थारु संस्कृतिको संरक्षणबारे सरोकारवालासँग छलफल

दाङ- थारु संस्कृति संरक्षणबारे थारु समुदायका प्रतिनिधि र दाङ जिल्लाका सरोकारवालाबीच घोराहीमा अन्तरक्रिया भएको छ। नवि स्रोत परिचालन केन्द्रद्वारा सञ्चालित सांस्कृतिक मूल्य मान्यताको प्रबर्द्धनद्वारा थारु समुदायको सशक्तीकरण परियोजनाअन्तर्गत सो कार्यक्रमको आयोजना गरिएको थियो। उपस्थित सहभागीले सरकारी कार्यालयका अधिकारीसंग सवाल जवाफ गरेका थिए।
सहभागीको प्रश्नको जवाफ दिँदै प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले थारु समुदायको सामूहिक संस्कार र नाचगानका क्रममा सुरक्षा माग भए त्यसका लागि आफू प्रतिबद्ध रहेको बताए। सरकारी कर्मचारीले बनेका कानुन कार्यान्वयमात्र गर्न सक्ने जनाउदै उनले थारु संस्कृति आफूलाई मन पर्ने बताए। उनले नीतिगत रुपमा व्यबस्था नभएका कुरामा आफूहरुले केही गर्न नसक्ने बताए।
त्यस्तै बिष्णुप्रसाद पोख्रेलले स्थानीय निकायको निर्णय प्रक्रियामा थारु समुदायको परम्परागत संगठन मटाँवालाई पनि सहभागी गराउनेबारे थप छलफल आवश्यक रहेको बताए। दाङलाई चिनाउने माध्यम थारु संस्कृति रहेको बताउँदै उनले मटाँवाहरुलाई स्थानीय तहका निर्णय गर्ने संरचनामा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिए।

जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले विद्यालयमा थारु भाषामा पठनपाठन गराउन सम्भव रहेको बताउँदै दाङमा भने अहिलेसम्म थारु भाषाको पाठ्यपुस्तक लागू नभएकोमा गुनासो पोखे। उनले पाठ्यपुस्तकको विषयवस्तु थारु मातृभाषी बालबालिकालाई उनीहरुकै भाषामा बुझाउन नसक्ने शिक्षकहरु अन्यत्र सरुवा हुनुपर्ने बताए। विद्यालय व्यबस्थापन समितिले पनि शिक्षक छनोट गर्दा भाषागत आवश्यक्ता हेरेर गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा थारु समुदायको मटाँवा प्रणालीबारेमा थारु अगुवा अशोक चौधरीले र मातृभाषामा शिक्षाको आवश्यक्ता र अवस्थाबारे शिक्षक पतिराम चौधरीले बताएका थिए। आयोजक संस्थाका कार्यक्रम संयोजक शालिकराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार माधव चौधरीले गरेका थिए। कार्यक्रममा मटाँवा, युवा, महिला समूहका प्रतिनिधि, पत्रकारलगायत करिब ४५ जनाको सहभागिता थियो।

सो कार्यक्रममा भएको छलफल शुक्रबार र शनिबार बिहान ७ बजे रेडियो गणतन्त्र राप्ति एफएमबाट प्रशारण गरिनेछ।

Leave a Reply

Your email address will not be published.