जसले १८ वर्ष कमलरी जीवन बिताइन्

Shanta  Chaudharyकाठमाडौं‌- कमलरीदेखि संविधान सभासम्मको जीवनयात्रालाई फर्केर हेर्दा शान्ता चौधरीको कथा कुनै चलचित्रको कथाभन्दा फरक लाग्दैन। उनले भोगेका पीडा र संङ्घर्षले उनलाई वास्तवमै उदाहरणीय व्यक्ति बनाएको छ। उनले भोगेका विगतका ती दिन कति पीडादायी थिए भने आठ वर्षको उमेरदेखि नै उनले जमिन्दारको घरमा कमलरी बस्न थालिन्। त्यहाँ उनले १८ वर्ष बिताइन्। परिवारमा आमाबुबा, दिदीबहिनी सबै कमैया र कमलरी थिए। जीविकाका लागि शान्ताले पनि त्यही बाटो अपनाउनु पर्‍यो। जमिन्दारको घरमा सानै उमेरदेखि कमलरी बस्नुपर्दा बाबुआमाको न्यानो काखबाट वञ्चित भइन्। शिक्षाको ज्योती पाउन सकिनन्। बिरामी हुँदासमेत उपचार नपाउने अवस्था थियो। जमिन्दारले जे काम अह्रायो त्यही गर्नुपर्ने नत्र पिटाई र अपमान खानुपर्ने डर हुन्थ्यो। ‘मीठो खाना, नयाँ लुगा र चाडपर्व भनेको के हो थाहा थिएन, यी सबै कुरा मेरा लागि असम्भव थिए,’ कमलरी अवस्था छँदाको पीडा पोख्दै उनी भन्छिन्, ‘जमिन्दारको घरमा दिनभरी र राति अबेरसम्म काम गरेर पनि पेटभरी खान पाइँदैन्थ्यो।’
आफैं बच्चा छँदा जमिन्दारको बच्चा स्याहार्नुपर्ने बोझ थियो । जमिन्दारको निर्दयिता कति हदसम्म थियो भने कहिलेकाहीँ उसको बच्चाको दिशा धोइदिँदा राम्ररी नपखालिएमा त्यही दिशा बालिका शान्ताको मुखमा दलिदिने गर्थे। एउटा भाँडा हरायो भने पनि हातमा बेस्सरी हान्थे। भारी बोक्न नसकेमा काम चोर भनेर नानाथरीका गाली सुनाउँथे। आफ्ना उमेरका अरुका छोराछोरी स्कुल जाँदा उनलाई असाध्यै रुन मन लाग्थ्यो। आफू स्कुल जान नपाउने, अरुले चाहिँ पाउने आफ्नो भाग्य पनि कति खराब रहेछ भनेर।
जमिन्दारको घरमा कमलरी भएर बस्दाको पीडा र संङ्घर्षले नै शान्ताको मनमा नजाँनिदो किसिमले विद्रोहको भावना जाग्यो र त्यसविरुद्ध लड्ने विचार आयो। राजनीतिमार्फत् नै हरेक समस्याको समाधान हुनसक्छ र यो क्षेत्रमा आफ्नो वर्गको प्रतिनिधित्व नभएसम्म अधिकार प्राप्त गर्न सकिँदैन भन्ने कुरा पनि उनले बिस्तारै बुझ्दै गइन्। त्यसले उनी बिस्तारै राजनीतितर्फ आकर्षित भइन्। जमिन्दारको घरमा कम्लरी बस्दा बस्दै एकदिन उनले दाङ जिल्लामा भूमि अधिकार मञ्चको सम्मेलनमा जाने मौका पाइन्। त्यहाँ आफूजस्ता थुप्रै गरिबलाई देख्दा उनको मनलाई सान्त्वना र हौसला मिल्यो। त्यसपछि जमिन्दारको घरबाट अनेक बहाना बनाएर भागीभागी उनी त्यस्ता कार्यक्रममा जान थालिन्। पछि जमिन्दारले यो कुरो थाहा पाएर उसको घर वा आन्दोलनमध्ये एक छाड्नुपर्ने भन्दै यातना दिन थालेपछि अन्तमा २०६३ सालमा उनले जमिन्दारको घर छोड्ने निर्णय गरिन्। यसरी शान्ताको कमलरी यात्रा टुङ्गियो र सुरु भयो राजनीतिक यात्रा।
