राष्ट्रपति यादव र अध्यक्ष रेग्मीबीच भेटवार्ता

काठमाडौं- राष्ट्रपति रामवरण यादव र अन्तरिम चुनावी परिषद्का अध्यक्ष खिलराज रेग्मीबीच आज भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा निर्वाचनको प्रक्रियाको विरोधमा रहेका विभिन्न राजनीतिक दल र समूहसँग सरकारले अगाडि बढाइराखेको वार्ता र संवादको प्रक्रियाबारे अध्यक्ष रेग्मीले राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो। 
प्रमुख राजनीतिक दल र सरकारको प्रयासमा मुलुकमा क्रमशः निर्वाचनको वातावरण बन्दै गएको र त्यसका लागि सरकार प्रतिबद्ध भएर लागेको समेत अध्यक्ष रेग्मीले राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो।
राष्ट्रपति यादवले पनि मुलुकलाई निर्वाचनको प्रक्रियामा अगाडि लैजाने काममा सरकारलाई सहयोग गर्न आफू तयार रहेको बताउनुभएको अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो।
निर्वाचन प्रक्रियामा असहमत देखिएका मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीलगायतका दलहरूलाई वार्तामा ल्याएर निर्वाचनको माहोल बनाउन सरकारले जारी राखेको प्रयासलाई सकारात्मक रूपमा लिँदै राष्ट्रपति डा यादवले आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभएको थियो।

यसैगरी, अध्यक्ष रेग्मीले निर्वाचनमा सहभागी हुने राजनीतिक दलका उम्मेदवारको योग्यताबारे देखिएको विवादको निरोपणबारे समेत राष्ट्रपतिलाई सरकारको धारणा अवगत गराउनुभएको थियो।
एमाओवादी र केही साना राजनीतिक दलहरूले संविधानसभाको निर्वाचन २०६४ सालकै कानुनबमोजिम गर्नुपर्नेमा जोड दिँदै आएका छन्। उनीहरूले समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न पनि थे्रसहोल्ड राख्न नहुनेमा जोड दिई आएका छन्। यस विषयमा समेत राष्ट्रपति डा यादव र अध्यक्ष रेग्मीबीच कुराकानी भएको थियो। रासस

Leave a Reply

Your email address will not be published.