बर्दियाका सबुरे थारु भन्छन्- ‘राजधानी त पैसा हुनेको हो’

सबुरे थारुले जिन्दगीको ७४ वसन्त पार गर्दासम्म नेपालको राजधानी देखेका थिएनन्। गाउँमा धेरैले उनीसँग काठमाडौँको बखान गर्ने गर्थे। ‘पशुपतिनाथ र धरहराको चर्चा धेरै हुने गर्थ्यो,’ सोमवार हातमा निलो झोला बोकेर सुन्धारास्थित सिभिल ट्रेड सेन्टरनजिक उभिइरहेका उनी गफिए, ‘मलाई पनि जाऊँ–जाऊँ लाग्थ्यो। आज ७४ वर्षको उमेर त्यो सपना पूरा भयो।’
धर्के सट, सेतो धोती, कालो चप्पल अनि टाउकोमा गेरु रङको फेटा बाँधेका देख्दा सहजै अनुमान गर्न सकिन्थ्यो, उनी तराईवासी हुन्। ‘बर्दिया जिल्लाको धधवार गाविस वडा नम्बर १ मा पर्छ मेरो घर,’ उनले भने।

saberu tharu

काठमाडौँ कस्तो लाग्यो त उनलाई? ‘बडिया लाग्यो,’ उनले भने। ठूलठूला सडक र लस्करै सवारीसाधन सडकमा गुडिरहेका देख्दा उनी अचम्म मानिरहेका थिए। भन्दै थिए, ‘अग्ला–अग्ला घर, फराकिलो सडक र यति धेरै गाडी त जिन्दगीमा कहिल्यै देखेको थिइनँ।’
उनी २६ वर्षदेखि साधु बनेका रहेछन् । माछामासु खाँदैनन्। भने, ‘मलाई मठ–मन्दिरहरू साह्रै मन पर्छन्। काठमाडौँमा त जताततै मन्दिर रहेछन्। जताततै मान्छेको भीड। जताततै रमाइलो नै रमाइलो।’ अनि यतै बस्नु नि? उनले भने, ‘हामीजस्ता गरिबका लागि कहाँ हो र यो शहर? यहाँ त पैसा भएकाहरू बस्छन्। राजधानी त पैसा हुनेहरूको हो।’
कहाँ–कहाँ घुमे त उनी? ‘पशुपतिनाथ घुमेँ,’ उनले भने, ‘सिंहदरबार र संविधानसभाको भवन देखेँ। बजार देखेँ।’ पशुपतिनाथमा शिवलिंग देख्दा आफू टोलाएको उनले सुनाए। ‘त्यहाँ पुग्दा मनै शान्त भएको थियो। सधैँ यही बस्न पाए हुन्थ्यो जस्तो लाग्यो,’ उनले भने।
उनको मन खिन्न पनि छ। ‘भूकम्पका कारण भत्किएका घरहरू देख्दा नमज्जा लाग्यो,’ उनले भने, ‘मनै अमिलो भयो। रुन मन लाग्यो।’

धेरैले धरहरा चढेर सिंगो काठमाडौँ शहर हेरेको अनुभव उनीसँग साटेका रहेछन्। ‘त्यतिबेला मलाई पनि चढ्न मन लाग्थ्यो। तर, भूकम्पले धरहरा नै भत्काइदिएछ। अब, यसलाई नै हेरेर चित्त बुझाउनुपर्यो्,’ सुनधाराको बीच सडकमा निर्मित सानो धरहरालाई देखाउँदै उनले भने।
अहिलेसम्म किन काठमाडौँ नआएको त? उनले भने, ‘हामी त गरिब मान्छे। पैसा नभएपछि कसरी आउने?’ उनले जग्गाजमिन नभएको बताए। ‘डेढ बिगाहा जग्गा अधियामा लिएर खेतीपाती गरिरहेको छु। दुःखले खान पुगिरा’को छ।’
उनका दुई छोरा र दुई छोरी छन्। छोराहरू छुट्टिएर बसेका छन्। जेठा छोरा बितिसके। ‘म जेठी बुहारी र दुई नातिनीसँग बसिरहेको छु,’ उनले भने, ‘हातखुट्टा लागुञ्जेल त उनीहरूले खुवाइरहेका छन्। अब बूढो शरीरले काम गर्न नसकेपछि के गर्ने हुन्? थाहा छैन।’
उनको श्रीमती बितेको १० वर्ष भयो। ‘पेटको बिरामी थिई,’ उनी भावुक भए, ‘काठमाडौँमा ल्याएर उपचार गराउन सकिएन। गरिब भएपछि केही गर्न नसकिँदो रहेछ।’

आइतवार काठमाडौँ आएका उनी सोमवार बेलुका नै फर्कन हतारिदैँ थिए। किन? ‘उता खेत जोत्ने बेला भइसक्यो,’ उनले भने, ‘धेरै काम छ। काम नगरी गुजारा चलाउन सकिँदैन। अनि, यहाँ बस्न पनि त सकिँदैन।’
पानी नपरेकोमा चिन्तित छन् उनी। ‘धानको बीउ राखिसकेको छु,’ उनले भने, ‘पानी परेन भने त खेत बाँझै हुन्छ।’

उनी जीवनलाई भगवान्को अनुकम्पा सम्झन्छन्। ‘हामी त भगवान्का दास हौँ,’ उनले भने, ‘भगवान्ले जति दिनसम्म प्राण दिन्छन्, त्यतिञ्जेल बाँच्ने हो।’

अनिल यादव/शुक्रबारबाट

One thought on “बर्दियाका सबुरे थारु भन्छन्- ‘राजधानी त पैसा हुनेको हो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *