सुपरमार्केटमा सघाउने मोबाइल

कुनै पनि डिपार्टमेन्टल स्टोर या ग्रोसरीमा तपाईंलाई आफूले खोजेको सामान भेट्न कति समय लाग्छ? काठमाडौँका भाटभटेनी, सेलवेज, बिग मार्ट, सिजी मार्ट वा यस्तै अन्य खुद्रा पसलमा तपाईं खोजेको सामान सजिलै भेट्नुहुन्छ? धेरैले दिने जबाफ एउटै हो– ‘धेरै समय लगाएर खोज्नुपर्छ।’ तपाईं बारम्बार यस्ता स्टोरमा गइरहनुहुन्छ भने यो ठाउँमा यो पाइन्छ भन्ने जानकार हुनुहोला नत्र तपाईंले त्यहाँका सेल्स ब्वाई वा सेल्स गर्ललाई नसोधी सुखै छैन। तर, प्रविधिले अब तपाईंलाई खोजेको कुरा भेट्ने सुविधा दिन सक्छ। प्रविधि भनेर ठूलै कुरा हो भन्ने नठान्नुहोस्। तपाईंको हातमा भएको स्मार्टफोन त्यसका लागि पर्याप्त छ।
अमेरिकाको न्युयोर्कस्थिति एक क्लोदिङ स्टोरमा अहिले यस्तो प्रविधिको सुरुवात भइसक्यो। क्लोदिङ स्टोरमात्र होइन, खुद्रा बिक्रीमा सक्रिय रहेका पसलहरूले स्मार्टफोन एप्सबाट नै किनमेललाई सजिलो बनाउन थालेका छन्। मतलब अब तपाईंले रोजेको कुरा फेला पार्न सेल्स गर्ल वा ब्वाईलाई खोज्नुपर्दैन।
मोबाइल एप्सले नै पसलमा रहेको सामान ट्र्याक गर्छ र फेला पार्न सघाउँछ। यो एप्सले तपाईंलाई खोजेको वस्तुसम्मै पुर्‍याउँछ। पसलमा सामान खोज्ने समस्यामात्र होइन, प्रविधिले धेरै संख्यामा रहने जनशक्ति कटौती गर्छ र पसलको खर्च घटाउँछ।
एप्पलको आइफोनका लागि यो एप्स तयार गरिएको छ। सेल्स ब्वाई र गर्लले तपाईंलाई कहिलेकाहीँ नखोजेको कुराहरू पनि जानकारी गराएका हुन्छन्। जस्तो कि– ‘हेर्नुस्, तपाईंको रुचि भए फरक खाले यस्तो प्रडक्ट पनि आएको छ,’ ‘यो किन्दा यो फाइदा हुन्छ,’ ‘घरमा केटाकेटीले यस्तो कुरा खुबै रुचाउँछन्।’ यस्तै खाले कुराहरू तपाईंले सुन्नुभएकै होला। उनीहरूले तपाईंलाई राम्रैसँग गाइड पनि गरिरहेका हुन्छन्।
तर, यस्तै काम एप्सले गर्नथाल्यो भने तपाईंको समय वचत र रोज्ने अवसर पनि धेरै हुने अवस्था आउन सक्छ।
यो एप्सलाई सघाउन पसलमा पर्याप्त सेन्सर र ब्लुटुथ भने हुन आवश्यक छ। इन्टरनेटबाट तपाईंको मोबाइलमा एप्सले कनेक्ट त गराउँछ नै, त्यसलाई सघाउने काम गर्छ ब्लुटुथ र सेन्सरले। यिनले तपाईंको डिभाइसलाई तपाईंको चाहनाअनुसारको प्रडक्टसम्म पुग्न सघाउ पुर्‍याउँछन्। त्यसमाथि अहिलेका सुविधासम्पन्न सुपरमार्केट र सुपरस्टोरहरू वाइफाई इन्टरनेटयुक्त छँदै छन्। यसैको सहयोगमा तपाईंले रमाइलो गरी किनमेल गर्न सक्नुहुन्छ।
स्विरल, सप किक, सुडोजस्ता एप्सहरू एप्पलका लागि तयार भएका हुन्, जसले किनमेललाई भर्चुअल रूपमा सजिलो बनाएका छन्। त्यसैगरी एन्ड्रोइडका लागि पनि यी एप्स तयार हुने क्रममा छन्। अमेरिकामा गरिएको प्रारम्भिक परीक्षणले नतिजा पनि राम्रै दिएको छ।
अमेरिकामा सफल भएको यो प्रविधि नेपालमा कहिले आउला त? धेरैले सोध्ने प्रश्न हो। नेपाली कम्पनीहरूले अहिले एप्सका लागि यति ध्यान दिन थालेका छन् कि हामीले धेरै समय कुर्नपर्ने देखिँदैन। नेपालीहरू नै पनि एप्स निर्माणमा सक्रिय छन्। त्यसैले नेपाली सुपरमार्केट र स्टोरहरूमा यो प्रविधि आउन समय लाग्नेछैन। प्रविधिको विशेषता नै यही हो कि यसको ट्रान्सफर द्रुत गतिमा हुने गर्छ। अमेरिका होस् या अफ्रिका, प्रविधिको प्रभाव सबैतिर विद्युतीय गतिमा पुग्ने गर्छ।
मोबाइल एप्सबाट सामान खोज्नेसँगै यसअघि सुरु भइसकेको मोबाइल ब्यांकिङले पनि सघाउ पुर्‍याइहाल्छ। एउटै डिभाइसले सामान खोज्नेदेखि पैसा तिर्नेसम्मका काम पूरा गर्छ। नेपालमा मोबाइल ब्यांकिङका एप्सहरू तयार भइसकेका छन् र प्रयोगमा आइसकेका छन्। यसमा अब किनमेल गर्न सकिने सुविधामात्रै थप्ने हो भने अमेरिकी बजारमा लागू भएको कुरा यहाँ पनि लागू हुनेछ। यो प्रयोगका लागि लामो समय कुर्नुपर्दैन। केही समय धैर्य गरे पुग्छ।

Leave a Reply

Your email address will not be published.