माघी ब्लुज

कृष्णराज सर्वहारी- समय अनुसार थारूहरूको महान पर्व माघीको पनि रंग बदलिदैँ गएको छ। खासगरी पश्चिम थरूहटमा केन्द्रित माघी राजधानीमा विगत एक दशक अघिदेखि महोत्सवको रुपमा मनाइन थालेपछि यसले पूर्वी थरूहटमा पनि आफ्नो झण्डा फहराएको छ। मेरा मानस्पटलमा बाल्यकालमा माघी मनाएको धेरै सम्झना अटेसमटेस भएर बसेका छन्। मेरो गाउँ देउखुरी चैलाही–६ छुट्की घुम्नाको पूर्वतिर अवस्थित सानो नदीमा सपरिवार नुहाउन गइन्थ्यो। पुरै गाउँ घुमेर बगेकोे यो नदीको नाम घुम्नाबाट मेरो गाउँ घुम्ना भएको बुढापाकाहरू बताउँछन्। किशोर अवस्थामा छलाङ मारेपछि परिवारका सदस्यहरूसँग माघीको स्नान छुट्यो, आफ्नै उमेरका दौतरीहरूसँग माघी नुहाइसँगै गाउँभरि प्रत्येक घरमा ढोगभेट चल्थ्यो। मलाई माघीको सबैभन्दा ठूलो विशेषता भनेको यही ढोगभेट लाग्छ। थारू गाउँ जति सुकै ठूलो किन नहोस्। कुनै घर नछुटाएर प्रत्येक घरको कोठा चोटामा गएर ठूलासँगै आर्शिवाद लिनु, सानालाई आर्शिवाद दिनु आफैमा राम्रो परम्परा हो। यसले गर्दा अघि पछि जति मनमुटाव भए पनि माघीको अवसरमा हराएर जान्छ।
सानोमा ढोगभेट गर्न जाँदा धेरै पढ्नु भनेर ठूलाले आर्शिवाद दिन्थे, उमेर छिप्पिदै गएपछि राम्री कन्या बिहे गर्ने आर्शिवाद दिन्थे। विहे भएपछि छोरै पाउनु भन्ने आर्शिवाद थापियो तर सबै छोरी नै पाइयो। ५ या ६ कक्षामा पढ्दा होला माघीमा सुँगुरको सेकुवा खाँदा घाँटीमा अड्कियो, म झन्डै परमधाम भइनँ। देउखुरी बेला–१ मटेरियाबाट आएका एक हजुरबाले काँधमा जोडले हिर्काएर मासु निकालेर प्राणदान दिए। त्यसपछि आमाले मलाई मासुको स–सानो टुक्रा मात्रै दिनुहुन्थ्यो। सुंगुरको मासु मन परे पनि फित्ते जुकाले दुःख दिएको हुँदा २०५४ सालदेखि खाएको छैन। थरूहटको गाउँघरमा डुल्दा ‘सर्वहारी’ भनेपछि सबै थोक खाने भनेर सुंगुरकै मासु टक्रर्‍याउँछन्। नखाने थाहा पाएपछि कृष्ण राज सर्वहारी कोष्ठमा सुंगुरको मासु नखाने लेख्न सल्लाह दिन्छन्।
मेरो हजुरबा धेरै वर्ष गाउँको अगुवा हुनुभयो। उहाँलाई डोला (पाल्की) मा राखी माघे संक्रान्तीमा गाउँलेहरूले नुहाउन लान्थे। पछि युवा बगालले मलाई पनि त्यसरी डोलामा राखेर राप्ती नदीमा नुहाउन लगेका छन्। एक डोलामा आफू र अर्को खटोलीमा माइक घन्काउँदै नुहाइसकेर नाच्दै घर–घर ढोगभेट गरेको म सित्तिमित्ति कहाँ विर्सिन सक्छु र? धेरै भयो, राजधानी उक्लिएपछि माघी छेलिएको छ। टुँडिखेलमा माघी महोत्सव हुँदा मैले उद्घोषकको रुपमा कार्यक्रम सञ्चालन गरिरहँदा पनि गाउँको माघी सम्भि्कदा राजधानीको माघी त्यसै पनि खल्लो अनुभव हुन्छ।
