उपेन्द्र यादवको फोरम अशोक राईको पहाडे पार्टीसँग एकता हुँदै

मधेसका मुद्दा उठाएर राष्ट्रिय राजनीतिमा स्थापित भएका उपेन्द्र यादवले पहाडे दलहरुसँग पार्टी एकीकरण गर्न लागेका छन्। उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनाधिकार फोरम नेपाल, अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी र युवराज कार्कीले नेतृत्व गरेको खस समावेसी राष्ट्रिय पार्टीबीच एकीकरण हुन लागेको हो। जेठ भित्रै एकीकरण गर्ने तयारी भइरहेको तीन दलबीच नीति, नेतृत्व र नामका विषयमा सहमति भइसकेको छ। 

संघीय समाजवादीका अध्यक्ष अशोक राईका अनुसार एकीकृत पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राख्ने सहमति भएको छ भने एकीकृत पार्टीले संघीय समाजवादीको झण्डा प्रयोग गर्नेछ। चुनाव चिन्ह फोरम नेपालको र खस समावेशी राष्ट्रिय पार्टीको लोगो प्रयोग गर्ने सैद्धान्तिक सहमति भएको छ।

Ashok Raiफोरम नेपालका एक नेताका अनुसा एकीकृत पार्टीको नेतृत्व फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गर्ने सहमति भएको छ। सहमतिअनुसार यादव एकीकृत पार्टीको अध्यक्ष बन्ने छन्। राईलाई वरिष्ठ नेता र संसदीय दलको जिम्मेवारी दिने सहमति भएको छ।

‘यी दुई विषयमा छलफल भइरहेको छ,’ राईले भने, ‘एक जनालाई अध्यक्ष र अर्कोजनालाई वरिष्ठ नेता र संसदीय दलको जिम्मेवारी दिने तयारी भएको छ।’ खस समावेसी राष्ट्रिय पार्टीका अध्यक्ष कार्कीलाई के पद दिने भन्ने विषयमा भने निर्णय भइसकेको छैन। ‘केही पद मिलाउन बाँकी रहेकाले अन्तिम निर्णय हुन बाँकी छ,’ राईले भने।

६५ सदस्यी केन्द्रीय समिति रहेको फोरम नेपाल र १ सय ४० सदस्यीय केन्द्रीय समिति रहेको संघीय समाजवादीबीचको पदीय मिलानमा केही समस्या देखिएको फोरम नेपालका एक नेताले बताए।

फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतका अनुसार तीन दलबीच करिब करिब सबै कुरामा सहमति भइसकेको छ ।’कुनै पनि पार्टीबीच एकीकरण हुन मुख्य रुपमा तीन कुरा आवश्यक पर्छ,’ उपाध्यक्ष राउतले भने, ‘नाम नीति र नेतृत्वका विषयमा करिब सहमति भइसकेको छ।’ एकीकृत पार्टी सामाजिक लोकतान्त्रिक विधि अनुसार संचालन हुने उनले बताए।

लोकतान्त्रिक संघीय समाजवाद एकीकृत पार्टीको निर्देशक सिद्धान्त भएको उनको भनाइ थियो ।

स–साना झुण्डमा धेरै दलको अर्थ नहुने भन्दै वैकल्पिक शक्ति निर्माण गर्न पार्टी एकीकरण गर्नुपर्नेको नेताहरुले बताएका छन्।

Upendra Yadav२०६९ मंसिर ७ गते एमालेबाट विद्रोह गरी तत्कालीन उपाध्यक्ष अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी गठन भएको थियो। पार्टीले जातीय मुद्दालाई स्वीकार नगरेको भन्दै एमालेबाट अधिकांश आदिवासी जनजाति पृष्ठभूमिका नेता बाहिरिएका थिए । पार्टी गठन गरेको केही वर्षपछि नै उपाध्यक्षको जिम्मेवारी पाएका विजय सुब्बाले गत साउनमा पुन एमालेमै फर्केका थिए।

सुब्बालगायतका नेता एमालेमा फर्केपछि नै संघीय समाजवादी संकटमा परेको थियो। एमाले छोडेर संघीय समाजवादीको उपाध्यक्ष बनेका गोपालठाकुरसहितका मधेसी नेताले पनि संघीय समाजवादी छोडिसकेका छन् भने पार्टीभित्रै रहेका कतिपय नेताहरु पनि सक्रिय छैनन्।

दोस्रो संविधानसभामा अनपेक्षित हार व्यहोरेका मधेस केन्द्रित दलहरुले निर्वाचनलगत्तै एकता प्रक्रिया अगाडि बढाएका थिए। तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पहलमा अगाडि बढाइएको एकीकरण प्रक्रियामा सद्भावना र फोरम लोकतान्त्रिकपनि सहभागी थिए। उपेन्द्र यादव नमाकेका कारण भन्दै उक्त एकीकरण प्रक्रिया नै बिथोलियो थियो । मधेसी दलबीच एकीकरण हुने अवस्था नदेखेपछि यादवले संघीय समाजवादीसँग एकता प्रक्रिया अगाडि बढाएका हुन्।

‘एकीकरणको नजिता जेठ महिनाभित्रै देख्न सक्नुहुन्छ,’ फोरम नेपालका उपाध्यक्ष राउतले भने,’केही गरी ढिला नै भयो भने पनि असारको पहिलो हप्ताभित्र एकीकरण भइसक्छ।’

संविधानसभामा फोरम नेपालको दश सिट छ भने संघीय समाजवादीको पाँच सिट छ ।

Leave a Reply

Your email address will not be published.