थारू भाषासेवी तथा शिक्षाप्रेमी सगुनलाल

Sagunlalनिरञ्जन चौधरी- दाङ्ग जिल्ला सौडियार–९ बेलहरी गाँउमा बुबा आशाराम थारू र आमा गुइती थारूको न्यानो काखबाट कान्छा छोराको रुपमा सगुनलाल चौधरीको जन्म वि.सं. २००९ सालमा भएको थियो। उहाँ असल समाज सुधारक, शिक्षापे्रमी, प्रगतिशील विचारधाराका अत्यन्त लोकप्रिय समाजसेवी तथा थारूहरुको सबभन्दा पुरानो गोचाली पत्रिकाका सम्पादक र संस्थापक हुनुहुन्थ्यो।
सगुनलाल चौधरीको जीवन कथित उच्च जातिय राज्यको शोषण, दमन, विभेद, उत्पिडन, अन्याय र अत्याचारको भुमरीमा अल्झिएको समाजमा बित्यो। थारू भाषा, साहित्य, कला, संस्कृति लगायत समस्त थारू समुदायको विकास उत्थानका निम्ति समाजलाई शोषक सामन्तीको पञ्जाबाट मुक्त गराउन सदैव चिन्तित रहेका सगुनलाल चौधरी थारू समुदायको मुक्ति र स्व–अस्तित्वको लडाई लड्नका लागि आफ्ना सहयात्रीहरुका साथ २०२८ सालमा थारु भाषाको गोचाली नामक पहिलो पत्रिका प्रकाशन गरी कमैया प्रथा र मोहियानी हकको समस्या विषयमा जोड्दार आवाज उठाउँदै कमैयाहरुमाथि गरिएको शोषण दमनको पर्दाफास गर्नुभयो।

