उनले संविधान नबनाउँदा माओवादी जनयुद्धमा मारिएकाको सराप पनि माओवादी नेता प्रचण्डलाई लाग्ने बताए।

Leave a Reply

Your email address will not be published.