सुदूरपश्चिममा राजनीतिक चर्चा

dil bdr chaudharyदिलबहादुर चौधरी- यतिबेला नेपालको राजनीतिक बृत्तमा संविधान सभाको चुनाव हुने र नहुनेबारे ब्यापक चर्चा भइरहेको छ। यसबाट नेपालको कुनै पनि भूभाग अछुतो छैन। पश्चिम तराई अलग हुने कुरै भएन। त्यसमा पनि सुदूरपश्चिमको तराई झन अखण्ड सुदूरपश्चिमर थरुहट/थारुवान पक्षधरबीच भएको प्रादेशिक बहस र विवादले उत्पन्न भएको अशोभनीय ब्यवहारको सम्झनाले अहिले पनि धेरैको मानसपटललाई रिंगाउन पुग्छ। एकातिर समय समयमा धेरैको मनमष्तिष्कमा संविधान सभा हत्याअगाडि (२०६९ जेठ १४ अगाडि)को अखण्ड सुदूरपश्चिम र थरुहट/थारुवान पक्षधरबीच भएको अशोभनीय ब्यवहारको झझल्को आउने गर्छ भने अर्कोतिर मंसिरमा हुने चुनाव र चुनावपछि हुने ठूलो दलको अन्दाज र कल्पना पनि हुने गरेको अवस्था छ। धेरैले यसबारे मष्तिष्क मन्थन पनि गरिरहेका छन्।
एकथरीले एनेकपा माओवादीबाट मोहन वैद्य किरण अलग्गिएर नेकपा–माओवादी भइसकेकाले माओवादीलाई चुनावमा गाह्रो हुने जिकिर गरिरहेका छन् भने अर्कोथरीले चुनावमा हरेक हतकण्डा अपनाउन एनेकपा माओवादी सिपालु भइसकेकाले उसलाई उछिन्न अब गाह्रो होला भनि अड्कल गरिरहेका छन्। त्यसैगरी एकथरीले नेकपा एमालेबाट अशोक राईहरु छुट्टिई संघीय समाजवादी दल खोलेकाले नेकपा एमालेलाई चुनावमा गाह्रो हुने बताइरहेका छन् भने अर्कोथरीको भनाइ छ- अबको चुनावमा नेकपा एमाले नै भारी दल सावित हुन्छ। नेपाली कांग्रेसका कोइराला र देउवा अलग पार्टी नबनाएकाले नेपाली कांग्रेस चुनावमा ठूलो पार्टी होला किभन्ने कतिपयको अनुमान छ। तर कतिपयको तर्क छ, संघीय संरचनाबारे नेपाली कांग्रेस हालसम्म पनि अष्पष्ट रहेकाले संविधान सभाको चुनावमा ऊ सफल हुन सक्तैन, किनकि आगामी चुनाव पनि संविधान सभाको हो र संविधान सभामा जाने दल संघीय संरचनाबारे स्पष्ट हुनैपर्छ, जनतालाई संरचनाबारे स्पष्ट विचार चाहिन्छ, आदि।
एकातिर जनमानसबीचमा त्यो चर्चा चलिरहेको छ भने अर्कोतिर राजनीतिक दलहरु भित्रभित्रै डराए पनि बाहिर भने आफ्नो दल नै चुनावमा ठूलो दल हुने हुँकार गरिरहेका छन्। यिनै चर्चाका बीचमा ‘शान्ति र लोकतन्त्रका लागि नागरिक समाज कैलाली’का सचिव एवं अधिवक्ता गम्भिर सिंह ऐर अनुमान गर्दै भन्छन्, ‘अहिले चुनाव भैहाल्यो भने नेपाली कांग्रेस ठूलो दल हुन सक्छ, किनकि एमाओवादी आफैंमा फुटेको अवस्था छ भने एमालेबाट पनि धेरै कार्यकर्ता संघीय समाजवादी पार्टीमा चोइटिएर गएको अवस्था छ।’ यस सम्बन्धमा थारु कल्याणकारिणी सभा कैलालीका सभापति प्रभातकुमार चौधरी भन्छन्, ‘ती सब बेकारका चर्चा हुन्, मलाई लाग्छ, अहिलेकै परिस्थितिमा मंसिरमा चुनाव नै हुँदैन, भैहाल्यो भने तराईमा साना दलहरु पनि केही सिट ल्याइ नै हाल्छन्, त्यसो भयो भने एनेकपा माओवादी ठूलो दल हुन सक्छ, नेपाली कांग्रेस र एमाले ठूलो दल हुन सम्भव छैन, आफ्नो दल ठूलो हुने कुरा त सबैले गर्छन् नि!’
