सहरबजारका मुख्य चोकहरूमा फिल्म ‘कोहिनूर’ का पोस्टर झकिझकाउ छन्। कलाकार जोडी श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको प्रेमपूर्ण मुद्रा समेटिएका ती पोस्टरले केही दिनदेखि दर्शक र बटुवामाझ शृंगार रस सञ्चार गरिरहेका थिए। तर अफसोच, आइतबार सबेरैदेखि श्रीकृष्णका दर्शक र उनलाई चिन्नेहरू स्तब्ध भए। सबैले सामाजिक सञ्जालका भित्तामा उनको फोटो टाँस्दै शोक मनाइरहे।
फिल्म ‘कोहिनूर’ मा श्रीकृष्ण अन्जानवश चेलिबेटी बेचबिखन गर्ने गिरोहको खेलौना बन्न पुग्छन्। आफ्नो पाप पखाल्न उनी भारतमै बस्छन्। बेचिएका चेलीहरूलाई कोठीबाट उद्धार गर्छन् र भारतीय प्रहरीको ‘क्लिन चिट’ लिएपछि नेपाल फर्किन्छन्। केही साताअघि उनी आफ्नो शरीरमा लुकेका जटिल रोगहरूलाई पखाल्न भारत गएका थिए।
उनीद्वारा निर्मित तथा अभिनित फिल्म ‘कोहिनूर’ गत शुक्रबार रिलिज भयो। दर्शक तथा सञ्चारकर्मीलाई उनको व्यग्र प्रतीक्षा थियो। तर, रोगसँगको लडाइँमा उनी पराजित भए। उनले ‘रिल लाइफ’मा पाएको क्लिन चिट ‘रियल लाइफ’ मा पाउन सकेनन्। उनको आइतबार बिहान ४६ वर्षको उमेरमा निधन भयो। २०४६ सालमा रिलिज भएको ‘भुमरी’ श्रीकृष्णले क्यामरा फेस गरेको पहिलो फिल्म थियो। उनले ‘हिरो’ का रूपमा भने २०५१ सालको ‘नाता’ फिल्मबाट ‘इन्ट्री’ गर्न पाए। २०५२ सालसम्म रिलिज भएका करिब एक दर्जनजति फिल्मबाट उनी ‘डान्सिङ हिरो’ साबित भइसकेका थिए। ‘झझल्को’, ‘सीता’ र ‘गरीब’ त्यस्ता केही फिल्म हुन्।
अग्लो कद, शारीरिक बल र आक्रोशका कारण राजेश हमाललाई ‘एक्सन हिरो’ मान्ने दर्शकहरूले श्रीकृष्णलाई ‘चक्लेटी हिरो’ को मान्यता दिए। श्रीकृष्ण विशेषगरी बेरोजगार युवा, विद्यार्थी वर्ग र मझौला कदका दर्शकबीच प्रिय बने। डान्सर बन्न चाहने युवायुवतीका ‘रोल मोडल’ पनि थिए उनी। कलेजको डिग्री हातमा भए पनि जागिर नपाउँदा ठेलागाडा ठेल्नसमेत पछि नपर्ने युवकको भूमिका श्रीकृष्णले केही फिल्ममा निर्वाह गरे। २०४६ सालपछि राज्यमा उदार अर्थतन्त्र लागू भए पनि शिक्षित बेरोजगार युवाहरूको ठूलो जमात देशमा थियो र अहिले पनि छ।
श्रीकृष्णले त्यस्ता बेरोजगार तर महत्वाकांक्षी युवाहरूलाई रिझाए। उनले खेलेका धेरै फिल्म पारिवारिक कथामा आधारित हुन्थे। ‘नाता’ पनि पारिवारिक थियो। त्यसमा उनले भुवन केसीका भाइ भएर अभिनय गरेका थिए। वास्तवमा नेपाली फिल्मका पर्दामा ‘आदर्श भाइ’ थिए उनी। उनलाई थुप्रै फिल्ममा भाइका रूपमा देख्न पाइन्छ। दाइ, भाउजू र आमालाई आदर गर्ने आदर्शवान भाइ। ‘चक्लेटी हिरो’ को ‘प्लेकार्ड’ उचाल्दै अरू केही अभिनेता पनि नेपाली फिल्ममा देखिए। उनीहरू कोही पलायन भए त कोही रिटायर्ड। श्रीकृष्ण चाहिँ २५ वर्षसम्म टिकिरहे। लगनशीलता, निरन्तरता र उनको स्वच्छ छविले यो सम्भव भएको हो।
