५५ लाख मतदाता घटे, तीन तहबाट निर्वाचन हेरिने

consitution of nepalकाठमाडौं- निर्वाचन आयोगले अर्को संविधान सभाको निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन विभिन्न २२ जिल्लामा थप मतदाता तथा निर्वाचन शिक्षाका कार्यक्रम आगामी हप्ताबाट सञ्चालन गर्ने भएको छ। यसअघि नै आयोगले २४० वटै निर्वाचन क्षेत्रमा मतदाता तथा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिराखेको छ। ती कार्यक्रमका लागि ३६ हजार तालिम प्राप्त व्यक्ति परिचालन भइराखेका छन्। ती व्यक्तिले मतदाताका घरघरमा गई निर्वाचनको महत्व, निर्वाचनमा मत खसाल्ने तरिका बारेमा मतदातालाई जानकारी दिइराखेका छन्। 
अघिल्लो संविधानसभामा बदरमत बढी देखिएका २२ जिल्लामा विशेष मतदाता तथा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए।
अघिल्लो संविधासभामा एक करोड ७६ लाख ११ हजार ८३२ मतदाता रहेका थिए। तीमध्ये ६१.७ अर्थात् एक करोड ०८ लाख ६६ हजार १३१ ले मत खसालेका थिए। मत खसालेकामध्ये ५.१५ प्रतिशत अर्थात् पाँच लाख ६० हजार ११ मत बदर भएको थियो।
अघिल्लो निर्वाचनमा मतदाता शिक्षा तथा सूचनामा कमी, स्वयम् मतदाता सचेत नभएका कारण बदरमत बढी भएको महसुस आयोगले गरेको थियो। यस्तो अवस्थालाई अन्त्य गर्न आयोगले विशेष मतदाता तथा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको प्रवक्ता राईले जानकारी दिए।
यसपटकको निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा करिब ५५ लाख मतदाता सङ्ख्या घटेको छ। विशेष मतदाता तथा निर्वाचन शिक्षा सञ्चालन गर्ने जिल्लामा पहाडी, हिमाली र तराई सबैतिरका रहेका छन्। मतदाता शिक्षा तथा निर्वाचन शिक्षा स्वयम्सेवकमार्फत नै विशेष शिक्षा सञ्चालन गरिने आयोगले जनाएको छ। शिक्षा कार्यक्रमअन्तर्गत विशेषतः मतदान गर्ने तरिका बारेमा मतदातालाई सुसूचित गराइने छ।
आम सञ्चारका माध्यमबाट मतदाता शिक्षाका लागि हाते पुस्तिका, बारम्बार सोधिने प्रश्न, फ्िप चार्ट निर्माण गरी आयोगले वितरणसमेत गरेको छ। यसैगरी अडियो जिँगल, भिडियो जिँलग, सडक नाटकसमेत विभिन्न भाषामा तयार गरी प्रशारण भइराखेको छ।

तीन तहबाट निर्वाचन हेरिने
निर्वाचन आयोगले तीन तहबाट अर्को संविधा सभाको निर्वाचन हेरिने व्यवस्था मिलाइएको छ। हेर्ने (अवलोकन गर्ने), अनुगमन गर्ने र पर्यवेक्षण गर्ने गरी समग्र निर्वाचन प्रक्रियाको हेराइको व्यवस्था गरेको प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले जानकारी दिए।

उनका अनुसार निर्वाचन हेर्नका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)निर्वाचन आयोगका प्रमुखलगायत अन्य देशका विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरिएको, अनुगमनका लागि निर्वाचन आयोगका प्रमुख आयुक्तसहित अन्य आयुक्त, आयोगमा कार्यरत कर्मचारी, नेपाल सरकारका मुख्यसचिवसहित अन्य सचिव, सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृतको व्यवस्था गरिएको जानकारी दिए।
यसैगरी निर्वाचन पर्यवेक्षण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायका संस्थाबाट गरिने व्यवस्था मिलाइएको प्रमुख आयुक्त उप्रेतीले जानकारी दिए। आयोगमा निर्वाचन पर्यवेक्षण हेर्नु हुने आयुक्त डा रामभक्त पिभि ठाकुरले यसपटकको निर्वाचनमा राष्ट्रिय ५४ र अन्तर्राष्ट्रिय ३ गरी ५७ वटा संस्थाका करिब ७४ हजार पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्ने बताउनुभयो। ती सबैलाई पर्यवेक्षणसम्बन्धी आवश्यक तालिम तथा प्रशिक्षण सम्पन्न भइसकेको आयोगले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.