‘निर्धक्क मतदान गरौं’

Karishma and Rajesh_electionकाठमाडौं- नेपाली सिनेमा जगत्की नायिका करिश्मा मानन्धरलाई प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सोध्नुभयो, “तपाईंको नाम मतदाता नामावलीमा छ कि छैन?” “मैले अन्तिम दिन फोटो खिँचाएर मतदाता नामावलीमा नाम लेखेँ, जीवनमा पहिलो चोटि मङ्सिर ४ मा भोट हाल्दैछु,” नेपाली रजतपटकी सदाबहार नायिका करिश्माले भन्नुभयो। चलचित्र निर्देशक समाजले शुक्रबार आयोजना गरेको कार्यक्रममा नायिका करिश्माले देश, विकास, जनता र पिछडिएका वर्गका लागि एक भोटले पनि असर पार्ने बताउँदै थप्नुभयोे, “प्लिज भोट हाल्नुस् है अधिकार र अवसर नगुमाउनुस्,” नायिका करिश्माले भन्नुभयो।
“मतदान दान मात्र होइन कर्तव्य र अधिकार पनि हो, यो कुरा बोध गरेर व्यक्तिगत लोभलालचमा नपरी युवाले राम्रो उम्मेवदार छानेेर भोट दिनुपर्छ,” अर्की नायिका निशा अधिकारी भन्नुहुन्छ। उहाँले युवालाई घोषणापत्र पढ्न र निडर भएर भोट दिन आग्रह गर्नुभयो। गीतसङ्गीतका साधक शम्भुजित बास्कोटाले आफ्नी ९४ वर्षीया आमाले पनि यस पटक तस्बिर खिँचाएर मत खसाल्ने इच्छा राख्नुभएको प्रसङ्ग सुनाउँदै यसले निर्वाचनमा उत्साह आएको पुष्टि हुन्छ भन्नुभयो। “यो उत्साहमा इँटा थप्न हामी पनि भोट खसाल्न जानुपर्छ,” उहाँले भन्नुभयो।

यस पटकको चुनावको प्रचारमा नायिका रेखा थापालगायत कलाकार एनेकपा(माओवादी)को प्रचारमा व्यस्त हुनुहुन्छ। नायक भुवन केसी नेकपा (एमाले)र नीर शाह जस्ता कलाकार नेपाली काँग्रेसका प्रचारमा देखिनुभएको छ। गायक सञ्जय श्रेष्ठ र निर्माता उद्धव पौडेल राप्रपा नेपाल पार्टीबाट उम्मेदवार नै हुनुभएको छ। चुनावमा कलाकारको कुनै न कुनै रुपमा संलग्नता र सहभागिताका यी केही उदाहरण हुन्।

निर्माता राजकुमार राई कलाकार र सेलिब्रेटीको कामको अरुले सिको गर्ने मात्र नभै उनीहरू मार्गनिर्देशक पनि हुने भएकाले चुनावका लागि उनीहरूको योगदान हुनुपर्ने बताउनुहुन्छ। “कलाकार विभिन्न रङ्गमा रङ्गिए पनि (विभिन्न पार्टीको झन्डामा रहे पनि) चलचित्र क्षेत्रको हक अधिकार स्थापित गर्न मतदानमा सहभागी हुनुपर्छ,” निर्माता राईले भन्नुभयो।

