द्वन्द्वकालीन चलचित्र उमा प्रदर्शन

umaकाठमाडौं- विगतमा नेपालमा भएको सशस्त्र द्वन्द्वले नेपाली समाजमा परेको असरलाई कथानक विषयवस्तुको आधार बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘उमा’ आजदेखि देशभर प्रदर्शन सुरु भएको छ। मिला प्रोडक्सनले द्वन्द्वकालमा आधारित नेपाली चलचित्र ‘उमा’  चाहविलको गोपीकृष्ण हल, कमलपोखरीको बिग सिनेमा हल लगायतका ३६ वटा सिनेमा हलमा प्रदर्शनमा ल्याएको छ।

माओवादी द्वन्द्वकालमा एक परिवारले भोग्नुपरेको पीडामा आधारित सो चलचित्र सत्य घटनाबाट प्रेरित तथा वैचारिक मतभेदका कारण बिछोडिएका दुई दाजुबहिनीको सम्बन्ध वरिपरि प्रस्तुत गरिएको छ।

चलचित्रमा कलाकार सौगात मल्लले नायक तथा ऋचा शर्माले नायिकाको भूमिका निभाएका छन्। त्यसैगरी तुलसी घिमिरे, मिथिला शर्मा, अशोक शर्मालगायतको भूमिका रहेको छ।

मुलुकको विगत र वर्तमान राजनीतिक घटनाक्रम तथा परिवर्तनले नेपालीको जीवनमा पारेका प्रभावलाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ त्यस्तै पटकथा छिरिङ छोदन र कुमार भट्टराईले तयार गर्नुभएको र त्यसलाई छिरिङरितार शेर्पाले निर्देशन गरेका छन्।

चलचित्रको अधिकांश दृश्य काभ्रेमा छायाङ्कन गरिएको र चलचित्रको समयवधि दुई घन्टाको रहेको छ। चलचित्रको निर्माण लागत रु ६० लाख रहेको बताइएको छ।

प्रोडक्सनका अध्यक्ष छिरिङरितार शेर्पाले अतितमा नेपाली समाजले भोग्नुपरेको द्वन्द्वको पीडा तथा त्यसको यथार्थलाई अध्ययन गरी मुलुकको शान्ति प्रक्रिया तथा सामाजिक रूपान्तरणमा सहयोग पुर्‍याउने उद्देश्यले त्यसलाई सही अर्थमा सम्बोधन गर्न प्रयत्न गरिएको बताए। रासस

Leave a Reply

Your email address will not be published.