थाकस अध्यक्षले फेरि भने- ‘२२ दलीय मोर्चामा हामी छैनौं’

   Dhaniram Chaudhary 

सन्तोष दहित, दाङ- थारु कल्याणकारीणी सभाका अध्यक्ष धनिराम चौधरीले माओवादीसहितको २२ दलीय मोर्चामा सिंगो आदिवासी जनजाति आन्दोलन र थारु कल्याणकारीणी नभएको बताएका छन्। थारु विद्यार्थी समाज दाङको आठौं जिल्ला अधिवेशनको उद्‍घाटन गर्दै शनिबार अध्यक्ष चौधरीले २२ दलीय मोर्चामा आदिवासी जनजाति आन्दोलनको समर्थन नभएको बताए।
पद्मरत्नद तुलाधरले नेतृत्व गरेको समूह २२ दलको घटक भएको बताउँदै सिंगो आदिवासी जनजाति आन्दोलनको उक्त समूहसँग कुनै पनि समर्थन नभएको बताए। आदिवासी जनजाति आन्दोलनका केही ब्यक्तिहरुले एमाओवादीसहितको २२ दलीय मोर्चामा आदिवासी जनजाति आन्दोलनलाई मिसाएर विवादित बनाउन खोजेको भन्दै आदिवासी जनजातिको तर्फबाट आन्दोलनमा जानुपरे सिंगो थारु कल्याणकारी सभासहित नेपाल आदिवासी जनजाति महासंघले नेतृत्व गर्ने बताए।

Tharu Students Socity, Dang-3

पद्मरत्नले नेतृत्व गरेको समूह आदिवासी जनजाति महासंघको नभएर व्यक्ति–व्यक्तिले बनेको समूह भएको भन्दै व्यक्तिले बनाएको समूहमा सिंगो आदिवासी जनजाति महासंघ जान नसक्ने र २२ दलीय मोर्चासँग नेपाली आदिवासी जनजाति आन्दोलनको कुनै सम्बन्ध नभएको बताए।

संविधानमा पहिचानको ब्यवस्था नभएर आदिवासी जनजातिको अस्तित्व नरहने बताउँदै अध्यक्ष चौधरीले सबैको समान अधिकार, समान अस्तित्व र समान पहिचानसहितको संघीयताको माग थारु आदिवासीले गर्दै आएको बताए।

एकल जातीय पहिचान, एकल जातीय राज्य दिन्छौं भनेर माओवादी लगायतका ठूला दलका नेताहरुले नै आदिवासी जनजातिलाई गुम्राहमा पारेको बताउँदै उनले अब आदिवासी जनजातिहरु यी नेताहरुको कुनै पनि कुरामा गुम्राहमा नपर्ने बताए।

Rajkumar Lekhi

माघ ८ मा संविधान आउँदैन

त्यस्तै नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखीले माघ ८ मा कुनै पनि हालतमा संविधान जारी नहुने बताए। कार्यक्रमका विशिष्ट अतिथि लेखीले २ हप्ताभित्र ४ राजनीतिक शक्ति कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलहरुले कालो कोठामा बसेर कालो सहमति गरी संविधान जारी गर्ने अर्को मिति तय गर्ने बताउँदै माघ ८ मा संविधान जारी गर्छौ भनेर भ्रममात्रै फैलाइरहेको बताए।

चार राजनीतिक दलका मालिक एउटै भएको बताउँदै लेखीले यी दलहरु अन्तर्राष्ट्रिय शक्तिको कठपुतली भएको बताए। आदिवासी जनजाति आन्दोलन प्रचण्ड र कुनै पनि नेताको पिछलग्गु बन्न नहुने बताउँदै लेखीले ५/१० जना आदिवासी जनजाति नेताका कारण आदिवासी जनजाति आन्दोलन कमजोर बनाउन खोजिरहेको र आदिवासी आन्दोलन फुटाउन खोजिरहेको बताए।

कांग्रेस, एमालेको दुई तिहाई कागजको खोस्टामात्र भएको बताउँदै उनले माघ ८ मा संविधान नबनेमा यो दुई तिहाइको कुरा कागजको खोस्टामा परिणत हुने बताए। नेपाली जनताले संविधानसभामा संविधान निर्माणका निमित्त ६०१ लाई निर्वाचित गरेर पठाए पनि ६०१ ले ५/१० जना नेतालाई संविधान निर्माण गर्ने कार्यको ठेक्का लगाएका कारण माघ ८ गते संविधान जारी हुन नसक्ने उनको धारणा थियो।

Santosh Dahit

थारु विद्यार्थी समाज दाङका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा भएको कार्यक्रममा थारु विद्यार्थी समाजका केन्द्रीय उपाध्यक्ष शिवनारायण चौधरी, केन्द्रीय महासचिव चन्द्रप्रसाद थारु, थारु कल्याणकारीणी सभाका केन्द्रीय उपाध्यक्ष रामप्रसाद चौधरी, अनेरास्ववियु दाङका सचिव बिरवल खड्का, नाइफ नेपालका संयोजक मानबहादुर क्षेत्री, नेकपा एमालेका केन्द्रीय सदस्य तथा थारु विद्यार्थी समाजका पूर्व अध्यक्ष मेटमणी चौधरी, पूर्व अध्यक्षहरु केबी चौधरी, अशोक चौधरी, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष केएल पीडितलगायतले शुभकामना मन्तव्य राखेका थिए।

Tharu Students Socity, Dang-4

मनबिर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नमूना मगर ग्राम सौडियार, सिसहनियाको समूहले थारु समुदायको विभिन्न सांस्कृतिक नृत्य, गीत प्रस्तुत गरेको थियो। त्यस अवसरमा मुक्त कमलहरी विकास मञ्च दाङका अध्यक्ष उर्मिला चौधरी र बिष्णु चौधरीले जनचेतनामूलक गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजिकरण नविन चौधरीले गरका थिए।
Tharu Students Socity, Dang-1
तीन जनालाई अभिनन्दन
यसबीच थारु विद्यार्थी समाज दाङले थारु विद्यार्थी समाजको लागि लामो समयम्म योगदान गरेको भन्दै तीन जना पूर्व अध्यक्षहरुलाई खादा ओढाइ अभिनन्दन गरेको थियो। थारु विद्यार्थी समाजका पूर्व अध्यक्ष मेटमणी चौधरी, केबी चौधरी र अशोक चौधरीलाई प्रमुख अतिथि धनिराम चौधरीले खादा ओढाएर अभिनन्दन गरेका थिए।

Leave a Reply

Your email address will not be published.