विपक्षी नौ दलको बिराटनगरमा विरोध र्‍याली

विराटनगर- विपक्षी दलको संयुक्त आह्वानमा सुरु भएको विरोध कार्यक्रमअनुसार नेपाली कांग्रेस सुनसरीको अगुवाइमा इनरुवामा बृहत् र्‍याली र कोणसभा सम्पन्न गरेको छ। लोकतन्त्रको संस्थागत विकास गर्न र वर्तमान सरकारलाई सत्ताबाट बाहिर ल्याई राष्ट्रिय सहमतिको सरकार बनाउने उद्देश्यले नेपाली कांग्रेस पार्टी कार्यालयबाट निस्किएको र्‍याली नगरका विभिन्न भागको परिक्रमा गरी बजारमा कोणसभामा परिणत भएको थियो।

पत्रकार डेकेन्द्र थापालाई हत्या गर्नेलाई कारबाही हुनुपर्ने, प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने, प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेजस्ता नारा र्‍यालीमा सहभागीहरूले लगाएका थिए। कोणसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् अनुशासन विभागका प्रमुख आमोदप्रसाद उपाध्यायले प्रजातन्त्रका लागि ठूल्ठूला लडाइँ लडिसकेका नेपाली जनता लोकतन्त्रका निमित्त लड्ने भन्दै पूर्वराजा ज्ञानेन्द्रले लोकतन्त्रको अपहरण गरेजस्तै वर्तमान सरकारले पनि लोकतन्त्रलाई धराशायी बनाउन लागेको आरोप लगाए।
नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाको सभापतित्वमा भएको सो कार्यक्रममा नेकपा (एमाले) सुनसरीका अध्यक्ष रेवती भण्डारी र राप्रपा सुनसरीका अध्यक्ष रोहित कार्कीले पनि वर्तमान सरकार लोकतन्त्र र राष्ट्रिय सहमतिको बाधक हुन् भनेका थिए।
आन्दोलन पहिलो चरणमा नै व्यापक सहभागिता रहेको थियो। सहभागीहरूले सरकारको कडा अलोचना गर्दै थिए। रासस

Leave a Reply

Your email address will not be published.