बर्दियाका थारु उम्मेदवार के भन्छन्?

Bardiya tharu candidates_election_2013बर्दिया- पार्टीका एजेन्डा नै मेरा एजेन्डा हुन्। जनतालाई यस क्षेत्रको विकास र मुलुकलाई संविधान दिलाउन उम्मेदवारी दिएको हुँ। म निर्वाचित भएपछि संविधान जारी गर्न हरसम्भव प्रयास गर्नेछु। यस क्षेत्रका थारूको छोरो, स्थानीय व्यक्ति र १० वर्षसम्म गाविस अध्यक्षको हैसियतले जनतासँग भिजेर काम गरेकाले यस क्षेत्र मेरो ठूलो लगानी छ। अहिले नेपाली कांगे्रसको लहर छ। थारूको छोरो र लामो समय यस क्षेत्रमा रहेर काम गरेकाले जनताको विश्वास मप्रति छ। यही नै मेरो जित्ने आधार हो।
– भुवनेश्वर थारू, क्षेत्र १, नेपाली कांग्रेस

गरिब, निमुखा, मधेसी, थारू, आदिवासी र जनजातीलाई अधिकार दिलाउन मेरो उम्मेदवारी हो। जातीय जनसंख्याका आधारमा सबैले सरकारबाट पाउनुपर्ने सेवासुविधा समान पाउनुपर्छ। बर्दिया थारू बाहुल्य भएको जिल्ला हो। थारू कुलमा म जन्मेकाले मधेसी र थारूहरूको भोट मैले पाउँछु। मधेसी र थारूले भोट दिने विश्वास छ। त्यसकारण मेरो जित सुनिश्चित छ।
– रामकुमार थारू, क्षेत्र २, फोरम लोकतान्त्रिक

पहिचानसहितको अधिकार र थारुवान राज्य निर्माण मेरो प्रमुख एजेन्डा हो। बर्दियालाई आर्थिक रूपमा आत्मनिर्भर गराउन लागिरहेको थिएँ र लागिरहने छु। उत्पीडित जाती, वर्ग, क्षेत्रको राजनीतिक, आर्थिक चेतना विकासमा समर्पित हुनेछु। सिँचाइ समस्या समाधान, सरकारले जफत गरेको जग्गा गरिब किसानलाई वितरण, बाटोघाटो पुलपुलेसालगायत भौतिक पूर्वाधार निर्माणमा जोड दिनेछु। जनताले एकीकृत माओवादीलाई विश्वास गरेर मतदान गरेकाले अघिल्लो चुनावमा म भारी मतले विजयी भएको थिएँ। माओवादी संगठित र जनता माओवादीको पक्षमा छ, यसैले म जित्छु।
– सन्तकुमार थारू, क्षेत्र ३, एकीकृत माओवादी

लामो समयदेखि वर्गीय मुक्तिका लागि संघर्ष गर्दै आएको छु। अतिविपन्न वर्ग, मुक्तकमैया, सुकुम्बासी र भूमिहीनका विभिन्न कार्यक्रम सहभागी भएको व्यक्ति हुँ। उनीहरूको सामाजिक परिवर्तन, व्यक्तित्व विकास र शैक्षिक स्तर उकास्ने खालका कार्यक्रम गरेको छु। लामो समय थारु समाजको विकासमा अग्रणी भूमिका निभाएको छु। संविधानलाई जारी गर्ने पार्टीको प्रमुख एजेन्डा हो। अहिले हिमालदेखि तराइसम्म एमालेको लहर छ। एमाओवादी समर्थकहरू एमाले प्रवेश गर्ने लर्को छ। त्यसकारण यो क्षेत्रबाट भारी मतले विजयी हुन्छु।
– विसतिया थारू, क्षेत्र ३, नेकपा एमाले

प्रमुख एजेन्डा संविधान निर्माण हो। पार्टीको अवधारणबारे मतदातालाई जानकारी गराउँदै दलित, जनजाति, आदिवासी र पिछडिएको समुदायलाई उठाउन सधैं लाग्नेछु। यो क्षेत्रको प्रमुख बजार राजापुर क्षेत्रमात्र नभएर पिछडिएका भित्री क्षेत्रको विकास, सुकुम्बासी र मुक्तकमैयालाई पुनर्स्थापित गराउनेछु। दुबैतिरबाट कर्णाली नदीले घरेको क्षेत्र भएकाले दिगो तटबन्धन योजना ल्याएर वर्षेनी बाढीबाट पीडित हुने समस्या हल गर्नेछु।
– मानबहादुर थारू, क्षेत्र ४, एकीकृत माओवादी

Leave a Reply

Your email address will not be published.