हरदम गरिब जनताहरुको पक्ष लिएर वास्तविक वकालत गर्ने क्रममा दाङका तत्कालीन सि.डि.ओ. गाउँमा आएर किसानहरुमाथि कुटपिट गरेको थियो। जसको फलस्वरुप आन्दोलनको रुप झन चर्क्यौ। गाउँले स्तरका शोषित, पीडित, बुद्धिजीवी, वकिलहरु उहाँको पक्षमा समर्थन गरे भने अर्को तर्फ जाली फटहा, भ्रष्ट, प्रशासकहरु नकारात्मक दृष्टिले हेर्न थाले। तर गोचाली पत्रिका बाधा अडचनका बाबजुद पनि निरन्तर पाईला चल्दै गयौ। सामन्ती राज्य सत्ताले गोचाली पत्रिका जफत गर्योा। उहाँलाई राजद्रोहीको आरोपमा धनगढी जेलमा एक वर्षको कारावासमा बस्नु परेको थियो। एकजना उहाँका सहयात्रीलाई सर्बोच्च अदालतबाट रु.५ जरीवाना गरेर छाडेको थियो।
सगुनलाल चौधरीको प्रारम्भिक शिक्षा दाङ्गको सौडियार मा.वि. मा भएको थियो। उहाँको तीक्ष्ण बुद्धि भएकोले अप–गे्रडिङ्ग गर्दै कक्षा १ बाट ३, ३ बाट ६, ६ बाट ८ अपग्रेड हुँदै नियमित रुपमा प्रवेशिका (क्ीऋ) २०२५ सालमा उत्तीर्ण गर्नुभयो। त्यसै विद्यालयमा उहाँ अध्यापन गर्नु भयो। उता क्याम्पसमा भर्ना भई अध्ययन पनि गर्नु हुन्थ्यो। विद्यार्थीहरुको नेतृत्व गर्दै अ.न.रा.स्व.वि.यू.को जिल्ला अध्यक्ष समेत बन्नु भयो। त्यसबेला उहाँ वारेन्टेड भई अध्ययन कार्यमा बाधा पर्यो। आई.ए. प्रथम वर्ष उर्तिण भई दोस्रो वर्ष छोडनु पर्यो। त्यहि क्रममा उहाँका परिवार बसाई सराई गरेर बर्दियाको धधवार–८ काला बेलभार फाँटामा बस्ती सर्योर। सरकारले उक्त बस्तीमा आगो लगाई कुटपिट गर्न थाल्यो। फेरी बस्ती बस्यो तर सरकारले सेना प्रहरी लगाई हटायो। उहाँका दाजु एक बर्ष जेल पर्नु भयो। उहाँको परिवार धधवार–९ सेमरहवामा आएर ऐलानी जग्गामा बस्यो।
गोचाली पत्रिका प्रकाशन गरेको आरोपमा उहाँ जब धनगढी जेलबाट छुटेर आउनु भयो। त्यसपछि पुनः उहाँ पढाउने काममा लाग्नु भयो। बैदा गाउँको ठुलो सिमलको छेउमा सानो छाप्रो बनाई स्कुल सञ्चालन गरियो। त्यस वेला नेपाल राष्ट्रिय जनसेवा प्राइमरी स्कुलको स्थापना गर्नु भयो। त्यहाँ वरीपरीका गाउँका विद्यार्थीहरु अध्ययन गर्न आउथे। २०३३ सालमा उहाँ सिउनियाँ स्कुलको प्र.अ. हुनु भयो। त्यहि वर्ष उहाँले बनारसबाट इन्टरमिडियट परिक्षा पास गर्नुभयो। उहाँलाई नि.मा.वि. पाताभार बर्दियाको प्र.अ.मा पठाइयो। त्यसपछि सरुवा भई जनसेवा उ.मा.वि.बैदि र अँशुवर्मा उ.मा.वि. मगरागाडिमा अध्यापन गर्नु भयो। जनसेवा नि.मा.वि.लाई मा.वि. बनाउने प्रमुख भुमिका उहाँको थियो।
पेशागत हकहितका निम्ती शिक्षक संगठनको प्रादुर्भाव भयो। त्यसमा पनि उहाँ संस्थापक सदस्य हुनुहुन्थ्यो। त्यसैगरि रेडक्रस वर्दियाको आजिवन सदस्य हुनुहुन्थ्यो। निडर स्वभावका सगुनलाल चौधरी शिक्षक आन्दोलन २०४२ सालमा राजद्रोहीको आरोपमा पुनः जेल पर्नु भयो। निरंकुश पञ्चायति व्यवस्थाको विरुद्धमा वहाँ डटेर लाग्नु हुनुहुन्थ्यो। उहाँलाई सरकारले विशेष निगरानी साथ हेर्ने गर्थ्यो।