कमलरी यात्रा त टुङ्गियो तर राजनीतिको बाटोमा हिँड्न त्यति सजिलो थिएन। एउटी महिला त्यसमा पनि थारु, कमैया र कमलरी वर्गको महिलाले राजनीतिमा आउन कति कठिन हुन्छ स्वाभाविक मूल्याङ्कन गर्न सकिन्छ। कमैया र कमलरी मुक्ति र भूमि आन्दोलनमा हिँड्दा ‘बच्चा घरमा भोकै राखेर नेतानी बन्छे’ भनेर गाउँका मान्छेले आलोचना गर्थे। कतिपय महिलाका श्रीमामले उनीसँग हिँड्ने अरु महिलालाई बिग्रेर हिँडेको भनेर पनि पिटे। कतिपय गाउँलेले आफू त बिग्री अरु महिलालाई पनि बिगार्न लागि भनेर गाउँका महिलाले शान्तासँग हिँडेको र सङ्गत गरेको मन पराएनन् र शान्ताको घरबाट उनलाई असहयोग होस् भनेर उनीविरुद्ध विभिन्न कुरा लगाए। कमलरी मुक्ति आन्दोलनमा लाग्दा आफ्नै समुदाय र जमिन्दारले खुकुरी लिएर उनलाई मार्नसमेत आए। जमिन्दारले कमैयालाई तिमीहरूको छोरी ल्याएर हाम्रो घरमा राखेमात्रै जमिन जोत्न दिन्छु भनेर भनेपछि कमलरीका बुबाआमा ‘हाम्रा छोरीहरू यता न उता भए र हामीले पनि जमिन जोत्न नपाउने भयौं’ भन्दै शान्ताविरुद्ध खनिए।
तर, शान्ताले जमिन्दार, आफ्नै समुदाय र अन्यसँग लड्दै कमैया, भूमि आन्दोलन र जनआन्दोलनमा भोको पेट र रित्तो खुट्टा हिँडेर भए पनि सहभागी भइन्। केही वर्षअघि सरकारले कमैया मुक्त भएको घोषणा गरे पनि गरीब कमैयाका छोरीलाई धनीमानी व्यक्तिले घरको कामकाज गराउन र उनीहरूका बच्चाका रेखदेख गर्न कमलरी राख्ने चलनको अन्त अझै भएको छैन। तर, पहिलो संविधान सभा निर्वाचनका बेला उनको सङ्घर्ष र योगदानको कदर गर्दै संविधान सभाको समानुपातिक सूचीमा नाम पठाउन एमालेलगायत धेरै पार्टीबाट उनलाई प्रस्ताव आयो। तर, उनको विचारधारा एमाले नजिक भएकाले उनले समानुपातिकमा आफ्नो नाम दिन एमालेलाई नै रोजिन्।
आफ्नो समुदाय र वर्गको अधिकारका लागि लड्छु र कमसेकम शोषित र पीडितलाई एक ढिक्का बनाउन सक्छु भन्ने बलियो विश्वास शान्तालाई थियो। तर, संविधान सभाको सदस्य बन्छु भनेरचाहिँ उनले त्यसअघि जीवनमा कहिले कल्पनासम्म पनि गरेकी थिइन्। संविधान सभा सदस्य वा सभासद् हुन लामो समयको राजनीतिक अनुभव हुनुपर्छ भन्ने उनलाई लाग्थ्यो। तर, पार्टीले उनलाई समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनाएपछि उनी दाङबाट तत्कालै काठमाढौं आउनुपर्ने भयो। त्यतिबेला उनको घरमा खानलाई एक गेडा अन्न थिएन र साथमा आफ्ना दुईवटा बच्चाहरू थिए। उनको श्रीमान पनि काठमाडौंको एउटा घरमा काम गर्थे। बच्चाहरूलाई आफूसँगै काठमाडौं ल्याउन सकिने अवस्था थिएन। त्यसैले काठमाडौं हिँड्नुअघि बच्चाहरूलाई छिमेकीको भरमा छोडेर छिमेकीसँग उनले अनुरोध गरिन्, ‘यी बच्चाहरूले बिहानबेलुका घरको काम गरिदिन्छन्, स्कुल नगएको दिन यिनीहरूले गाई बाख्रा चराउन गइदिन्छन्, जसरी पनि यिनीहरूलाई खान दिनु है।’
शान्तालाई पहिलो पटक संविधान सभा हलभित्र पस्दा सबै नौलो लाग्यो। काठमाडौं उनका लागि नयाँ ठाउँ थियो। कोही चिने जानेका थिएनन्। पार्टीका साथीहरूले डेरा त खोजिदिए तर राति अबेरसम्म संविधान सभाको बैठक चल्थ्यो, हिँडेर राति डेरामा फर्किनुपर्थ्यो। बाटो नचिनेर कहिलेकाहीँ त उनी आफू बस्ने डेरा नै चिन्दैन्थिन्। उता घरमा चाहिँ बच्चाले खान पाए कि पाएनन् भन्ने चिन्ताले पनि उनलाई सताइरहन्थ्यो। बाल्यावस्थामा आमाबुबाको माया पाउन नसकेकी शान्तालाई आफ्नो गरिबी र विवशताले आफ्ना बच्चालाई पनि अहिले सुख दिन नसकेकोमा धेरै दुःख लाग्छ। पेटभरी खान नपाउने, चाडपर्वमा अरुका बच्चाका पुराना लुगाले आङ ढाक्नुपर्ने र कलम कापिको अभावमा विद्यालय जान नपाउने नियती उनका बच्चाहरूले पनि भोग्नुपर्‍यो। यो सबै सम्झँदा उनलाई धेरै नमीठो लाग्छ।
