माघ ८ पछि सभासद्लाई तलब भत्ता नदेउ : लेखी

hylmo_mahila_sangha

संविधानसभाले माघ ८ गते राति ११ बजेर ५९ मिनेट भित्रमा संविधान बनायो भने बनायो, नत्र भंग हुनुपर्ने माग राजकुमार लेखीले राखेका छन् । संविधानसभा ब्राम्हण एकता परिषदको खेलौना बनेको भन्दै राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष लेखीले भने, ‘अध्यक्ष सुवासचन्द्र नेम्वाङ ब्राम्हण एकता परिषदकै एक सदस्यका रुपमा देखिएका छन् । उनी एकजनाले मात्र मस्यौदा बनाउने यो कुन लोकतन्त्र हो ?’

राजधानीमा ह्योल्मो सेवा संघको महाधिवेशन उदघाटनमा उनले भने, ‘६०१ जना लाचार छायाँ बनेका छन्, ब्राम्हण एकता परिषदको पोलिटव्यूरोमा तीनचारजना नेता छन् । ती नेताले संविधान बनाइदेलान् र आफ्नो राजनीतिक साख जागाउँला भनेर ६०१ जना ढुकेर बसेका छन् ।’

‘पूल, बाटो या घर बनाउने ठेक्का हो संविधान बनाउने काम ? यी तीनचारजना नेता ठेकेदार हुन् ? यिनले संविधान बनाउलान् भनेर समर्थन गरेको हो तर माघ ८ गते राति १२ बजे उता यिनलाई पाता कसिन्छ,’ लेखीले भने, ‘संविधान बनाएनन् भने राति १२ बजेर १ मिनेट जाँदादेखि ६०१ ले तलबभत्ता पाउनु हुँदैन । तलबभत्ता निकासा गर्ने प्रधानमन्त्री सुशील कोइराला र कर्मचारीहरुलाई खुलामञ्चमा ठडाएर भ्रष्टाचार मुद्दा लगाइन्छ ।’

उनले पदमरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति आन्दोलनको पनि कडा आलोचना गर्दै भने, ‘उहाँहरुको आन्दोलन साझा आन्दोलन होइन, उहाँहरु तीस दलको भ्रातृ संगठन जस्तो हो । कोही पनि व्यक्ति राजनीतिक दलमा लाग्न सक्छ तर आन्दोनललाई दलको पुच्छर बनाउन हुँदैन ।’

अब सत्ताको खेल सुरु हुने र तीस दल विभाजित हुने भविष्यवाणी गर्दै लेखीले भने, ‘कांग्रेस एमालेले यो एक वर्ष बेइमानी र भ्रष्टाचारमा बिताए । त्यसैले अब यिनको दुई तिहाई कागजको खोस्टा हो । यो कागजको खोस्टालाई माघ ८ पछि सडकमा जलाइन्छ ।’

कार्यक्रममा नेकपा माओवादीका देव गुरुङले पनि संविधानसभा विघटन नै देशको प्रमुख आवश्यकता भएको बताए, ‘संविधानसभा विघटन भएपछि समाधानको ढोका खुल्छ, संविधानसभा नै समाधान हो ।’

कार्यक्रममा सभासदहरु दिलमान पाख्रिन, कृपाशुर शेर्पा, रामेश्यवर फुयाँल, रेखा शर्मा, पेम्बा लामाले पनि बोलेका थिए ।

न्युजभित्ताबाट साभार

Leave a Reply

Your email address will not be published.