खुर्सिद दिनभरि भेटघाटमा ब्यस्त, भारतले ७ सय ६४ वटा गाडी दिने

khursidकाठमाडौं- भारत सरकारले आगामी संविधान सभा निर्वाचनका लागि ७६४ वटा सवारी साधन उपलब्ध गराउन सहमति जनाएको छ। अन्तरिम निर्वाचन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र भारतीय विदेशमन्त्री सलमान खुर्सिदको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा आयोग र मन्त्रालयलाई सवारी साधन प्रदान गर्नेसम्बन्धी दुई बेग्लाबेग्लै सम्झौतामा हस्ताक्षर भयो।
आयोगलाई ४८ र मन्त्रालयलाई ७१६ वटा बाहन उपलब्ध गराउनेसम्बन्धी दुवै सम्झौतापत्रमा अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले हस्ताक्षर गरे। सोही समारोहमा उहाँहरूले ती सम्झौतापत्र आदानप्रदान पनि गरे।
मन्त्रिपरिषद् अध्यक्ष र भारतीय विदेशमन्त्रीबीच भेट
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग भारतीय विदेशमन्त्री सलमान खुर्सिदले आज प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरे। भारतीय विदेशमन्त्री खुर्सिद आजै बिहान नेपाल आइपुगेका हुन्। सो अवसरमा विदेशमन्त्री खुर्सिदले नेपालमा निर्वाचन मिति घोषणा भएकामा खुसी व्यक्त गर्दै निर्वाचन सफल पार्न भारत जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको भेटपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले पत्रकारलाई जानकारी गराए। उनले नेपालको लोकतन्त्र, शान्ति प्रक्रिया, राजनीतिक स्थायित्व र समृद्धिका लागि भारतको पूर्ण रूपमा समर्थन र सहयोग रहने दोहोर्याकए।
भेटका अवसरमा नेपालको जलस्रोत र व्यापार प्रवर्द्धनका साथै पारस्परिक हित र द्विपक्षीय चासोका बारेमा छलफल भएको थियो। सो अवसरमा भारतले निर्वाचनका लागि ७६४ वटा विभिन्न प्रकारका सवारी साधन सहयोग गर्नेबारेमा सहमतिपत्रमा हस्ताक्षर भएको प्रवक्ता थापाले बताए।
नेपाल–भारत मन्त्रिस्तरीय वार्ता सम्पन्न
नेपाल र भारतका उच्च सरकारी अधिकारीहरू दुवै मुलुकबीच विद्यमान समस्या छलफल र वार्ताको माध्यमबाट समाधान गर्न सहमत भएका छन्। दुवै मुलुकका विदेशमन्त्रीको नेतृत्वमा आज यहाँ सम्पन्न उच्च पदस्थ सरकारी अधिकारीहरू सम्मिलित द्विपक्षीय वार्तामा डुबान, व्यापार, वाणिज्यलगायत क्षेत्रका समस्या निराकरण गर्ने सहमति भएको हो।
सौहार्द्रपूर्ण वातावरणमा भएको वार्तामा पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श भएको जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले शान्ति तथा प्रजातान्त्रिक प्रक्रिया र आसन्न संविधानसभाको निर्वाचनबारे छलफल भएको बताए।
“व्यापार सहजीकरण, प्रयोगशाला परीक्षण, जलस्रोत, प्रत्यर्पण सन्धि, अतिरिक्त भन्सार महसुललगायत सबै विषयमा कुरा भयो,” उनले भने। नेपालमा उत्पादित सामग्रीमा भारतले लगाउँदै आएको अतिरिक्त भन्सार महसुलको प्रावधान अन्त्य गर्ने तथा निर्यात प्रवर्द्धनका सबै बाधा हटाउन दुवै मुलुकका वाणिज्य सचिव नेतृत्वको संयुक्त समितिले आवश्यक कार्य गर्ने सहमति भएको जानकारी पनि प्रवक्ता थापाले दिए।
