एन्डरलेकमा विमल घर्तिमगरको जादु

Bimal

युरोपेली क्लबमा क्षमता तिखारिरहेका नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तीमगरले नेदरल्यान्ड्समा सम्पन्न कोपा डेल अगाथा कपमा उत्कृष्ट प्रदर्शन गरेका छन्। बेल्जियन रोयल स्पोर्टिङ क्लब एन्डरलेकका लागि उनले आइतबारका दुई खेलमा दुई गोल गरेका छन्। उनको गोलसँगै एन्डरलेक क्लबले अगाथा कपको फाइनल यात्रा तय गरेको हो। फाइनलमा एन्डरलेकले ब्राजिलको एथलेटिको क्लबसँग खेल्नेछ।
पहिलो खेलमा एन्डरलेकले डेनमार्कको एफसी कोपेनहेगनलाई २–० ले हराएको थियो, जसमा एक गोल विमलले गरेका थिए भने अर्को गोल अल्हासानी बाहले गरेका थिए।
आइतबारै भएको अर्को खेलमा एन्डरलेकले नेदरल्यान्ड्सको फियनोर्ड रोटरडामलाई पनि २–० ले हरायो। उच्च फर्ममा रहेका विमलले घरेलु टोली रोटरडामविरुद्ध गोल गर्दै एन्डरलेकको अग्रतालाई दोब्बर पारेका थिए। विमलले गोल गर्नुअघि एन्डरलेकका तर्फबाट वयुट फइजले गोल गरेका थिए।
विमल युरोपेली क्लबबाट खेल्ने पहिलो नेपाली फुटबलर हुन्। उनलाई बेल्जियमको एन्डरलेक क्लबले एक वर्षसम्म निःशुल्क प्रशिक्षण गराउने सम्झौता गरेको छ। एक वर्ष अवधिमा उनले एन्डरलेको युवा टोलीबाट खेल्ने अवसर पाउनेछन्।
विमलले आफ्नो क्षमता प्रमाणित गर्न सके भविष्यमा युरोपेली क्लबबाट व्यावसायिक फुटबल खेल्ने अवसर पाउन सक्छन्। ‘विमलको यो प्रदर्शनले उनलाई युरोपेली क्लबमा अगाडि बढ्न धेरै सहयोग मिल्नेछ,’ तत्कालीन राष्ट्रिय टोलीका प्रशिक्षक कृष्ण थापाले नागरिकसँग भने, ‘यसले नेपालका अरू युवा खेलाडीलाई थप हौसला मिल्नेछ।’
दुई वर्षअघि विमललाई बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा ‘डेब्यू’ गराएका थापाले ‘अवसर पाए नेपाली खेलाडीले युरोपमा राम्रो क्षमता देखाउन सक्ने विमलले प्रमाणित गरेको’ बताए।
नेदरल्यान्ड्समा शनिबारबाट सुरु भएकोे कोपा डेल अगाथा कपमा ब्राजिलको रेडबुल ब्राजिल र एथलेटिको, बेल्जियमको एन्डरलेक, जापानको सिरिजो ओस्का, डेनमार्कको एफसी कोपेनहेगन र नेदरल्यान्डको फियनोर्ड रोटरडामले प्रतिस्पर्धा गरिरहेका छन्।
भविष्यमा उत्कृष्ट खेलाडी तयार पार्ने उद्देश्यले युरोप र अमेरिकाका क्लबले युथ लेभलको प्रतियोगितालाई प्राथमिकता दिने गर्छन्। युथ लेभल इन्टरक्लब फुटबल खेल्न विमल एन्डरलेकको टोलीसँगै शुक्रबार नेदरल्यान्ड्स गएका थिए।
विमल नेपालको यु–१६ टोलीका कप्तानसमेत हुन्। एएफसी यु–१६ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा टोली एक साताको प्रशिक्षण र अभ्यास खेलका लागि बुधबार बेल्जियम गएका थिए। विमल भने कोपा डेल अगाथा कपको तयारीका लागि साउन १० गते नै बेल्जियम लागेका थिए।
विमल नेदरल्यान्ड्स र बेल्जियम क्लबबाट खेल्ने पहिलो नेपाली हुन्। उनले एन्डरलेकमा दुई महिना र नेदरल्यान्ड्सको एफसी ट्वेन्टेमा दुई साता विशेष प्रशिक्षण तथा ट्रा्यल दिएर फर्केका थिए। गत जेठ २५ गते विमललाई एन्डरलेक क्लबले एक वर्षका लागि सम्झौता गरेको थियो। एन्डरलेकको यु–१७ टोलीका लागि अनुबन्धित विमलले ट्रा्यल क्रममा युरोपकै प्रतिष्ठित फ्युचर कपमा टर्किस टोली फेनेरबाचविरुद्ध एक गोल गरेका थिए। अर्को खेलमा विमलको पासमा एन्डरलेकले अर्को गोल गरेपछि टोली सेमिफाइनलमा पुगेको थियो।
विमलले १५ वर्ष उमेरमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए। गत वर्ष काठमाडौंमा आठौं साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध अन्तिम समयमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा गएर विमलले बराबरी गोल गर्दै नेपाललाई सेमिफाइनलमा पुर्‍याएपछि चर्चामा आएका थिए।
विमलको नेतृत्वमा नेपाल साफ यु–१६ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो। च्याम्पियनसिपका लागि छानिने नेपाल दक्षिण एसियाको एक्लो टोली हो। विमलको नेतृत्वमा नेपालले भदौ तेस्रो सातादेखि थाइल्यान्डमा एएफसी यु–१६ च्याम्पियनसिपको फाइनल चरण खेल्ने छ। च्याम्पियनसिपको सेमिफाइनलमा पुग्ने टोलीले अर्को वर्ष हुने यु–१७ विश्वकप खेल्न पाउनेछ। च्याम्पियनसिपको तयारीका लागि दक्षिण कोरिया जानुअघि विमलले विश्वकप खेल्ने लक्ष्यसहित टोलीले तयारी गरिरहेको बताएका थिए।

कमल खत्री/नागरिक दैनिक साभार

Leave a Reply

Your email address will not be published.