शान्ताको झण्डै तीन वर्षे संविधान सभाको अनुभवले भन्छ, संविधान सभामा आफूलाई सर्वहारा र श्रमजीवि भन्ने वामपन्थीहरूको बाहुल्य भए पनि त्यहाँ हुनेखानेकै हालीमुहाली भएकाले गरिबको पक्षमा राम्रो संविधान बन्छ भन्नेमा उनलाई शंका लाग्थ्यो। उनी पूरै निराश भने थिएनन्। शान्ता चौधरी व्यवस्थापिका संसद्अन्तर्गत प्राकृतिक स्रोत साधन समितिको सभापति भइन्। संविधानसभा र यसअन्तर्गत उनी संलग्न प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजश्व बाँडफाँड समितिमा उनले वर्गीय मुद्दालाई महत्व दिएर उठाएकी थइन्। उनले उठाएका कमलरी, कमैया, सुकुम्बासी, हलिया, चरुवा र भूमिहीन शब्दहरू मस्यौदा संविधानमा परेका छन्। उनले त्यहाँ कमलरी र कमैयाका मुद्दा पनि उठाइन्। साथै आदिवासी जनाजातिको प्राकृतिक स्रोतमा पहुँच हुनुपर्ने कुरा पनि उठाइन्। थारुलाई मधेसी बनाइनु हुन्न भनेर आवाज उठाउनेमध्ये उनी पनि थिइन्। सङ्घीय राज्यमा जाने बेलामा थारुको पहिचान कायम हुने थरुहट स्वायत्त प्रदेश हुनैपर्छ र तराई एक प्रदेश नभई बहुप्रदेश हुनुपर्छ भनेर पनि उनले बलियो आवाज उठाइन्।
१ सय ९७ जना महिला संविधान सभा सदस्यहरूबीचको सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका विविधताले महिला लगायत अन्य महत्वपूर्ण मुद्दामा उनीहरूबीच अन्तरक्रिया गर्न अप्ठेरो हुने गरेको शान्ताको अनुभव थियो। संविधान सभाका सुरुका दिनमा त्यहाँ कसैलाई नचिन्दा र आफ्ना भावना तथा विचार पोख्ने कोही नहुँदा उनलाई टुहुरो झैँ महसुस भएको थियो। त्यतिखेर त उनलाई हुनेखाने महिलाले गरिब महिलालाई वास्तै गर्दैनन् कि भन्नेसमेत लागेको थियो। त्यसरी नै अधिकांश सभासद्हरूले गरिबका कुरा नउठाउँदा गरीबलाई हेपेको हो कि भन्ने पनि लाग्थ्यो। त्यसैले संविधान सभामा महिलाका कुरा उठाउँदा उनी भन्ने गर्थिन, ‘सहरीया र हुनेखाने महिलाको कुरामात्रै नगर्नुस् है।’
संविधान सभामा आउँदा उनलाई जसोतसो हस्ताक्षर गर्न बाहेक पढ्न लेख्न आउँदैनथ्यो। त्यसैले यो ठाउँमा आइसकेपछि सबै कुरा सिक्नु आवश्यक छ नत्र विभिन्न बहानामा फेरि पछाडि पार्छन् भनेर शान्ताले घरमै शिक्षक राखेर पढिन्। अहिले उनी नेपाली भाषामा लेखपढ गर्न सक्छिन्।
धेरैले राजनीतिलाई फोहरी खेल हो भने पनि शान्तालाई राजनीति संङ्खर्ष हो र राजनीतिमा आएर आफूले ठिकै गरेछु भन्ने लाग्छ। उनको अनुभवले भन्छ, ‘व्यक्ति चोर फटाहा हुन सक्ला, फोहोरी खेलमा लाग्न सक्ला तर सिङ्गो पार्टी त्यस्तो हुन सक्दैन।’ राजनीति बाहिर बसेर गरिबको आवाजको सुनवाइ हुनुपर्छ भनेर कराउनुभन्दा भित्रै आएर आफैँले आफ्नो मुद्दा उठाउँदा बढी सुनुवाइ हुँदो रहेछ भन्ने उनको अनुभवले बताउँछ। त्यसैले ‘पद र अवसर पाइएन भन्दैमा राजनीति नै नगर्ने भन्ने मबाट हुनेछैन’, उनी विश्वासका साथ भन्छिन्।Shanta Book- 'Kamalaridekhi savasadsamma'

