गुगललाई हाँसको चुनौती

DuckDuckGoगुगल ट्रेन्ड सेटर भइसक्यो। त्यसैले त यसलाई सर्च इन्जिन जायन्टका रूपमा चिनिन्छ। गुगल प्रोडक्ट या ब्रान्डमात्र नभएर एउटा प्रवृत्ति पनि भइसकेको छ। त्यसैले त केही कुरा खोज्नुपर्दा मानिसहरू ‘गुगल गर न’ भन्न थालेका छन्। अलि नाम चलेका मान्छेहरूले परिचय दिँदा ‘मेरो नाम गुगल गरेर हेर, सबै त्यहाँ पाउँछौ’ भनेर धाक लगाउन थालेका छन्। गुगल लोकप्रियताको शिखरमा पुगिसकेको छ। तर, अब ऊ शिखरमै बसिरहन सक्छ वा तल झर्ने क्रम सुरु हुने हो, जिज्ञासाको विषय बनेको छ। 
हामीकहाँ उति साह्रो वास्ता नगरिने प्राइभेसीको विषयलाई पश्चिमी देशमा गम्भीर मानिन्छ। त्यही प्राइभेसी हनन्को विषयले अहिले गुगललाई मार परिरहेको छ। अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सीले गरिरहेको ट्रयाकबारे खुलासा भएपछि प्रयोगकर्ता झनै बिच्किएका छन्। तर, अर्को गतिलो विकल्प नभएकाले उनीहरू गुगलकै प्रयोग गर्न बाध्य छन्। यसैलाई ध्यानमा राखी एउटा नयाँ सर्च इन्जिन सुरु भएको छ, ‘डक डक गो’। हाँसको लोगो भएको यो सर्च इन्जिनको नारा नै छ– ‘हामी तपाईंलाई ट्रयाक गर्दैनौँ।’ यसको मुख्य थिम ‘गुगलले तपाईंलाई पछ्याउँछ, हामी पछ्याउँदैनौ’ हो। बिस्तारै यो लोकप्रिय भइरहेको छ। मिडिया एटेन्सन पनि पाइरहेको छ। विश्वका प्रमुख मिडियाले ‘डक डक गो’लाई कभर गरिसकेका छन्।

गुगलसित तपाईंको सबै जानकारी
गुगलमा सबै जानकारी खोज्न सकिन्छ। तर, त्योसँगै तपाईंको बारेमा जानकारी खोज्ने हो भने पनि गुगलबाट सबै थाहा पाउन सकिन्छ। तपाईंको इमेल, तपाईंले कहिले, कुन मितिमा के–के सर्च गर्नुभयो, तपाईंको सम्पर्क ठेगानादेखि लिएर फोन नम्बरसम्म सबै जानकारी गुगलसित हुन्छ। यी सबै जानकारीलाई उसले स्टोर गरेर राख्छ र आवश्यक परेको खण्डमा अधिकारप्राप्त निकायलाई बुझाउँछ पनि। अमेरिकी सुरक्षा निकायले निगरानीमा राखिराखेको र गुगल प्रयोगकर्ता पनि त्यसमा रहेको खुलासा मिडियामा भएपछि प्रयोगकर्ता उपयुक्त विकल्पको खोजीमा लागेका हुन्। पछिल्लो समयमा ‘डक डक गो’को लोकप्रियता बढ्नुको कारण यही हो।

के हो ‘डक डक गो’?
यो विकिपेडिया वा त्यस्तै क्राउड सोर्स वेबसाइटहरूबाट पाइने जानकारी प्रयोग गर्ने इन्टरनेट सर्च इन्जिन हो। यसको नीतिमा प्राइभेसीको रक्षा गर्ने र प्रयोगकर्ताको जानकारीको अभिलेख नराखिने भनिएको छ। गुगलजस्तै यो पनि अमेरिकामै रहेको कम्पनी हो। यसको मुख्य कार्यालय पेन्सिलभानियाको पाओलीमा छ। ग्याब्रियल वेइनबर्गले सन् २००६ मा यस कम्पनीलाई खोलेका हुन्।
यो सर्च इन्जिनको डिजाइन पनि साधारण छ। एउटा हाँसको चित्र यसको लोगो हो।
खासमा वेइनबर्गले यो साइट एउटा राम्रो सर्च इन्जिन सुरु गर्ने उद्देश्यले थालेका थिए। स्लेट डट कमसितको अन्तरवार्तामा उनले आफ्नो ध्यान स्पाम घटाउनु र सर्चको रिजल्टमा असम्बन्धित साइटहरू देखिनबाट रोक्न केन्द्रित भएको बताएका थिए तर पछि उनले धेरै ठाउँबाट सर्च प्राइभेसीसम्बन्धी प्रश्नहरूको सामना गर्नुपर्‍यो। अनि उनले सर्च डेटा स्टोर नगर्ने निर्णय गरे।
गुगलले आफ्ना डेटा सरकारलाई बुझाउनेबारे पारदर्शी नीति सार्वजनिक गर्न सकेको छैन। वेइनबर्गका अनुसार यदि डेटा स्टोर गर्ने हो भने सरकारलाई त्यो नबुझाउन सम्भव नै हुँदैन। त्यसैले उनले त्यस्तो निर्णय गर्न पुगे। एउटा सर्च इन्जिनसित तपाईंको व्यक्तिगत सबै जानकारीमा पहुँच हुनुलाई उनी व्यक्तिगत रूपमा पनि राम्रो ठान्दैनन्।

कोप्रति लक्षित?
गुगल एउटा प्रवृत्ति भइसकेकाले यसको दबदबा कम गर्न सजिलो छैन। नेपालजस्तो देशमा त अझै धेरै वर्ष गुगलको विकल्प खोज्न आवश्यक मानिनेछैन। यस्तो अवस्थामा ‘डक डक गो’का लक्षित प्रयोगकर्ता को हुन् त? वेइनबर्ग यसमा स्पष्ट छन्। गुगलले औसत प्रयोगकर्तालाई लक्ष्य गरिरहेको र आफूहरू भने केही गम्भीर प्रयोगकर्ताप्रति लक्षित भएको उनले बताए। आफ्नो प्राइभेसीको रक्षा गर्न चाहने, आफूले के गरिरहेको छु भनेर थाहा पाएका गम्भीर व्यक्तिहरू आफ्ना प्रयोगकर्ता हुने उनको विश्वास छ।

तपाईं पनि नयाँ सर्च इन्जिनतिर लाग्ने हो भने लग अन गर्नुस्– डक डक गो डट कम। अथवा, थप जानकारीका लागि डक डक गो गुगल गर्नुस्।

Leave a Reply

Your email address will not be published.