पूर्वलडाकुलाई दोस्रो किस्ताको रकम बाँड्ने प्रक्रिया सुरु

चितवन- शान्ति प्रक्रियाको महत्वपूर्ण पाटो सेना समायोजनको अन्तिम कार्यक्रमअन्तर्गत स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकुलाई दोस्रो किस्ताबापतको रकम दिन सेना समायोजन विशेष समितिको टोलीले आजबाट प्रक्रिया सुरु गरेको छ। गत वर्ष स्वेच्छिक अवकाश रोजेका देशभरका कुल १३ हजार ९२२ लडाकुलाई उनीहरुले पाउने कुल रकमको आधा किस्ता (दिन बाँकी रकम) यसपटक वितरण गरिने सचिवालयका निमित्त सचिव मधुविलास पण्डितले जानकारी दिए।

आज बिहानै राजधानीबाट प्रत्येक जिल्ला प्रस्थान गरेको टोलीले भोलिसम्ममा आवश्यक तयारी गरेर डेस्क स्थापना गर्ने र कात्तिक १५ गतेबाट तोकिएको जिल्ला प्रशासन कार्यालयमा औपचारिक चेक वितरणको काम थाल्ने पण्डितले जानकारी दिए।

उनका अनुसार चितवनमा सेना समायोजन विशेष समितिअन्तर्गत सचिवालयका संयोजक बालानन्द शर्मा नेतृत्वको टोली आज यहाँ आएको छ।

चितवनको शक्तिखोरमा रहेका दुई हजार ७२२ पूर्वलडाकुलाई आधा किस्तावापतको रकम चेकमार्फत वितरण गरिने सचिवालयले जनाएको छ। यस्तै इलाममा एक हजार २६९, सिन्धुलीमा ९३४, नवलपरासीमा दुई हजार १४१, रोल्पामा एक हजार ६५८, सुर्खेतमा एक हजार ३८६ र कैलालीमा दुई हजार ८१२ पूर्वलडाकुको आधा किस्ताको रमक वितरण गर्न बाँकी छ।

गत वर्ष दर्जाअनुसार रु पाँच लाखदेखि रु आठ लाखसम्म रकम तोकिएकामा उनीहरुले आधा रकममात्र पाएका थिए। अहिले वितरणका लागि कुल रु साढे तीन अर्ब रकम छुट्याइएको सचिवालयले जनाएको छ।

सचिवालयको टोलीले जिल्ला प्रशासन कार्यालयको सहयोगमा यसपटक प्रशासन कार्यालयबाटै चेक वितरण गर्ने तयारी गरेको छ। कात्तिक १५ देखि २५ गतेसम्ममा टोलीले चेक वितरण गरिसक्ने र यो महिनाबाट शान्ति प्रक्रियाको काम सक्ने सचिव पण्डितले जानकारी दिनुभयो। सचिवालयको कार्यावधि पनि यो महिनासम्म मात्रै हो। रासस

Leave a Reply

Your email address will not be published.