रक्षाबन्धन मनाइँदै

Rakhi

काठमाडौं- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज मनाइँदैछ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जे चिजले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसले नै म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वाम् प्रतिबध्नामी रक्षेमा चलमा चल’ भनी रक्षासूत्र रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहिआएको छ। मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिने परम्परा छ।
आजकै दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्ने परम्परासमेत छ। यसका लागि अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बस्ने गरिन्छ। यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन्।
स्नानपछि जौतिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ। यसरी जनै फेर्ने गरिएकाले नै आजको दिनलाई जनैपूर्णिमासमेत भनिन्छ। वैदिक गुरु परम्पराको पूर्वीय दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ भने अर्को डोराका तीन शिखालाई कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ। आजकै दिन शरीर शुद्ध गरी देवता, सप्तर्षि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषितर्पणीसमेत भन्ने गरिएको हो। विशेषतः आजको दिन सप्तर्षिलाई तर्पण दिने गरिन्छ।
आजका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाने परम्परासमेत रहेको छ। क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाभरि खेतीपातीको काम गर्दा शरिरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यतासमेत रही आएको छ।
नेपालको तराईक्षेत्रमा भने रक्षाबन्धन पर्व दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने गरिन्छ। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने धार्मिक विश्वास छ।
आजको दिन काठमाडौंको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डमा समेत मेला लाग्छ।
आजको दिनलाई नेवारी समुदायले भने गुन्हु पुन्ही भनी मनाउने गर्छन्। विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरि संस्कृतिविद्को छ। बौद्ध धर्माबलम्बीले भने आजको दिनलाई भगवान गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्छन्। बौद्ध धर्मग्रन्थ ‘ललित विस्तार’मा यससम्बन्धी विस्तृत रुपमा व्याख्या गरिएको छ। आज स्वयम्भूमा पनि विशेष मेला लाग्छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *