तमलोपा पनि स्वायत्त मधेस प्रदेशको पक्षमा

mahantha thakurकाठमाडौं- तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले कार्यकारी प्रधानमन्त्री र आलङ्कारिक राष्ट्रपति प्रणालीको अवधारणासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय बिजुलीबजारमा आज पत्रकार सम्मेलनमार्फत चुनावी घोषणपत्र सार्वजनिक गर्दै तमलोपाले शासकीय स्वरूपका सम्बन्धमा मिश्रित निर्वाचन प्रणालीबाट चुनिने संसदबाट कार्यकारी प्रधानमन्त्रीको चयन र आलङ्कारिक राष्ट्रपतिको प्रस्ताव गरेको हो।

तमलोपाले समावेशी राज्य संयन्त्र र सङ्घीय शासन प्रणालीको स्थापनालाई मूल एजेन्डाको रूपमा अघि सारेको छ। घोषणापत्र सार्वजनिक गर्दै तमलोपाका अध्यक्ष महन्थ ठाकुरले समावेशी राज्य संरचनाका लागि सङ्घीय शासन प्रणालीको स्थापना पार्टीको मूल एजेन्डा भएको र राज्यका सबै क्षेत्र समावेशी हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए।
कार्यकारी प्रधानमन्त्री तथा आलङ्कारिक राष्ट्रपति प्रणालीमा संसद र प्रान्तीय सरकारहरूले जनतालाई स्वशासनको अधिकार दिलाउने दिशामा पूर्णरूपमा अभ्यास गर्ने अवसर पाउने तमलोपाको धारणा छ।
कार्यकारी राष्ट्रपतीय प्रणालीमा प्रान्तीय सरकार र संसदले पूर्ण रूपले अभ्यास गर्न पाउने अवसरको अभाव हुने भएकाले स्वशासनको ग्यारेन्टी र सङ्घहरूमा लोकतान्त्रिक अभ्यासका लागि कार्यकारी प्रधानमन्त्री र आलङ्कारिक राष्ट्रपतीय प्रणालीका लागि पार्टी पूर्ण प्रतिबद्ध रहेको जनाएको छ।
तमलोपाले स्वायत्त मधेस प्रदेशको एजेन्डालाई प्राथमिकता दिँदै मधेसमा एक वा बहुप्रदेश उल्लेख नगरी स्वायत्त मधेस प्रदेश भनेको छ। त्यस्तै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र सेनाको संरचना समावेशी हुनुपर्ने धारणा उक्त पार्टीको छ।
स्वतन्त्र र समावेशी सञ्चार प्रणालीको वकालत गर्दै तमलोपाले आदिवासी जनजाति, दलित, मुसलमान, महिला, अपाङ्ग र तेस्रो लिङ्गीको उत्थानका लागि विभिन्न कार्यक्रम घोषणापत्रमा उल्लेख गरेको छ।
त्यसैगरी कमैया र मुक्त कमैया पुनःस्थापना, कमलरी शिक्षा र रोजगार, आरक्ष पीडितको व्यवस्थापन, भूमिहीनको व्यवस्थापन र सामाजिक सुरक्षा भत्ताका कार्यक्रमलाई प्राथमिकता दिइएको छ। रासस

Leave a Reply

Your email address will not be published.