मोरङ ७ मा गच्छदार र शेखर कोइरालाको टक्कर

gachhadar vs shekharविराटनगर- आजसम्म संविधान सभाको निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं. ६ र ७ मा उच्चस्तरीय नेताहरूको उम्मेदवारीले गर्दा कार्यकर्ता र मतदाताहरूको ध्यान बढी केन्द्रित देखिएको छ। यस क्षेत्रमा विगतको संविधान सभाको निर्वाचनमा क्षेत्र नं ६ बाट मधेसी जनअधिकार फोरम नेपालका उम्मेदवार भीम राजवंशी र निर्वाचन क्षेत्र नं ७ बाट तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा नवप्रवेशी विजयकुमार गच्छदारले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पराजित गराउँदै विजय हासिल गरेका थिए। 
निर्वाचन क्षेत्र नं ७ का विजयी उम्मेदवारले क्षेत्र छाडेपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले विजय हासिल गर्नुभएको थियो। उपनिर्वाचनमा विजयी भएपछि नेपाली कांग्रेसले मोरङको नौ वटा क्षेत्रमध्ये दुई क्षेत्रमा मात्र बर्चस्व कायम गरेको थियो।
नेपाली काँग्रेसले यसपटकको निर्वाचनमा विगतलाई सम्झदै पुनः डा. शेखर कोइरालालाई उम्मेदवार बनाएको छ भने परिणाम हातमा पार्न क्षेत्रमा पार्टीका सबै संयन्त्र परिचालन गरेको नेपाली कांग्रेस मोरङले जनाएको छ।
मोरङ क्षेत्र नं ७ बाट अहिलेको निर्वाचनमा नेपाली कांग्रेसबाट डा शेखर कोइराला, एकीकृत नेकपा (माओवादी)बाट गोपाल कटुवाल, नेकपा (एमाले)बाट यशोदा अधिकारी, मधेसी जनअधिकार फोरम नेपालबाट मोहम्मद फैयाज र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट अध्यक्ष विजयकुमार गच्छदारले उम्मेदवारी दिएका छन्।
मुख्यतः यी उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ। यस क्षेत्रमा सबैभन्दा बढी नाम चल्ने उम्मेदवारहरूमा डा कोइराला, अध्यक्ष गच्छदार र यशोदा अधिकारी छन्।
छ वटा गाविस र विराटनगर उपमहानगरपालिकाको सातवटा वडा सम्मिलित यस क्षत्रमा पुरुषको ३० हजार ६०० र महिलाको २८ हजार ४०६ मतदाता गरी कुल ५९ हजार ६ जना मतदाता छन्। यस क्षेत्रमा अन्य राजनीतिक दलका उम्मेदवारसहित ४० जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
यस्तै, निर्वाचन क्षेत्र नं ६ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्य, नेकपा (एमाले)का महेश भट्टराई, एमाओवादीका बाबुराजा ओझा, मधेसी जनअधिकार फोरम नेपालका मृत्युन्जय झा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का भक्ती माझीले उम्मेदवारी दिएका छन्।
उम्मेदवार बाबुराजा नेपाली कांग्रेसबाट हालै एमाओवादीमा प्रवेश गरेका जिल्लास्तरीय नेता छन् भने भक्ती माझी प्रहरी सेवाबाट अवकाशप्राप्त प्रहरी अधिकृत छन्। यस क्षेत्रमा केन्द्रीयस्तरका नेता नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यमात्र छन्।
नेता, कार्यकर्ता एवं मतदाताहरूबीच अहिले भइरहेको निर्वाचन गतिविधिले परिणाम कसको पक्षमा आउँछ भन्न सक्ने अवस्था अझै रहेको छैन तर जनता इमान्दार र स्वच्छ छविका उम्मेदवारलाई जिताउने मनसायमा रहेको प्रस्टै देखिन्छ।
यस क्षेत्रमा अहिले विभिन्न राजनीतिक दलका ३९ जनाले आ–आफ्नो मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयका प्रवक्ता विकास श्रेष्ठले बताए। छ गाविस र सातवटा विराटनगर उपमहानगरपालिकाका वडा रहेको यस क्षेत्रमा कूल ५६ हजार ९३६ मतदाता छन्। जसमा पुरुष २९ हजार ८२९ र महिला २४ हजार २४० जना छन्। क्षेत्रमा अहिले सौहार्दपूर्ण वातावरणमा निर्वाचन गतिविधि भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ।
– मोहम्मद सदरुल/रासस

Leave a Reply

Your email address will not be published.