वहाँको परिवार एक श्रीमति चार छोरा र एक छोरी समेतलाई कष्टप्रद जिवन जिउनु पर्यो। उचित लालन पालन स्वास्थ्य शिक्षामा समेत असर पर्थ्यो। प्रायजसो राती प्रहरीद्धारा वहाँको घर घेरिएको हुन्थ्यों। जसले गर्दा परिवारलाई मानसिक तनाव हुन्थ्यो। कहिलेकाही त घरको चुलोमा आगो समेत बल्दैनथ्यो। सगुन लाल चौधरी एक उत्कृष्ट शिक्षक हुनुहुन्थ्यो वहाँलाई जिल्ला शिक्षा कार्यालय वर्दियाले नगद रु. एक हजार र प्रमाण पत्रद्धारा सम्मानित गरेको थियो। वहाँको साहित्य क्षेत्रमा समेत योगदान थियो। काठमाण्डौंमा वहाँलाई कवि युद्ध प्रसाद मिश्र पुरस्कारबाट नगद रु. पाँच हजार र प्रमाण पत्रद्धारा सम्मानित गरिएको थियो। त्यसैगरि वहाँको योगदानको कदर गर्दै काठमाण्डौंमा २०६७ मा नेपाल राष्टिय शिक्षक संगठनले नगद रु दश हजार र प्रमाण पत्रले सम्मान गरेको थियो। सो समारोहमा उहाँका छोरा मोति कुमार चौधरीले बुवाले देखाएको बाटो सत्य रहेकोले आज सत्यको जित भएको कुरा व्यक्त गर्नुभएको थियो। देशमा लोकतन्त्र प्राप्ती शहिदको रगतले आएको हो। शहिदको सपना साकार पार्नु पर्छ भन्ने वहाँको अभिव्यक्ति थियो।
२०५८ सालमा देशमा संकटकालको घोषणा भयो। तत्कालिन शाही नेपाली सेनाद्धारा निहत्था, निर्दोष जनतामाथि आतकंकारीको संज्ञा दिएर बाटोमा हिडिरहेका घरमा सुतिरहेका स्कुलमा पढिरहेका र पढाईरहेका नागरिकहरुलाई धमाधम मार्न थाल्यो। त्यसै क्रममा सगुनलाल चौधरीलाई पनि २०५८ साल पौष १२ गतेका दिन विद्यालयबाट पढाएर घर फर्किरहेको बेलामा साँझको चार बजे बाँके चिसापानी ब्यारेकका क्याप्टेन रमेश स्वाँरको नेतृत्वमा आएको टोलीले वहाँको आखाँमा कालो पट्टि बाँधी घिसार्दै गाडीमा हालेर लगेको थियो। वहाँले चलाउदै आएको बिस वर्ष देखिको पुरानो साईकल बाटाको छेउमा बैदा गाँउको ठूलो सिमल नजिक फालिएको थियो। वहाँलाई लगिएको खवर सुन्नासाथ वहाँका परिवारजनहरु खोजी गर्न थाले। एक साता पछि वहाँका छोरा कृष्ण कुमार चौधरी (माईला छोरा )लाई घरबाटै समातेर लग्यो। जुन ठाँउ बुवा सगुनलाल चौधरीलाई राखिएको थियो। जहाँ यमराजका दुतहरु जस्ता रहेका हात हतियारले तैनाथ शाही नेपाली सेना थिए। चरम यातना पछि केहि दिनमै छोरा कृष्णलाई छोडेपछि बुवा सगुन लाल चौधरीसंग भेटेको कुरा सव परिवारले थाहा पायो।
घर फर्किने बेला बुवालाई कृष्ण कुमार चौधरीले आफुसंग भएका एक सय रुपैया दिएर फर्केका थिए। कुनै दिन अवश्य छोडने छ भन्ने आशामा परिवारजनले धैर्य धारण गर्यो। मानवअधिकारवादी संघ संस्था, राजनैतिक दल, आईसि आरसी समक्ष हार गुहार गर्यौ। संयुक्त राष्ट संघीय मानव अधिकार उच्च आयुक्त लुईस आर्वर समक्ष पत्ता लगाई दिन हार्दिक आग्रह गर्यो। तर आज बाह्र वर्ष भई सक्दा पनि वहाँ वेपत्ता नै हुनुहुन्छ।

2 thoughts on “थारू भाषासेवी तथा शिक्षाप्रेमी सगुनलाल

  1. सगुनलाल थारु जस्तो भाषासेवी , शिक्षाप्रेमी र समाज सेवी नेताको हाम्रो समाज मा थारु उत्थान को लागि अतिनै आवश्यक भएको हुनाले बेपत्ता पारीयका सगुनलाल छिट्टै घर फर्कियोस भन्ने भगवान सँग प्रथाना र वहाँको दिर्घ आयु को कामना समेत गर्दछु ।

  2. सलाम छ सगुनलाल सर
    तपाईको पाईलालाई समुदायले पछ्याईराख्नेछ ।

Leave a Reply

Your email address will not be published.