थाकसले भदौ ७ गते विद्रोह दिवस मनाउने, यस्तो छ २१ बुँदे सौरहा घोषणा पत्र

कारी महतो, चितवन।
चितवनको सौराहामा असार २१ र २२ गते भएको थारु कल्याणकारिणी सभा (थाकस) को एकीकृत थरुहट राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले तयार पारेको २१ बुँदे सौराहा घोषणा पत्र आज भरतपुरमा पत्रकार सम्मेलन गरी जारी गरिएको छ । थाकसका महामन्त्री प्रेमीलाल चौधरीद्वारा हस्ताक्षरित सौराहा घोषणा पत्रको केही बुँदामा सरकारसँग विभिन्न मागहरु गरिएको छ भने केही बुँदामा भेलाको निर्णय र आगामी कार्यक्रमहरु बारे जानकारी गराइएको छ ।

घोषणा पत्रमा रेशमलाल चौधरी लगायत बन्दी बनाइएका निर्दोष थारु राजबन्दीहरुलाई रिहाई र टिकापुर घटनाको छानबीनका लागि गठन भएको विभिन्न आयोगहरुको प्रतिवेदन सार्वजनिक एवम् लागू गर्न माग गर्नुका साथै थाकसका केन्द्रीय अध्यक्ष धनिराम चौधरी लगायत थारु नेता कार्यकर्ताहरु माथि लगाइएका झुठा मुद्दा खारेज गर्न माग गरिएको छ । थरुहट आन्दोलनका शहिदहरुलाई राज्यको शहिदहरुको अभिलेखमा सुचिकृत गर्नुपर्ने र टीकापुर बजारमा कफ्र्यु लागेको बेला २०७२ भाद्र ७ गते राति र ८ गते दिउँसो थारुहरुको घर, पसल, एफएम, रिसोर्ट आदिमा छानी छानी तोडफोड गर्ने, सम्पत्ति लुटपाट गर्ने र आगजनी लगायत थारु महिलाहरु माथि दुरव्यवहार गर्नेहरुलाई कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ ।

थाकसका केन्द्रीय अध्यक्षले कार्यवाहक दिने, थाकसको संयोजकत्वमा थरुहट÷थारुवान संयुक्त संघर्ष समिति पुनर्गठन एवम् विस्तार गर्ने, प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने, संगठन र भातृसंगठन सुदृढिकरण र शुद्धिकरण गर्ने, विभिन्न संघसंस्था र सरकारसँग वार्ता छलफल गर्न कार्यदल गठन गर्ने जस्ता निर्णय गरिएको कुरा घोषणा पत्रमा उल्लेख गरिएको छ ।

आन्दोलनका आगामी कार्यक्रमहरुमा भदौ ७ गते विद्रोह दिवस मनाउने, ग्रीन भेस्ट मुभमेन्ट अभियान चलाउने, दुई महिने हस्ताक्षर अभियान चलाउने, विभेदकारी संविधानका धारा उपधारा र अनुसुचिहरुको प्रतिलिपि जलाउने एवम् अर्को विद्रोहको तयारी समेत गर्ने कार्यदिशा तय गरिएको घोषणा पत्रमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा थाकसका केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरी, केन्द्रीय सदस्य एवं पूर्व सभासद रुक्मिणी चौधरी, थाकस महिला उपाध्यक्ष विष्णु कुमारी चौधरी, महामन्त्री प्रेमीलाल चौधरी, थारु युवा सभाका केन्द्रीय अध्यक्ष कानूनलाल चौधरी, थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी, थारु महिला समाजका केन्द्रीय अध्यक्ष गीता चौधरी, थाकस चितवनका सभापति ललित कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।

