सय मत पनि नपाउने पार्टी

परासी- हालै सम्पन्न संविधानसभाको निर्वाचनमा १०० मत पनि नपाउने राजनीतिक पार्टी नवलपरासीमा चार दर्जनभन्दा बढी रहेका छन्। छ वटा निर्वाचन क्षेत्र रहेको नवलपरासी जिल्लामा संविधानसभाको निर्वाचनमा १४३ राजनीतिक पार्टीले चुनावमा भाग लिएकामध्ये ५० वटा राजनीतिक पार्टीका उम्मेदवारहरूले १०० भन्दा पनि कम मत ल्याएको जिल्ला निर्वाचन कार्यलयको तथ्याङ्कले जनाएको छ। एक सयभन्दा पनि कम मत पाउने राजनीतिक पार्टीमा मधेसको पुरानो राजनीतिक पार्टीको रूपमा परिचित सद्भावना पार्टी लिएर मधेसकै मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेस समता पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टीलगायतका दर्जनौँ मधेसका क्षेत्रीय पार्टी रहेका छन्।
पहाड, मधेस एवम् तराईमा फैलिएको नवलपरासी जिल्लाको पहाडको तुलनामा मधेसी क्षेत्रतर्फ एक सयभन्दा पनि कम मत पाउने राजनीतिक पार्टीको सङ्ख्या बढी रहेको छ भने स्वतन्त्र उमेदवारको सङ्ख्या पनि तराई क्षेत्रमा अधिक रहको तथ्याङ्कले देखाएको छ।
संविधानसभाको चुनावमा एक सयभन्दा पनि कम मत ल्याउने अन्य पार्टीमा नेपाल परिवार दल, जनमोर्चा नेपाल, सङ्घीय समाजवादी पार्टी, नेपाल गौरवशाली पार्टी, शिव सेना नेपाल, राष्ट्रिय शिवसेना नेपाल, संयुक्त राष्ट्रवादी मोर्चा, नेपाल जनता पार्टी, मधेस तराई फोरम, दलित जनजाति पार्टी, जनता पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाल युवा किसान संघ लगायतका राजनीतिक पार्टीले एक सयभन्दा पनि कम मत पाएका छन्।
जिल्लामा उम्मेदवारी दिएका राजनीतिक पार्टीले शून्य भने कुनै पार्टीले पाएका छैनन्। तर विभिन्न पार्टीबाट बागी भएर उठेका या आफ्नै कारणले उठेका उम्मेदवारमध्ये क्षेत्र नम्बर १ बाट स्वतन्त्र उठेका उम्मेदवार रामुकान्त अर्यालले भने शून्य मत पाउनु भएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीको तथ्याङ्कले देखाएको छ।
जिल्लामा सबैभन्दा कम मत पाउने उम्मेदवारमा सोसल रिपब्लिक पार्टीबाट क्षेत्र नम्बर ३ मा उम्मेदवार हुनुभएका खोमकान्त खनालले जम्मा पाँच मत पाउनु भएको छ भने छ मत पाउनेमा क्षेत्र नम्बर २ बाट सङ्घीय सद्भावना पार्टीकी उम्मेदवार क्रान्तिकुमारी चौधरी, जनता पार्टी नेपालका क्षेत्र नम्बर ५ का उम्मेदवार रामप्रवेश कोहार एवम् क्षेत्र नम्बर ६ बाट नेपाल मजदुर किसान पार्टीका उम्मेदवार एम लाल चौधरी रहनुभएको छ।
नवलपरासी जिल्लामा राजनीतिक पार्टीबाट १४३ एवं स्वतन्त्र ३१ जना गरी जम्मा १७४ उम्मेदवारले मतदानमार्फत आ–आफ्ना लोकप्रियताको नाप गरेका थिए।
– पुरुषोत्तम सुवेदी/रासस

Leave a Reply

Your email address will not be published.