सुर्खेतका थारु अगुवाले भने- ‘अस्तित्व जोगाउन थारु संग्रहालय र ठन्वा बनाउँछौं’

थारु कल्याणकारिणी सभा सुर्खेतले वीरन्द्रनगरमा थारु संग्रहालय तथा ठन्वा विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। थारुहरुको भाषा, संस्कृति धरायसी बन्दै गएकाले यसप्रति जागरुक गराउन कार्यक्रम गरेको आयोजकले बताएको छ। थारु संग्रहालय तथा ठन्वासम्बन्धी कार्यपत्र थारु बुद्धिजीवी मानबहादुर चौधरी पन्नाले प्रस्तुत गरेका थिए। कार्यपत्रमा थारु रहनसहन, संस्कार तथा थारु देवथानमा पूजिने देवीदेवताका बारेमा जानकारी तथा संग्रहालयको महत्वबारे केन्द्रित थियो।

कार्यपत्रमाथि रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रका पत्रकार विन्तीराम महतो, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य मानबहादुर चौधरी र चितवनका बुद्धिलाल चौधरीले टिप्पणी गरेका थिए। सदियौंदेखि सुर्खेत उपत्यकामा बस्दै आएका थारु जातिको आफ्नो पहिचानको कुनै धरोहर नहुँदा थारु जातिको अस्तित्व नै संकटमा पर्न थालेकाले सबै थारुहरु एकजुट भइ थारु संग्रहालय तथा थारु मन्दिर (ठन्वा) निर्माण तत्काल गर्नुपर्ने सहभागीको जोड थियो।

थारु संग्रहालय तथा थारु मन्दिर (ठन्वा)बारे गत वर्षमा केही कार्यक्रम भए पनि ठोस रुपमा अगाडि बढ्न नसकेको प्रति चिन्ता प्रकट गरे। राज्यको विभिन्न स्थानीय निकायमा संग्रहालय तथा ठन्वा निर्माणका लागि माग गरे पनि सुनुवाइ नगरेकाले यस वर्ष नगरपालिका तथा उपत्यका नगर विकास समितिसँग जग्गा माग गर्नुपर्ने धारणा थारु समुदायले गरेका छन्। समय समयमा कुरा उठाए पनि सेलाउने गरेको तथ्यप्रति सजग गराउँदै सबैले मिलेर छिट्टै पहल गरी अघि बढ्न थारु समुदायले अगुवाहरुलाई सुझाव दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकास समिति जनजाति समन्वय समितिका उपाध्यक्ष पूर्णबहादुर रानाले सुर्खेती थारुहरुको साझा सबाल थारु संग्रहालयको स्थापनाको लागि विभिन्न निकायमा पहल गर्नुपर्ने बताए। स्थानीय निकाय जिविसबाट आफूले सक्दो सहयोग गर्ने उनले बताए। यस कार्यलाई सकारात्मकरुपमा लिइ सबै राजनीतिक दल, बुद्धिजीवीहरुले सहयोग गर्नुपर्नेमा जोड दिए।

थारु कल्याणकारिणी सभाका जिल्ला सभापति कृष्णबहादुर थारुले जिल्लामा रहेको विभिन्न थारु संगठनहरु एकै ठाउँमा उभिनुपर्नेमा जोड दिँदै यसका लागि थारुहरुको छाता संगठन थारु कल्याणकारिणी साभमार्फत् संग्रहालयका लागि पहलीकदम चाल्नुपर्ने बताए।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर थारु अगुवाले काम गर्नुपर्ने उनको आग्रह थियो।

विगतमा गठित मूल समितिले उठाएको रकम, स्थानीय निकाय गाविसले दिएको आर्थिक सहयोग विवरण सार्वजनिक गरी आगामी दिनमा समेत सहयोगको अपेक्षा गरे। थारु बुद्धिजीवी कार्यपत्र प्रस्तुतकर्ता मानबहादुर चौधरी पन्नाले यो विषय जिल्लाकै प्रतिष्ठासँग जोडिएकाले थारु कल्याणकारिणी सभाले राजनीतिक दल लगायत विभिन्न संघ-संस्था र वर्ग-समुदायसँग समन्वय गरी जिल्लाकै साझा सबाल बनाउनुपर्ने आग्रह गरे।

थारु गुरुवा बैदवा संघका केन्द्रीय सदस्य जागुराम थारुले यो विषय विगत धेरै वर्ष अघिदेखि उठाए पनि थारु जातिमा आफ्नो संस्कृतिप्रतिको चेतनाको कमीले पहल गर्न नसकेको बताए। अब यसको लागि थारु समुदाय तयार भएकोले जस्तोसुकै चुनौतीसँग सामना गरी अघि बढ्ने बताए।

कार्यक्रममा सुर्खेत शिक्षा क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिबहादुर थापा, जल उत्पन्न प्रकोप कार्यालयका इन्जिनीयर देवबहादुर चौधरी, क्षेत्रीय सिंचाइ निर्देशनालयका इन्जिनियर रामचरित्र चौधरीलगायतका वक्ताहरुले थारु संग्रहालयको लागि एकजुट भएर अगाडि बढ्न सुझाव दिएका थिए। थारु संग्रहालय तथा थारु (ठन्वा) मन्दिरका लागि राज्यबाट तल्काल जमिन उपलब्ध गराउन लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा सहभागीहरुले थारु कल्याणकारिणी सभालाई सक्रियरुपमा अघि बढ्न सुझाव दिए। कार्यक्रम थारु कल्याणकारिणी सभाका जिल्ला सभापति कृष्णबहादुर थारुको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन सचिव पवन कुमार थारुले गरेका थिए।

Leave a Reply

Your email address will not be published.