विदेशमा दुर्घटित नेपाली

bideshडी. विनोद– कतारको राजधानी दोहास्थित सातिया ग्रुपमा कार्यरत चितवनका जुटपानी–४ सगुनटोलका २० वर्षीय अर्जुन गौतमको सवारी दुर्घटनामा यसै साता मृत्यु भयो। गत बिहीवार दिउँसो १२ बजे ड्युटी सकेर कम्पनीको गाडी पखिर्रहेका बेला गौतमलाई पछाडिबाट आएको ल्यान्ड क्रुजर गाडीले पेटीमा चढेर ठक्कर दिएको थियो। घटनामा उनीसहित सात जनाको ज्यान गएको थियो। घटनामा तीन जना नेपाली र चार भारतीयको मृत्यु भएको सोही कम्पनीमा कार्यरत चितवनकै सञ्जित महतोले टेलिफोनमा जानकारी दिए।
इभास्टो नेपाल म्यानपावर कम्पनीमार्फत कतार पुगेका गौतममात्र उक्त दुर्घटनाको शिकार भएनन्। उनीसँगै बर्दियाका आशाराम थारुको पनि मृत्यु भयो। ठक्करमा घाइते भएका सञ्जितले भने, ‘सडकपेटीमा उभिएर कम्पनीको गाडी पर्खिरहेका बेला यसरी ठक्कर दियो। हेर्दाहेर्दै साथीहरूको मृत्यु भयो। नसोचेको दुर्घटना भयो।’ उनको टाउकोमा चोट लागेको छ र अस्पतालमा उपचार भइरहेको छ।
वैदेशिक रोजगारीमा गएर दुर्घटनामा ज्याने गुमाउने नेपाली थुप्रै छन्। थकनी–५, सिन्धुपाल्चोककी सुनमाया तामाङका श्रीमान् प्रदीप तामाङको गएको वैशाखमा मलेसियामा मृत्यु भएको थियो। ‘परिवारका लागि कमाउन भनेर गएका मेरा पतिको यति चाँडै मृत्यु हुन्छ भनेर कल्पनासम्म गरेकी थिइनँ,’ उनले भनिन्। प्रदीप ५५ हजार रुपैयाँ खर्चिएर मलेसिया पुगेका थिए। उनी फलामसम्बन्धी काम गर्ने कम्पनीमा काम गर्थे। उनको पोखरीमा डुबेर मृत्यु भएको थियो।
नवलपरासीकी महेश्वरी चौधरीको पीडा सुनमायाको भन्दा कम दर्दनाक छैन। पतिको घर फर्कने दिन नजिकिँदै जाँदा महेश्वरी र उनका दुई छोरीमा पीडाको वज्रपात पर्यो । वैदेशिक रोजगारीका लागि साउदी अरब गएका उनका श्रीमान् महेशकुमारको गत १६ मंसिरमा रोजगारीकै क्रममा मृत्यु भएको थियो। गाउँकै एजेन्टले भारतको मुम्बई भएर साउदी लैजाने भनेपछि महेशकुमार साउदी पुगेका थिए। अवैधानिक बाटोबाट साउदी पुगेका उनको पनि दुर्घटनामा मृत्यु भएको बताइयो।
वैदेशिक रोजगारीका लागि खाडीलगायत मुलुकमा पुगेका नेपाली श्रमिकहरूले दुर्घटनामा ज्यान गुमाउने क्रम बढिरहेको छ। कतिपय कामदारलाई त्यस्ता मुलुकमा जानाजान दुर्घटनामा पारिने गरेका छन् भने धेरैजसो ट्राफिक नियम नबुझेका कारण दुर्घटनामा पर्ने गरेका छन्। ‘तीन प्रकारका दुर्घटनामा नेपालीको ज्यान जाने गरेको पाइएको छ,’ वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी कार्यकारी निर्देशक गिरिजा शर्माले भनिन्, ‘ट्राफिक दुर्घटना व्यापक छ। काम गर्ने कारखानामा दुर्घटना हुने गरेका छन्।’
वैदेशिक रोजगारीमा जानुपूर्व त्यहाँको विषयमा राम्रो जानकारी राख्नुपर्ने अनिवार्यता नेपाली कामदारले नसोच्ने गरेका कारण पनि उनीहरू दुर्घटनाको शिकार बनिरहेको विश्लेषण वैदेशिक रोजगार सम्बन्धी संस्थाहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published.