कमलरीले जाँदाजाँदै भने, ‘फेरि सामल बोकेर राजधानी फर्कनु नपरोस्’

उपेन्द्र लामिछाने, काठमाडौं- तराईका छोरी–बुहारीमा कोसेली लाने–ल्याउने पुरानै परम्परा हो। उनीहरू सकभर रित्तो हात हुँदैनन्। धन्न, दुई साताअघि मुक्तिको माग राख्दै राजधानी आएका पूर्व कमलरी पनि रित्तो हात फर्कनु परेन। जेठ १४ गतेबाट राजधानीमा धर्ना कस्न आएका दाङ, बाँके, बर्दिया, कञ्चनपुर, कैलालीलगायत जिल्लाका ५ दर्जन कमलरी खुसी हुँदै घर फिरे।

दाङ, लालमटियाकी १२ वर्षीया सिर्जना चौधरीको २०६९ चैत १४ मा कमलरी बसेकै घरमा शंकास्पद मृत्यु भए पनि अनुसन्धानमा सरकारी चासो नभएको भन्दै उनीहरु दबाब दिन राजधानी छिरेका थिए।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा जोशीको नेतृत्वमा गत शुक्रबार राति भएको सात घन्टा लामो वार्तामा दुवै पक्षबीच कुरा मिलेको थियो।

चौधरीको हत्यामा संलग्न दाबी गरिएका युवराज पौडेल र शंकर अधिकारीलाई छानबिन समितिले अनुसन्धानको दायरामा ल्याएपछि आन्दोलित कमलरी शान्त भए र कमलरी प्रथा उन्मूलन संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम फिर्ता लियो।

योसँगै उनीहरु घर फर्कन थाले। ‘कोही शनिबारै गए,’ सुजाता चौधरीले भनिन्, ‘बाँकी आइतबार हिडेँ।’

अधिकारको लडाइँ लड्न सामलसहित राजधानी आएका उनीहरूको अनुहारमा घर जाँदै गर्दा विजयको चमक देखिन्थ्यो। तर, त्यो चमकका लागी कम्ती दुःख गरेनन् उनीहरुले।

जायज माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका उनीहरुलाई प्रारम्भमा सरकारले लाठी हानेर तर्साउने असफल प्रयास गर्‍यो। निहत्था नारीहरुको शरिरमा प्रहरीको बुट र लाठीको डाम सार्वजनिक भएपछि सरकारको आलोचना सुरु भयो। र बल्ल झुक्यो सिंहदरबार। बल्ल उनीहरुले कमलरीलाई सिंहदरबारभित्र बोलाए र उनीहरुको १० बुँदे मागमा सहिछाप लगाए।

‘हाम्रो खाली हात फर्कने चलन छैन,’ कैलालीकी सुजाता चौधरीले  भनिन्, ‘प्रारम्भमा सरकारले लाठीको पीडा दिए पनि हाम्रो माग सुनुवाइ भएकाले त्यो पीडा छोडेर खुसीको कोसेली बोकेर फर्कंदैछौं।’

‘पुलिसको लट्ठीले खुट्टा मर्केको छ,’ घर जाँदै गरेकी सुजाताले थपिन्, ‘सरकारसँग भएको सहमतिसँगै मनको पीडा भने हल्का भएको छ।’ उनले फिस्स हास्दै अब गाउँका दिदीबहिनीलाई आन्दोलनको कथा सुनाउने बताइन्।

शुक्रबारको सहमतिमा सिर्जनाको हत्या छानबिन गरिने, एक महिनाभित्र कमलरी मुक्तिको घोषणा गर्ने र कमलरी रहेकाहरुको तत्काल उद्धार गर्ने, छात्रवृत्ति वृद्धिका लागि निर्देशिका संशोधन प्रक्रिया सुरु गर्ने, कमलरीलाई परिचयपत्र वितरण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो।

यसअघि मुक्त कमलरीले मालिकको सानो घेराबाट मुक्त भए पनि राज्यको ठूलो घेरामा थुनिएको बताएका थिए। ‘अब सरकारबाटै न्याय पाउने आशामा घर फर्केका छौं,’ कैलालीकी कौशिला थारुले भनिन्, ‘हामीसँग गरेका सबै बाचा पूरा होस्, फेरि सामल बोकेर काठमाडौं भित्रनु नपरोस्।’

Leave a Reply

Your email address will not be published.