फेसबुक दुरुपयोग, विदेशबाट युवती डाक्दै ठगी

प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विदेश रोजगारमा रहेका दुई युवतीलाई नेपाल बोलाएर ठगी गर्नेलाई पक्रेको छ। महानगरीय अपराध महाशाखाले खाडी देश लेबनन र विकसित साइप्रसमा रहेका दुई युवतीलाई नेपाल बोलाई ठग्ने सिन्धुपाल्चोकका जेभी भनिने तुलबहादुर तामाङलाई पक्रेको हो। उनले लेबननमा रहेकी सृजना दोङबाट नौ लाख र साइप्रसमा रहेकी कुसुम लामाबाट नौ लाख ठगेका थिए।

महाशाखाका अनुसार ठगीको मुख्य साधन सामाजिक सञ्जाल फेसबुकलाई बनाएर तुलबहादुरले ३१ लाख ठगी गरेको जाहेरी परेको छ। जेभी नामको फेसबुक आइडी भएका तुलबहादुरले आफू अमेरिकाको स्थायी बसोबास पास (पिआर) धारी भएको भन्दै लेबननमा रहेकी युवतीलाई नेपाल बोलाएर ठगी गरेका थिए। लेबनन रोजगारीमा गएकी सृजना दोङसँग नौ लाख लिएका उनले सम्बन्ध बढाएर दोङलाई नै ठगीमा प्रयोग गरेका थिए।

‘घटनामा पहिलो ठगी सृजनासँग भयो, त्यसपछि उनैमार्फत् अन्य दुई जनासँग ठगी भएको देखिन्छ,’ महाशाखाका एसपी प्रकाशजंग कार्कीले भने। उनका अनुसार तुलबहादुर अन्य घटनामा समेत कारबाहीमा परेका व्यक्ति हुन्। ‘यसअघि डलर भन्दै पैसा ठग्ने घटनामा समेत उनको संलग्नता देखिन्छ, हामी अनुसन्धान गर्दैछौं,’ उनले थपे।

सिन्धुपाल्चोकको विकट माङखा गाउँमा जन्मेका तुलबहादुर सिन्धुपाल्चोकको तातोपानी, काठमाडौंको बौद्ध र ठमेल क्षेत्रमा विभिन्न प्रकारले व्यक्ति ठगीमा संलग्न रहेको महाशाखाको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उनले सृजनालाई विवाहको आश्वासन दिएर उनकै भाइ संजय दोङ र मिम लामाबाट थप १३ लाख ठगी गर्न सफल भए।

फेसबुकमा प्रलोभनमा पर्नसक्ने व्यक्तिको छनोटपछि मित्रताका लागि आग्रह गर्ने र मित्रतापछि धन्यवाद दिँदै फसाउन चाल चल्ने गरेको अनुसन्धानमा खटिएका महाशाखाका अधिकारीले बताए। आफूसँग अमेरिकाको पिआर भएको र आमा क्यानडामा डाक्टर भएको बताएर तुलबहादुरले साइप्रसमा रोजगारीमा रहेकी अर्की युवती कुसुम लामालाई नेपाल बोलाएर नौ लाख ठगेका थिए। सबैसँग पिआर र आमा क्यानडा रहेको बताउने तुलबहादुरले कुसुमलाई आमासँग क्यानडा लैजाने आश्वासन दिएका थिए।

हालसम्म चार व्यक्तिबाट ३१ लाख रुपैयाँ तुलबहादुरले ठगी गरेको खुलेको छ। महाशाखाले उनीबाट पीडितको संख्या बढ्न सक्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published.