को बन्ला लोकप्रिय?

NSJF Popular Players announceविनोद पाण्डे- ‘अवार्डको मनोनयनमा पर्नु नै जित्नु हो, अवार्ड पाउनु चाहिँ बोनस हो,’ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासको यो भनाइ स्पोर्ट्स अवार्डमा निकै लोकप्रिय छ। वर्तमान कप्तान पारस खड्काले पूर्वकप्तान विनोदकै अनुसरण गरे। २०६९ सालको पल्सर स्पोर्ट्स लोकप्रिय अवार्ड विधामा मनोनयनमा परेपछि पारसले भने, ‘यो अवार्डले नेपाली खेलाडीको सम्मान गरिरहेको छ। म नेपाली खेलप्रेमीसँग खेलाडीहरूलाई भोट गर्नुस् भनेर अपिल गर्छु। मलाई नै गर्नुपर्छ भन्ने छैन।’

पारससँगै फुटबलका जगजीत श्रेष्ठ, एथ्लेटिक्सकी केशरी चौधरी, पौडीका शिरीष गुरुङ र उसुकी झरना गुरुङ मनोनयनमा परेका छन्। एक महिनासम्म फेसबुक लाइक र एसएमएस भोटिङ गरेपछि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले असार १७ गते अन्य सात विधासँगै विजेताको घोषणा गर्नेछ। मञ्चले २०५३ सालदेखि खेलाडीहरूलाई अवार्ड प्रदान गर्दै आएको छ। २०६० सालयता अवार्ड निरन्तर हुँदै आएको छ। लोकप्रिय विधा प्रशंसकको रोजाइको विधा मानिन्छ।

लोकप्रिय विधा राखिएको यो लगातार छैटौँ पटक हो। यसअघि तीन पटक भलिबल र दुई पटक फुटबलले यस विधामा बाजी मारेको छ। यस पटक कसको पालो? अनुमान गर्न निकै कठिन विधा भएकाले यसको उत्तर खोज्न झन्डै एक महिना कुर्नैपर्ने स्थिति छ। पारसले यस पटक भलिबल र फुटबलको प्रभुत्वलाई तोड्लान? जगजीतले फुटबलबाट ह्याटि्रक गर्लान्? झरनाले पोखराको खेल संस्कारलाई कायम राखलिन्? वा अन्य।

फुटबलर अनिल गुरुङ सम्भवतः पोखराका सबैभन्दा लोकप्रिय खेलाडी होलान्। मनोनयनमा परेर पनि लोकप्रिय खेलाडीको पुरस्कार नजित्ने उनी पोखराका पहिलो खेलाडी हुन्। उनी लोकप्रिय विधाको पहिलो संस्करणमा फुटबलका जुमानु राईको पछाडी परे। त्यसयता पोखराका मञ्जु गुरुङ र सिपोरा गुरुङ लोकप्रिय खेलाडी बने। दुवै भलिबलकी हुन्। गत वर्ष काठमाडौँकी रमिला तन्डुकार लोकप्रिय खेलाडीको भोटिङमा अगाडि रहेपछि भलिबलले ह्याटि्रक गर्‍यो। फुटबलबाट लोकप्रिय खेलाडीको पुरस्कार पाउने अर्का खेलाडी सन्तोष साहुखल हुन्।

क्रिकेट हरेक वर्ष यसमा मनोनयनमा पर्दै आएको छ। शक्ति गौचन गत वर्ष रमिला र भरत खवासका अगाडि तेस्रो हुनु लोकप्रिय विधामा क्रिकेटको सबैभन्दा ठूलो सफलता हो। त्यसैले यस पटक नेपाली राष्ट्रिय टोलीका कप्तान पारसलाई सजिलो नहुने धेरैको बुझाइ छ। वर्षभरि पाएको सफलतासँगै मिडियामा छाइरहेका खेलाडीहरू लोकप्रिय विधामा मनोनयनमा पर्नुका आधार हुन्। तीन वर्ष अगाडि नेपाललाई डिभिजन ४ को उपाधि दिलाउँदा पारस स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट खेलाडीमा चुनिएका थिए। त्यसअघि युवा विधा हत्याउने क्रममा पारस युवा, लोकप्रिय र उत्कृष्ट गरि तीन विधामा मनोनयनमा परेका थिए।

