चितवनका थारुहरुको जग्गा लुटिँदै

कारी महतो/चितवन।

थारुहरुको जग्गा दिन प्रतिदिन अर्कैको अधिनमा गैरहेको सन्दर्भमा सोही विषयमा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भेला सम्पन्न गरेको छ । भेलाबाट विभिन्न कारणले थारुहरुको जग्गा लुटिँदै गएकोले ती जग्गा जमीन संरक्षण गर्नका लागि थारु समुदाय एकजुट भइ संघर्ष गर्ने बताएका छन् ।

त्यसैसम्बन्धी थाकस चितवनले विभिन्न निकायहरुमा ज्ञापनपत्र बुझाई भदौ २२ गते पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको छ । भेलामा बेनी चौधरी भनिने फटाला चौधरीले आफ्ना बुबा र काकाले वि.सं. १९७९ सालदेखि भोगचलन गर्दै आएको साविक भण्डारा २ मा अवस्थित १ बिघा १ कट्ठा १८ धुर जग्गा जालसाजी गरेर बलराम धरेलले आफ्नी आमा ललितादेवी धरेलको नाममा लालपुर्जा बनाई आफूलाई सुकुम्बासी बनाएको बताए ।

सोही जग्गामा आफूले पहिले नै बनाएको पक्की घर समेत भत्काउनका लागि डर धम्की दिनुका साथै झुट्टा मुद्दामा फसाई प्रहरी प्रशासन लगाएकोले आफू निकै अन्यायमा परेको कुरा बताउँदै आफूलाई सहयोग गर्नको लागि थाकसमा उनले निवेदन दिएको जनाए ।

त्यस्तै रत्ननगर १७, सिसुवारका बेचन महतोका छोरा अनिल महतोले हजुरबाको पालादेखि भोगचलन गर्दै आएको जग्गा चेतना अभावकाकारणले आफ्ना बाउबाजेले लालपुर्जा नबनाएको तर अहिले आएर रत्ननगर नगरपालिका कार्यालयले उक्त जग्गामा आफूले बनाएको पक्की घर भत्काउनका लागि साउन २८ गतेका दिन ३५ दिने सूचना निकालेको बताए । त्यसले आफू निकै पीडामा रहेको जानकारी गराउँदै आफूलाई सहयोग गर्नका लागि थाकसमा निवेदन दिएको उनले जनाए ।

फटाला (बेनी) चौधरीका विषयमा बोल्दै स्थानीय समाजसेवी कृष्ण अर्यालले प्रमाणपत्रका आधारमा उक्त जग्गा फटालाकै हुनुपर्ने बताएका छन् । उनकाअनुसार थारु होस् वा पहाडिया, यदि कोहि अन्यायमा परेका छन् भने न्याय दिलाउन साथ दिनुपर्ने बताए । उनले आफूले बेनी चौधरीको पक्षमा बोल्ने गरेकोले उक्त जग्गा मध्ये १ कट्ठा बेनीलाई दिएर मिलाई दिएको खण्डमा आफ्नो नाउँमा पनि १ कट्ठा दिने प्रलोभन देखाएका थिए ।

वक्ताहरुले फटाला (बेनी) र अनिल महतोको समस्या प्रतिनिधि समस्या भएको र यस्ता समस्याहरु चितवनका चारओटै नगरपालिकाहरुमा भएको बताएका छनु । हाल दृष्टि बन्धकीको नाममा थारुमात्र नभई सबै समुदाय पीडित भएको र सबै समुदायका जग्गा जमिन लुटिदै गएकोले यस सम्बन्धि नेपाल सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।

भेलामा रामलाल महतो, ललितकुमार चौधरी, टिकेन्द्र चौधरी, रामेश्वर चौधरी, कृष्ण महतो, प्रदिप चौधरी, नारायण चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । भेला थाकस चितवनका सभापति विश्राम महतोको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.