सौराहा घोषणा पत्रको पूर्ण पाठ
१. थारु कल्याणकारिणी सभाको विधान अनुसार केन्द्रीय अध्यक्षले आवश्यकता अनुसार अविलम्ब कार्यवाहक दिने निर्णय गरियो ।
२. थारु कल्याणकारिणी सभाको संयोजकत्वमा थरुहट÷थारुवान संयुक्त संघर्ष समिति पुनर्गठन एवम् विस्तार गर्ने ।
३. थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको संविधान संशोधन सम्बन्धि र टिकापुर घटना लगायतको १४ बुँदे माग नेपाल सरकारसंग अबिलम्ब पुरा गर्न गराउन माग गर्दछौ । थारु कल्याणकारिणी सभाका अध्यक्ष श्री धनिराम चौधरी लगायत थारु नेता कार्यकर्ता माथि लगाएका झुठा मुद्धा खारेज र माननीय श्री रेशमलाल चौधरी लगायत बन्दी बनाईएका निर्दाेष थारु राजबन्दीहरुलाई यथाशिघ्र रिहाई गरियोस ।
४. सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्यूलाई ज्ञापन पत्रदिने ।
५. जारी थरुहट÷थारुवान आन्दोलन र अभियानलाई सुद्घिढिकरण र सुद्धिकरण जारी गर्ने ।
६. जारी थरुहट÷थारुवान आन्दोलनको जनजागरण जनचेतना र जनपरिचालन अभियानलाई जारी राख्ने ।
७. २०७२ साल भाद्र ७ गतेको रहस्यमय एवम् दुःखद टिकापुर घटना सत्याग्रह अभियान कैलालीको टिकापुर लगायत सम्पुर्ण थरुहट जिल्लाहरु र काठमाडौ उपत्यकामा जारी गर्ने ।
८. जारी थरुहट÷थारुवान आन्दोलनलाई सशक्त, प्रभावकारी एवम् निष्कर्षमा पु¥याउन अभियानको निरन्तरता, संघर्षमा जोड, बिद्रोहको तयारी सहितको कार्यदिशा तय गर्ने ।
९. जारी थरुहट÷थारुवान आन्दोलनलाई एकिकृत सुदृढ र प्रभावकारी बनाउन विभिन्न संघ संस्था, संगठन एवम समितिहरुसंग वर्ताको लागि कार्यदल अबिलम्ब गठन गर्ने ।
१०. नेपाल सरकारसंग अनौपचारिक रुपमा छलफलका लागि कार्यदल बनाउने ।
११. दुखःद एवम रहस्यमय टिकापुर घटनाको छानबिनका लागि गठित देवीराम शर्मा नेतृत्वको छानबिन समिति, पुर्व न्यायाधिश गिरिशचन्द्र लाल दास, समाजिक न्याय तथा संसदीय छानबीन समिति, राष्ट्रिय मानबअधिकार आयोग लगायत अन्य सम्पुर्ण आयोगहरुको प्रतिवेदन अबिलम्ब सार्वजनिक एवम् कार्यान्वयन गर्न माग गर्दछौं ।
१२. थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको जिल्ला समितिहरु लगायत स्थानीय तहसम्म अबिलम्ब गठन र पुनरगठन गर्ने ।
१३. थरुहट÷थारुवान आन्दोलनमा शहादत प्राप्त गरेका अमर शहिदहरुलाई राज्यको शहिदहरुको अभिलेखमा सुचिकृत गर्न माग गर्दछौं ।
१४. थारु कल्याणकारिणी सभा र अन्य संगठनहरुको भातृ एवम् भगिनी संस्थाहरुलाई सुदृढ, सक्रिय एवम् परिचालन गर्ने ।
१५. नेपाल सरकारको निर्णय अनुसार लोकसेवा आयोगले स्थानीय तहका लागि निजामति कर्मचारी भर्ना सम्बन्धी गरेको विज्ञापन र काम कारबाहीहरु अविलम्ब खारेज गर्न माग गर्दछौं ।
१६. आम आदिवासी थारुहरुलाई गोलबन्द र एक सुत्रमा बाध्न थरुहट÷थारुवान ग्रीन भेस्ट मुभमेन्ट (न्च्भ्भ्ल् ख्भ्क्त् ःइख्ःभ्ल्त्० संचालन गर्ने ।
१७. दुई महिने हस्ताक्षर अभियान संचालनगर्ने ।
१८. शहिद र राजबन्दीका आश्रित छोरा छोरीहरुको शिक्षादिक्षा एवम् जिविको पार्जनको व्यवस्थापन गर्न राज्यसंग जोडदार माग गर्दछ ।
१९. राजनैतिक टिकापुर घटना सत्याग्रह अभियान अन्तरगत भाद्र ७ गते लाई थरुहट विद्रोहको दिनको रुपमा मनाउने ।
२०. टीकापुर बजारमा कफ्र्यु लागेको बेला भाद्र ७ गते राति र ८ गते दिउँसो थारुहरुको घर, पसल, एफएम, रिसोर्ट आदिमा छानी छानी तोडफोड गर्ने, सम्पत्ति लुटपाट गर्ने र आगजनी लगायत थारु महिलाहरु माथि दुरव्यवहार गर्नेहरुलाई कानुनी कारबाही गर्न जोडदार माग गर्दछौं ।
२१. आदिवासी थारु र थरुहट विरुद्ध घोषणा भएकोे नेपालको संविधान २०७२ असोज ३ गते विभेदकारी संविधानका धारा उपधारा र अनुसुचिहरुको प्रतिलिपि काठमाडौं उपत्यका लगायत सम्पुर्ण थरुहट जिल्लाहरुमा जलाउने ।
धन्यवाद ।

प्रेमीलालचौधरी
महामन्त्री
थारु कल्याणकारिणी सभा
सदस्य सचिव
थरुहट/थारुवान संयुक्त संघर्ष समिति

Leave a Reply

Your email address will not be published.