पारसको कप्तानीमा नेपालले मलेसियामा विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि जितेको थियो। एसिसी ट्रफी इलिटमा आयोजक युएईसँगै नेपाल संयुक्त विजेता बन्यो। युएईसँगको फाइनल खेल ‘टाइ’ भएपछि नवौँ प्रयासमा नेपाल पहिलो पटक विजेता बन्न सक्यो। घरेलु भुमिमा भएको एसिसी ट्वान्टी–२० कपमा नेपाललाई फाइनलसम्म डोर्‍याए। एसिसी ट्रफी र एसिसी ट्वान्टी–२० मा पारस म्यान अफ द सिरिजमा चुनिए। एसिसी ट्रफीमा २ सय ९१ रन बनाउनुका साथै ९ विकेट र एसिसी ट्वान्टी–२० मा २ सय ७ रन बनाइ ४ विकेट लिएका थिए।

जगजीत मिडिया छाइरहने अर्का खेलाडी हुन्। उनको मैदान भित्र र बाहिरको हरेक क्रियाकलापले मिडिया तान्ने गरेको छ। गत वर्ष एनआइविएल फ्रेन्ड्स क्लबलाई चौथो स्थान दिलाउँदा जगजीतले ४ गोल गर्नुका साथै ३ मा पास उपलब्ध गराइदिएका थिए। त्यस बापत उनी उत्कृष्ट मिडफिल्डरमा चुनिएका थिए। सन् २०११ देखि राष्ट्रिय टोलीमा रहदै आएका जगजीतले एएफसी च्यालेन्ज कपमा मरियना आइल्यान्डविरुद्ध तीन पास निकालेका थिए। अन्तर्राष्ट्रिय फुटबलमा नेपालले लय समात्न नसकेको तर्फ इंगित गर्दै जगजीतले भने, ‘मेरो मनोनयनले फुटबलमा केही आशा देखाएको छ।’

सिरिश गुरुङ अझै १६औँ वर्षमा टेक्न बाँकी छ। वर्ष २०६९ मा उनले ३२ स्वर्ण जिते, त्यसमा ६ राष्ट्रिय कीर्तिमान छन्। १५ सय मिटर फ्रिस्टाइलमा उनले २८ वर्षे पुरानो कीर्तिमान भंग गरे। १७औँ राष्ट्रिय पौडीमा मात्र उनले १० स्वर्ण र १ कास्य पदक जितेका थिए। गत वर्ष पनि उनी युवा खेलाडीको मनोनयनमा परेका थिए।

पोखराकी झरना गुरुङ १८ वर्षपछि एसियाली स्तरमा उसुको पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। भियतनाममा सम्पन्न आठौँ एसियाली उसु च्याम्पियनसिपमा झरनाले कास्य पदक जितेकी थिइन्। ६५ केजी तौल समूहमा उनले कुनै खेल नखेली पदक गरेकी थिइन्। वरियताका आधारमा उनी सिधै सेमिफाइनल पुगेकी थिइन् र त्यो भन्दा माथि पुग्न सकिनन्। उनी केही समयअघि मात्र कास्की जिल्लाका वर्ष खेलाडीमा चुनिएकी थिइन्।

एक समय क्रिकेटकी राष्ट्रिय खेलाडी रहेकी केशरी चौधरीले हाइजम्प, लङजम्प, टि्रपलजम्प र १ सय मिटर हडल्समा गरी गत वर्ष चार राष्ट्रिय कीर्तिमान बनाइन्। ४ वर्षअघि स्पोटर्स् अवार्डमा युवा वर्षको खेलाडीमा चुनिसकेकी केशरीले ३८ औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा पहिलो प्रयासमै १ सय मिटर हडल्स जितेकी थिइन्।

Leave a Reply

Your email address will not be published.