नायक राजेश हमालको कपालको स्टाइल होस् कि नायिका करिश्माको लवाइ, अरुका लागि सिको गर्ने विषय हुन् –वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा भन्नुहुन्छ। चलचित्र अनौठो, शक्तिशाली र प्रभावकारी माध्यम हो। कलाकारका कुरा सिक्ने चलचित्रविधा छिटो र प्रभावकारी माध्यम हो। “सेलिब्रेटीले सभा, सङ्गीत, नाटक वा कार्यक्रममार्फत भोट दिन प्रेरित गरौं, चुनावका दिन घरमा नबसौं कलाकार,” निर्देशक शर्मा थप्नुहुन्छ।
नेता पनि यस्तै रहेछन् संविधान पनि नबन्ने रहेछ भनी निरास भएर बस्न नहुने वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालको भनाइ छ। धेरै पटक मत हालेर हरेस नखाएको र अघिल्लो पटक खुट्टा भाँच्चिदा पनि मत हालेको स्मरणसहित उहाँ थप्नुहुन्छ, “संविधान र राष्ट्र बनाउने उम्मेदार छानेर भोट हालौं।”
भोट खसाल्न तीन दिन मात्रै बाँकी छ। हिमाल, पहाड तराईमा मजदुर, वकिल, पत्रकार, इञ्जिनियर, किसानदेखि कलाकार सबै निर्वाचनको …मुड’मा छन्। निर्वाचनको सँघारमा उभिएको देश निर्वाचनमय नबन्ने कुरै भएन। दल, उम्मेदवार, सरकार र आयोग निर्वाचनमै दत्तचित्त छन्। यस पटकको निर्वाचनका लागि २४० निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीसहित करिब साढे चार लाख जनशक्ति परिचालित छन्।
देशका दश हजार १३ मतदानस्थलका १८ हजार ४३८ मतदान केन्द्रमा एक करोड २१ लाख ४७ हजार ८६५ मतदाता मतदानको प्रतीक्षामा छन्। कार्यक्षेत्रमा १८ हजार ४३८ मतदान अधिकृत ६८ प्रकारका निर्वाचन सामग्री लिएर मतदानको क्षण कुर्दैछन्।
फेरि निर्वाचन बहिष्कार, हिंसा, आगजनी र निर्वाचनमा केही दलको असन्तुष्टिको कुरा पनि सँगसँगै चलेको छ। चार वर्ष लगाएतापनि अघिल्लो संविधानसभाले संविधान दिन नसकी भङ्ग भयो। राजनीतिक सङ्क्रमणकाल लम्बिदै गएको बेला राजनीतिक र संवैधानिक सङ्कटको समाधान दिन निर्वाचन पनि बाध्यता र अनिवार्य बन्दै गएको आवाज पनि उत्तिकै छ।
देशको संविधान बन्न लाग्दा एउटा पक्ष असन्तुष्ट छ र असाध्यै असहज, प्रतिकूल एवम् चुनौतीपूर्ण अवस्थामा मुलुक उभिएको बुझाइ अहिलेका सर्वाधिक चर्चित महानायक राजेश हमालको छ तर पनि चुनावले नै यो देशको अग्रगामी बाटो देखाउने भएकाले सबै कुराको निकास चुनाव हो भन्नुहुन्छ उहाँ। “सम्पूर्ण देश दलहरूको सहमतिका साथ चुनाव हुन गइरहेको छैन तर राजनीतिलाई निकास दिन जुनसुकै प्रतिकूलतामा चुनावमा जानैपर्छ, देशको अग्रगामी भविष्यको निकास नै चुनाव हो,” हमाल थप्नुहुन्छ।
कलाकारका कुरा सुनेपछि प्रमुख निर्वाचन आयुक्त उप्रेती चलचित्रका पर्दामा समाजलाई सन्देश दिन सक्ने कलाकारसँग तीन दिन बाँकी रहेको निर्वाचनको वातावरणलाई आकाश जमिनको रुपमा तताउन सक्ने खुबी रहेको बताउनुहुन्छ। “त्यो खुबीलाई उपयोग गर्न म आग्रह गर्छु, मतदानको दिन गाउँ, टोल, बस्तीका मतदाता सबै उर्लेर सबै लोकतन्त्रको विचार लिएर निस्केपछि लोकतन्त्रले जित्छ,” प्रमुख आयुक्त उप्रेतीले भन्नुभयो।
गायिका कुन्ती मोक्तान, कलाकार दीपक गिरी, निर्देशक उज्ज्वल घिमिरे, दिनेश डिसी, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष मनोज केसी र नेपाल चलचित्र कलाकार महासङ्घका महासचिव रामकेशर बोगटीले चुनावप्रतिको प्रतिबद्धता वाचन गर्दै लोकतान्त्रिकीकरण, नागरिकको अधिकार र देशको मूल कानुन बनाउने काम भएकाले सबैले चुनावमा भाग लिनुपर्नेमा जोड दिनुभयो।
निर्वाचन प्रतिबद्धता वाचन गर्दै युवा पुस्ताका गायक राजेशपायल राईले आफूले पटक पटक मतदान गरेको बताउँदै संविधान बनाउन यो संविधानसभाको चुनावलाई अन्तिम पटक बनाउनुपर्नेमा जोड दिनुभयो। “मैले मतदान गरेँ पटक पटक तर यसचोटि संविधानसभाका लागि भोट गरौँ अन्तिम पटक, त्यसैले संविधान र देश बनाउने सक्षम उम्मेदवार छान्न चुनावमा सहभागी होऊँ”, गायक राईको निष्कर्ष थियो।
– सूर्यचन्द्र बस्नेत/रासस

Leave a Reply

Your email address will not be published.