महेन्द्र बहुमुखी क्याम्पस दाङ, भरतपुरमा पढ्दा मैले थाहा पाएँ। नयाँ ज्वाइँले दाउराको भारी लिएर माघीमा सासु ससुरालाई भेट गर्न जानुपर्दो रहेछ। हाम्रो देउखुरी उपत्यकामा यो चलन छैन। बुढा सासु ससुरालाई आगो ताप्न ज्वाइँले दाउरा जोहो गर्दिनु कति राम्रो परम्परा। नुहाएर आइसकेपछि नुन, दाल, चामल छुनुपर्ने, त्यसमा केही थपथाप गरेर चेलीबेटीलाई निसराउ (उपहार/पाहुर) दिने पनि कति राम्रो चलन। राजधानीको माघी महोत्सवमा प्रायः प्रधानमन्त्री प्रमुख अतिथि हुन्छन्। निजलाई नुन, दाल, चामल छुन लगाएर अर्कै भाँडामा निसराउको रुपमा राख्न लगाइन्छ। गोपाल दहितलाई जसले जस्तो नजरले हेरे पनि मन्त्री हुँदा माघीमा थारूलाई विदा दिलाउन तथा राजधानीमा महोत्सवको रुप दिन उनको योगदान छ।
माघी महोत्सव मेरो नयाँ किताब विक्रीवितरण गर्ने उपर्युक्त स्थल हो। तर महोत्सवमा धेरै त खान पिउनमै मस्त हुन्छन्। अढाइ सयको वियर घुट्क्याइरहेका हुन्छन्। तर ५० रुपैँयाको पुस्तक किन्नु पर्दा नाक खुम्च्याउँछन्। दारु खाएर थारूहरू सँस्कृति जोगाएको गर्व गछ्र्र्रन् तर आफ्नो समुदायको बारेमा लेखेको किताब संकलन गर्ने बानी नबसाल्दा दिगमिग लागेर आउँछ।
२०५६ सालमा मैले माघी बर्दियाको बर्गदही गाउँमा मनाएको थिएँ। मित्र देवमान चौधरीसहित लहि्रया (गोरु गाडा) लिएर स्थानीय मैला खोलामा नुहाउन गइयो। दर्जनौँ लहि्रयामा हुलका हुल मान्छे नुहाउन ओइरिदाँ एकप्रकारको मेलाझैँ अनुभुति भएको थियो। मित्र देवमानले ननुहाउने विचार गरेपछि मैले भनेँ–प ापी बन्ने विचार नगर्नोस् है। आजको दिन ननुहाएपछि म तपाइँको घरबाट डेरा सार्छु। त्यसपछि त उनी नुहाई धरै पाएनन्।
यो ज्यान पिउने सवालमा बदनाम भएको छ। हो, म माघीमा विहानैदेखि पिउन थाल्थेँ गाउँघरमा हुँदा। राजधानी उक्लिएपछि एकाविहानै टेलिभिजन, रेडियोमा अन्तवार्ताको लागि दौडिनुपर्छ। माघी मात्रै होइन, अन्य चाडपर्वको बारेमा गाँठी कुरा भन्ने सक्नेहरूको अभाव छ। साँझ भने साथीभाइहरूको जमघटमा केही पेग नलिइ धरै पाइन्न। राजधानीको माघी महोत्सव नै यस्तो हुन्छ, ९९ सय प्रतिशत स्टलमा जाँड रक्सी, घुँघीकै छेलोखेलो हुन्छ। माघी महोत्सवमा बौद्धिक छलफलको अभाव छ, जवकि माघीमा गाउँको अगुवा महटाँवा, ककनदारदेखि परिवारको गरढुरिया (घरमुली) चुन्ने अवसर पनि हो। तर राजधानीको माघी महोत्सव खानपीनमा मात्रै मोडिएर एकै ढर्रामा चलेको देख्दा दिक्क लाग्छ। आफ्नै गाउँ देउखुरी छुट्की घुम्नाको माघीलाई राजधानीको माघी महोत्सवले के जित्न सक्ला र? गाउँघरमा उन्मुक्त मघौटा नाचमा जसरी माघी ब्लुजको उत्कर्ष खुल्छ, त्यो शहरमा कहाँ पाउनु? जति ढिक्री खाए पनि, सुंगुरको सेकुवा जति चपाए पनि, अनदी जाँरको झोल जति धोके पनि गाउँघरमा कहाँ पो पैसो लाग्छ र? जव राजधानीको माघी महोत्सवमा १० वटा घोंघीके दाम पचास रुपैयाभन्दा बढी टकटक्याउनुपर्छ, गन्ध मात्रै आउने जाँडपानीको १ लिटर बोटललाई अढाइ सय चढाउनुपर्छ, तब गाउँघरमा घन्किएको गीतको याद आउँछ– सखियै हो, माघीक् पिली गुरी गुरी जाँर।

2 thoughts on “माघी ब्लुज

Leave a Reply

Your email address will not be published.