जनता लोभ्याउने बजेट पुस्तिका

budgetकाठमाडौँ- बजेटको ‘ब’ नसुनेका जनताका लागि यसपालि पनि बजेट पुस्तिकाको रातो किताबमा बजेट पारीदिने आश्वासन बाँढेर जनताको भोट बटुलेका छन् कतिपय दलका नेताहरूले। भुराभुरीले कुटो र युवायुवती तथा बुढाबुढीले कोदालोकोदाली र चाँदेको भरमा खनेको बाटोलाई नेताले पक्की बनाइदिने आश्वासन दिएको पाँचदशक पुगिसकेकोछ। काभ्रेपलाञ्चोक जिल्लाको साँगा नासिका गाविस हुँदै भक्तपुर जिल्लाको नगरकोटसम्म जाने करिब १५ किमि कच्चीमार्ग जनताले घरेलु श्रम प्रयोगबाटै निर्माण गरेको पाँचदशक नाघिसकेको छ। धेरै वर्ष अघिदेखि रातो किताबमा बजेट पारिदिने आश्वासन पञ्चायतका नेतादेखि बहुदलका थुप्रै नेताले दिएको स्थानीय कृष्णबहादुर कार्कीले बताउनुभयो।
बजेट के हो? कसले दिन्छ? र कहाँबाट आउँछ? भन्ने विषयमा जनता जानकार नभएको अवस्थामा राजनीतिक दलका नेताले बजेट ल्याइदिने फोस्रा कुरा गरेर जनतासँग अमूल्य मत हात पारे पनि बहुदल प्राप्तिपछि भने जनताले स्थानीय निकायमार्फत बजेटका बारेमा बुझेको नवनिर्वाचित सभासद् कञ्चनचन्द्र बादे श्रेष्ठको भनाई छ।

निर्दलीय पञ्चायती व्यवस्थामा जनताले सङ्गठित भएर विकासका लागि योजना बनाउन सक्दैनथे। २०४६ सालको राजनीतिक परिवर्तनपछिको सरकारले स्थानीय गाविस र नगरपालिका, जिविसमार्फत बजेट पठाउन थालेपछि जनताको सामुहिक विकास निर्माणमा सहभागिता जुट्न थालेको पूर्व जिविस महासङ्घका सभापति कृष्णप्रसाद सापकोटाको भनाइ छ।
वर्तमान अवस्थामा जनताले आफ्नो लागि आफैं योजना बनाउन सक्छन्। योजना छनोटका लागि अहिले गाउँस्तरमा नागरिक मञ्चको प्रमुख भूमिका रहन्छ। वडाले गाविसमा, गाविसले जिल्लामा र जिल्लाले रााष्ट्रिय योजना आयोगमा बजेटका लागि प्रस्ताव गर्ने प्रचलन छ।
योजना छनोट गर्ने र कार्यान्वयन गर्ने निकायसम्म दबाब दिन नसक्नुले गर्दा महत्वपूर्ण तथा आवश्यक साँगा नगरकोटमार्गको लागि बजेट विनियोजन हुन नसकेको यो प्रतिनिधिमूलक उदाहरण हो।
साँगादेखि नगरकोटसम्म जाने उक्त मार्ग भएर काभ्रेको नासिका स्थान, टुकुचा, उग्रचण्डी र भक्तपुर जिल्लाको चित्तपोल, ताथली, सुडाल र नगरकोट गरी छ गाविसका करिब १८ हजार जनताले प्रत्यक्ष सुविधाबाट वञ्चित छन्।
उक्त मार्ग पक्की निर्माण हुन नसक्दा पशुपालनका लागि आवश्यकपर्ने पराल, दाना, दुग्धपदार्थ तथा खेतबारीबाट उत्पादन गरिएका सुन्तला, तरकारी, धान, मकै, आलुलगायतका वस्तु बिक्रीका लागि दोहोरो ढुवानी खर्च व्यहोर्नुपर्ने बाध्यताले कृषि पेसाप्रति उदासिनता भई युवा जमात वैदेशिक रोजगारीमै जानु नियती बनेकोतर्फ कसैको ध्यान जानसकेको छैन।
भक्तपुर र काभ्रेवासीको प्रमुख गन्तव्यका रुपमा परिचित साँगा नगरकोटमार्ग शीर्ष तहका नेताको प्राथमिक सूचीमा नपरेकै कारण निर्माणमा चासो नभएको स्थानीय समाजसेवी हरिप्रसाद दुलालको ठम्याई छ।
दुवै सिमानाका जनता आवतजावत गर्ने उक्त मार्ग भोटको राजनीति गर्नेको लागि मागी खाने भाँडो बनेपनि भविष्यमा रातो पुस्तक बजेट पुस्तिकामार्फत उक्त बाटोका लागि योजना छुट्टिएलाकी भन्ने आशामा करिब १८ हजार जनता प्रतीक्षारत छन्।
प्रत्येक वर्ष सत्तामा रहेको कुनैपनि दलको सरकारले नीति तथा कार्यक्रमका साथमा वार्षिक बजेट ल्याउने गर्दछन्। बजेट ल्याउँदा शीर्ष तहका नेतालाई अर्थमन्त्रालयले कहीँ कतै बजेट विनियोजन गर्नुपर्छकी भनी सोध्ने परम्परा रहेको अर्थमन्त्रालयबाट थाहा भएको छ।
भक्तपुर र काभ्रेबाट निर्वाचित जनप्रतिनिधिको पहुँच नपुगेरै हो वा चिन्ता र चासो नदिएर हो पाँचदशकसम्म पनि उक्त मार्गलाई पक्की बनाउन नसक्नुले जनता निरासामा बाँचिररेहका छन् भन्नुहुन्छ, पूर्व गाविस अध्यक्ष रामहरी श्रेष्ठ।
षि र पर्यटन विस्तारका लागि महत्वपूर्ण सावित भएको उक्तमार्ग निर्माणका लागि यस वर्ष पनि सो क्षेत्रका शीर्ष नेताको चिन्ता र चासो नगएमा कृषि क्षेत्रलाई आफ्नो कर्मथलो बनाई जीवन चलाउँदै आएका त्यस भेगका जनतामा निरासा पैदा हुने देखिन्छ।
“सरकारको नीति र नियतको प्रतिबिम्व हो बजेट”–अर्थमन्त्रालयका पूर्व आर्थिक सल्लाहकार डा केशव आचार्यले भन्नुभयो। नागरिक जवाफदेहितालाई उपहास गर्ने ओठे परम्परा अझै कायमै भएकाले पनि स्थानीय निकायबाट सिफारीस भई आएका योजनालाई वेवास्ता गर्ने चलन छ।
राजनीति पहुँच र जनदबाब पुगेको ठाँउमा स्थानीय निकायबाट छनोट भई नआएको योजनालाई पनि रातो पुस्तिकामा बजेट विनियोजन गर्ने परम्परा कायमै रहेको उहाँले बताउनुभयो।
राजस्व र खर्चको विवरण नै बजेट हो। जनताले कर तिरेको आम्दानीबाट सरकारले बजेट बनाउने गर्दछ। नेपालमा बजेट प्रस्तुत गर्ने चलन विसं २००८ देखि चलेको हो।
– राजाराम कार्की/रासस

Leave a Reply

Your email address will not be published.