यसरी बजारमा हुने राजनीतिक चर्चाबारे जसले जे भने पनि वास्तविकता के हो भने नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम, संघीय समाजवादी दल, थरुहट तराई पार्टी आदि धेरै दलहरु बाहिर बसेको अवस्थामा चुनाव सम्भव देखिन्न। यदि धेरैको सहभागिता बिना चुनाव सम्पन्न गरिन्छ भने त्यसले देशलाई निकास दिनुको साटो केही न केही समस्या थप्छ नै। दोस्रो कुरा, अबको दिनमा ठूलो दलको? भन्ने कुराको अनुमान अहिले नै लगाउन गाह्रो छ। परिस्थिति फेरिएको छ, पहिलेका निमुखाहरु अहिले परिस्थितिबारे मुख खोल्न थालिसकेका छन्। एक पक्ष आफ्नो पुरानो एकलौटि शासन सत्तालाई बरकरार राख्नथ उद्यत छ भने अर्को पक्षएकलौटि शासन सत्ताको ठाउँमा समावेशी शासन सत्तालाई राख्न दरोरुपमा उभिन थालेको छ। त्यसैले होला, जिल्ला सदरमुकाममा हुने प्रायजसो गोष्ठी, अन्तर्क्रिया, छलफलमा खुलेर बहस हुन्छ। संविधान सभा, राज्यको पुनर्संरचना सम्बन्धमा हुने कुनै पनि कार्यक्रममा यदि अखण्ड सुदूरपश्चिम पक्षधर र थरुहट/थारुवान पक्षधर उपस्थित भए भने बेझिझक बहस सुरु हुन्छ, एक पक्षमात्रै छ भने मात्रै चूपचाप कार्यक्रम सकिन्छ, यो सुदूरपश्चिमको यथार्थ हो। यस्तो अवस्थामा ठूलो दल को हुने? अनुमान लगाउन सजिलो छैन। पहिलो संविधान सभाताका देशमा अखण्ड नेपाल पार्टी, अखण्ड सुदूरपश्चिम पार्टी थिएन र देशका ठूला दलका नेता र कार्यकर्ता अखण्डको पक्षमा निर्धक्क रुपमा आवाज बुलन्द गर्थे। तर अहिले पार्टी दर्ता भएको छ। ठूला दलका कतिपय नेता र कार्यकर्ताहरु भित्रभित्रै अखण्डतिर लाग्ने र सहयोग गर्ने मनसाय बनाएका भए पनि त्यो त्यति सफलीभूत हुने देखिँदैन, किनकि त्यसो गरियो भने ठूला दल साना दलमा रुपान्तरण हुन बेर लाग्दैन, यदि सहयोग र समर्थन गरिएन भने अखण्ड नेपाल पार्टी र अखण्ड सुदूरपश्चिम पार्टी पनि संकटमा पर्न सक्छ।
देशको ठूलो हिस्सा ओगटेका आदिवासी जनजाति, मधेसी, अनि तराईका मुश्लिम र दलितको अहिलेको बुझाई के छ? उनीहरु कतातिर ढल्किन्छन्? ठूलो दलको हुने भन्ने कुरा त्यसमा पनि भर पर्नेछ। उनीहरु कुन दललाई कसरी बुझेका छन्? कुन दलले उनीहरुको पीडामा मलहम लगाउने प्रयास गर्योस? र गरिरहेको छ? यो कुराको मूल्यांकन उनीहरुले पनि गरिरहेका होलान्। उनीहरु आँखाखोली हेरिरहेका होलान्, समय आयो भने सही जवाफ देलान्। त्यसैले कुन दललाई सानो वा ठूलो बनाउने जिम्मा उनीहरुमै छोडदिउँ। जहाँसम्म मूल्यांकनको कुरा छ, त्यो पनि त्यति सजिलो छैन। नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, मधेसी जनअधिकार फोरम, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), संघीय समाजवादी दल, थरुहट तराई पार्टी आदि वा चुनावमा आयो भने नेकपा–माओवादी पार्टी, कसलाई मतदान गर्ने? निर्णय गर्न गाह्रो होला। सही निर्णय लिन नसकिएको खण्डमा सोचेजस्तो परिणाम नआउन सक्छ। सानो दल समकक्षमा पुग्न बेर नहोला, ठूलो दल वर्तमानभन्दा तल नआउला भन्न सकिँदैन।
अन्तमा के मात्रै भनौं भने अहिले देशमा केही न केही परिवर्तन आएको छ। मान्छेमा चेतनास्तर बढेको छ। यो अवस्थामा यथास्थितिमै चुनाव गराउन गाह्रो होला। परिणाममुखी चुनावको लागि असन्तुष्ट पक्षको सहमति जरुरी हुन्छ। ठूलो दलको हुने अड्कलबाजी लगाउनु गलत होइन, तर अहिले नै ठोकुवा भन्नु सही होइन। बहस गर्नु गलत होइन, झगडा गर्नु राम्रो होइन। जनताले सही समयमा सही निर्णय गर्नु र सही जवाफ दिनु गलत होइन, तर गुमराहमा बस्नु वा आफ्नो इच्छाविपरीत कार्य गर्नु समस्याको निकास होइन।

इन्सेक धनगढीको कार्यक्रम अधिकृत

Leave a Reply

Your email address will not be published.