सरकारसँगको वार्तामा तेस्रो दिन पनि कुनै सहमति भएन

काठमाडौं– सरकार र कमलरी संघर्ष समितिबीचको वार्ता बिहीबार पनि बिना निष्कर्ष सकिएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा जोशीको नेतृत्वमा तेस्रो दिन बसेको वार्ताले पनि कुनै टुंगो लगाउन नसकेको हो। संघर्ष समितिले मृतक परिवारलाई राहत तथा घाइतेलाई उपचार गराउनुपर्ने मागमा पुनः अडिग रेहपछि सहमति हुन नसकेको हो।
‘राहतको कुरामा उहाँहरुले फेरि पनि अर्थमन्त्रीसँग समन्वय गर्नुपर्ने भन्नुभयो,’ समितिका प्रवक्ता सन्तोष दहितले भने, ‘अरु बुँदामा सरकार सकारात्मक रहेकाले भोलिको वार्ताले सबै कुरामा सहमति हुने विश्वास छ।’
संघर्ष समितिले सिर्जना चौधरीको हत्यारा युवराज पौडेललाई पनि गिरफ्तार गरी कारबाही गर्नुपर्ने अडान कायमै राखेको छ। चर्को विवाद र समितिको अडानपछि बुधबार सकारले सिर्जना हत्यामा छानबिन समिति गठन गर्‍यो। करागार व्यवस्थापन विभागका महानिर्देशक शम्भुप्रसाद कोइरालाको संयोजकत्वमा बनेको समितिमा वरिष्ठ उपरीक्षक उत्तम कार्की र प्रहरी उपरीक्षक गणे ऐर छन्। समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्नेछ।
यसैबीच एमाओवादी पार्टी कार्यालयमा पार्टी प्रवक्ता अग्नि सापकोटासँग संघर्ष समितिले छलफल गरेको छ। कमलरीको मागबारेमा आफ्नो पार्टी प्रतिबद्ध रहेको प्रवक्ता सापकोटाले बताए। उनले विज्ञप्तीमार्फत् घाइते कमलरीको निशुल्क उपचार गरी धरपकडका जिम्मेवार प्रहरीमाथि कारबाही चलाउन सरकारसँग माग गरेका छन्। कमलरी आन्दोलनबारे उच्चस्तरीय राजनीतिक संयन्त्रमा कुरा राख्नेसमेत उनले बताए।
घाइते कमलरीलाई सहयोग
जापानमा रहेका नेपालीको संस्था ‘जन प्रगतिशील मञ्च जापान’ले आन्दोलनका क्रममा प्रहरीको कुटाइबाट घाइते भएका कमलरीलाई ५३ हजार ९ सय रुपियाँ सहयोग गरेको छ। नेकपा–माओवादी पार्टी कार्यालय बुद्धनगरमा मञ्चका प्रतिनिधि मोहन खत्रीले कमलरी संघर्ष समितिका फकला थारुलाई सो रकम प्रदान गरे। कार्यक्रममा नेकपा–माओवदीका प्रवक्ता पम्फा भुसालले पूर्वकमलरीको आन्दोलनामा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताइन्।
यसैबीच आजै सामुदायिक आत्म नर्भिर सेवा केन्द्रले खाद्यन्न सामग्री सहयोग गरेको छ। सो संस्थाले दुई बोरा चिउरा, कालो दाल एक बोरा, रातो दाल एक बोरा, दालमोट ८ प्याकेट र दस लिटर तेल सहयोग गरेको छ। एक अन्जान ब्यक्तिले पनि आज बिहानै तीन धार्नी आलु, एक किलो बोडी र एक किलो गोलभेला सहयोग गरेका थिए।Helps

Leave a Reply

Your email address will not be published.