उनले हालैमात्र ‘कमलरीदेखि सभासद्सम्म’नामक किताब लेखेकी छन्।
व्यक्तिगत विवरण:
नाम: शान्ता चौधरी
ठेगाना स्थायी : लक्ष्मीपुर गाविस–४, दाङ
अस्थायी : बसुन्धरा, काठमाण्डौं
जन्म स्थान : दाङ
आमाको नाम : कुन्यी चौधरी
बुबाको नाम : ह्सुलाल चौधरी
श्रीमान्को नाम : हरिलाल चौधरी
शिक्षा : साक्षर
राजनीतिक दल : नेकपा (एमाले)
शान्ता चौधरी दाङ क्षेत्र नम्बर २ का प्रत्यक्षतर्फका उम्मेदवार हुन्।

2 thoughts on “जसले १८ वर्ष कमलरी जीवन बिताइन्

  1. Santa ji ko Barema janna Pauda Dherai khusi lageko cha.
    Bastav ma Sansar ra Samaj lai badalnu xa vane suruwat afai bata nai garnu parxa.
    laal salam.

  2. santa diju lai maile najik bata chinne mauka payako 6u uha sacchikai saral ra sangharasil mahila ho uha lai jitayara feri yakchoti garib ra sachhikai sarbahara barga lai mauka ptradan garnu par6 so, uha ko jeet hami sabai ko jeet ho ..all the best n gud luck santa diju

Leave a Reply

Your email address will not be published.