भारतीय सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुदृढीकरण गर्ने प्रस्ताव अदालतमा विचाराधीन रहेकाले थप टिप्पणी गर्न अस्वीकार गर्दै उनले नेपाल र भारतले आ–आफ्ना भूमिमा अध्यागमन कार्यालय स्थापना गर्न चाहेको स्पष्ट गरे।
गत महिना यहाँ सम्पन्न नेपाल–भारत गृहसचिवस्तरीय बैठकमा सीमा क्षेत्रमा अध्यागमन कार्यालय खोल्न भएको सहमतिबारे थप प्रष्ट्याउँदै प्रवक्ता थापाले भने।
काभ्रेको पनौतीमा नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने विषयमा सामान्य छलफल भएको जानकारी दिँदै दुवै देशले त्यससम्बन्धी कानुनी प्रक्रिया पूरा गरी नसकेकाले त्यसले औपचारिकता नपाएको बताए।
सद्‍भावना भ्रमणमा आज बिहान यहाँ आउनुभएका भारतीय विदेशमन्त्रीको सम्मानमा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले दिवाभोजको आयोजना गर्नुभएको थियो।
राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको भेट
राष्ट्रपति रामवरण यादवसँग भारतका विदेशमन्त्री सलमान खुर्सिदले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरे। सो अवसरमा उनीहरूबीच दुई देशको आपसी हितका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। भेटका अवसरमा नेपाल र भारतका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
एमाओवादी नेतृत्व र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
एकीकृत नेकपा (माओवादी)को शीर्ष नेतृत्व र भारतीय विदेशमन्त्री सलमान खुर्सिदबीच भेटवार्ता भएको छ। होटल द्वारिकामा आज दिउँसो २ बजे भएको भेटवार्तामा विदेशमन्त्री खुर्सिदले नेपालको लोकतन्त्र संस्थागत गर्न भारत सरकारको तर्फबाट हरप्रकारको सहयोग रहने बताए।
उनले नेपालको शान्ति र समृद्धिमा भारतको सदिक्षा रहेको भन्दै संविधानसभाको निर्वाचनमार्फत नेपाल नयाँ राजनीतिक दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेको एमाओवादीका विदेश विभाग प्रमुख राम कार्कीले बताए।
निर्वाचन प्रक्रियाको विरोधमा रहेको नेकपा–माओवादीले पनि वार्ता र सम्वादमार्फत समस्याको समाधान खोज्ने विषयमा लचक भएकामा खुसी व्यक्त गर्दै विदेशमन्त्री खुर्सिदले नेपालका सबै राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुनेमा भारत आशावादी रहेको बताएका विदेश विभाग प्रमुख कार्कीले जानकारी दिए।
नेपालको प्राथमिकतामा कसरी सहयोग गर्न सकिन्छ र त्यसका लागि भारत सरकार तयार रहेको भन्दै विदेशमन्त्री खुर्सिदले नेपालको स्थिरता, शान्ति र समृद्धि प्रमुख विषय भएको बताएका थिए।
नेपाल र नेपाली जनताको भावनालाई राम्ररी बुझेको विदेशमन्त्री भएकाले नेपाल–भारतबीचको सम्बन्ध आगामी दिनमा नयाँ ढङ्गले अगाडि बढ्ने विश्वास आफूहरुको तर्फबाट व्यक्त गरिएको विदेश विभाग प्रमुख कार्कीले उल्लेख गरे।
भेटवार्तामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, सङ्गठन विभाग प्रमुख कृष्णबहादुर महरा, नेताहरु वर्षमान पुन, राम कार्की र हिसिला यमी सहभागी थिए।
आधा घण्टा भएको भेटवार्तामा एमाओवादीका अध्यक्ष दाहालले केही समय पहिले गरेको भारत भ्रमणको विषयमा समेत चर्चा भएको विदेश विभाग प्रमुख कार्कीले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.