कुनै पनि व्यावसायिक तथा नैतिक विवादमा नमुछिएका थोरै कलाकारमा पर्छन् उनी। दर्शकमाझ श्रीकृष्णको ‘डान्स स्टेप’ मात्र होइन ‘पोनी टेल’ कपाल पनि लोकप्रिय थियो। गर्दनदेखि लामो छाडिएको आफ्नो कपालको सानो झुप्पोलाई उनले अन्तिम समयसम्म जतन गरे। एकथरी दर्शकले यसको पनि नक्कल गरेको पाइन्थ्यो। २५ वर्षको अन्तरालमा श्रीकृष्णले लगभग एक सयवटा फिल्म खेले। राजेश हमालले अभिनय गरेका फिल्मको तुलनामा यो संख्या थोरै हो। तर, हिट फिल्म दिने मामिलामा उनी हमालभन्दा कम थिएनन्।
सुरुवातका फिल्महरूमा ‘साइड हिरो’ मै सीमित श्रीकृष्णलाई ‘सोलो हिरो’ का रूपमा स्थापित गराइदिने निर्देशक हुन् शिव रेग्मी। रेग्मीले ‘आफन्त’, ‘आफ्नो मान्छे’ र ‘ए मेरो हजुर’ मा लगातार श्रीकृष्णलाई खेलाउँदै फिल्म सुपरहिट पनि बनाए। रेग्मीलाई अरूभन्दा श्रीकृष्ण नै बढी फापेका थिए। रेग्मीको अन्तिम सुपरहिट फिल्म ‘कहाँ भेटिएला’ (२०६६) मा श्रीकृष्णकै अभिनय र लगानी थियो। आफ्नो करिअरमा श्रीकृष्णले प्रकाश थापा, चेतन कार्की, लक्ष्मीनाथ शर्मा, शम्भु प्रधान, नीर शाह, बन्नी प्रधान, शिव रेग्मी, उज्ज्वल घिमिरे, दीपक रायमाझी, अशोक शर्मा, युवराज लामाजस्ता नाम चलेका र चल्तीका निर्देशकसँग काम गर्ने अवसर पाए। सारंगा श्रेष्ठ, निरुता सिंह र झरना थापाजस्ता अभिनेत्रीसँग उनको जोडी जमेको थियो।
फिल्मको कथामा जस्तै यथार्थमा पनि सालिन थिए श्रीकृष्ण। ‘कहाँ भेटिएला’ मा उनले नै ब्रेक दिएका थिए अभिनेत्री श्वेता खड्कालाई। श्वेतासँगको सम्बन्धलाई उनले कहिल्यै उच्छृंखल हुन दिएनन्। गत असार २३ श्वेतासँग बिहे गर्दै उनले आफू जिम्मेवार प्रेमी र साथी रहेको प्रमाणित गरे। अहिले हलहरूमा चलिरहेको ‘कोहिनूर’ मा एउटा मार्मिक दृश्य छ। ‘म मर्न चाहन्न, मलाई बचाउनुस्’ भन्दै उनले आफ्नी आमासँग निकै रोइकराइ गर्छन्।
फिल्म हेरिसकेका दर्शकलाई अहिले सायद त्यो दृश्य धेरै याद आइरहेको हुनसक्छ। नेपाली फिल्ममा ‘स्टार’ बन्न सफल ‘नेपाली हिरो’ को निधन भएको यो पहिलो घटना हो भन्दा अतिशयोक्ति नहोला। एक ‘हिरो’ लाई युवा अवस्थामै गुमाउनुपर्दाको पीडा धेरैलाई अकल्पनीय भएको छ। तर, अब सबैले स्विकार्नैपर्छ, हामीसँग फिल्मका दृश्यमा छरिएका श्रीकृष्णका विभिन्न ‘लीला’हरू मात्र बाँकी छन्।
दीपेन्द्र लामा/नागरिक दैनिक साभार