रातो पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Rato Bridge new

महोत्तरी- महोत्तरी र धनुषाको सीमामा अवस्थित रातो पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षाका कारण रातोखोलामा आएको भीषण बाढीले पुलको महोत्तरी खण्डको एउटा पिल्लर भाँचिएपछि गएराति १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए।
सो पुल भाँचिएपछि पूर्व जाने गाडी महोत्तरीको बर्दिवासमा र पश्चिम जाने गाडी धनुषाको लालगढमा रोकिएका छन्। सो पुलको स्थलगत निरीक्षणका लागि प्रजिअ पन्थ, प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठलगायतका प्रशासनिक टोली घटनास्थल पुगिसकेका छन्।
हजारौँ यात्रु अलपत्र परेपछि वैकल्पिक मार्गका रूपमा जनकपुर–जलेश्वर–बर्दिवास सडकखण्ड सञ्चालन गरी यातायात सेवा सुरु गर्ने तयारी भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। रासस

Leave a Reply

Your email address will not be published.