पूर्व सभासद् हकको अन्त्येष्टि, चार दिनदेखि बन्द राजमार्ग खोलियो

मनोहर पोखरेल/राजेश झाक्क, राजविराज- पूर्व सभासद् सदरुल मियाँ हकको आज दाहसंस्कार गरिएको छ। उहाँको हत्याका कारण चार दिनदेखि बन्द रहेको पूर्व–पश्चिम राजमार्ग पनि आजैदेखि सञ्चालनमा आएको छ। गृहमन्त्री माधवप्रसाद घिमिरेले पूर्व सभासद् सदरुल मियाँ हकका हत्यारालाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि आज मात्र हकको मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै चार दिनदेखि बाटो अबरुद्ध गरी आन्दोलनमा उत्रिएका आफन्त र छिमेकीहरूको माग पूरा गर्न सरकार सहमत भएपछि कल्याणपुर–२ स्थित उनको घरदेखि ५०० मिटर पूर्व–दक्षिण अन्त्येष्टि गरिएको छ।

सप्तरीको कल्याणपुर गाविस–२ स्थित हकको घर पुगेर गृहमन्त्री घिमिरेले हकको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै परिवारका सदस्यसँग भेटघाट गरी समवेदना प्रकट गरे। करिब १५ मिनेटसम्म मियाँका परिवारसँग कुराकानी गर्नुभएका गृहमन्त्रीले हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्‍ने आश्वासन दिए।

स्वर्गीय हकको दाहसंस्कारमा नेपाल तथा भारतका हजारौं मुस्लिम समुदायका अगुवाहरूको सहभागिता थियो। यसैगरी हक निर्वाचित भएको क्षेत्र नं. ५ का सर्वसाधारणहरूको पनि ठूलो सहभागिता थियो।

सदरुल मियाँ सङ्घर्ष समितिका सदस्य एवम् पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादवले सरकारले हत्यामा संलग्न अपराधीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी गराए। गृहमन्त्री घिमिरेका साथ गृहसचिव नवीन घिमिरे, नेपाल प्रहरीका प्रमुख कुवेरसिंह रानासहितको उच्च सरकारी टोली सप्तरीको कल्याणपुर पुगेको थियो।

सङ्घर्ष समितिसँगको वार्तापछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गृहमन्त्री घिमिरेले सरकार स्वर्गीय हकको हत्याप्रति गम्भीर रहेको र कुनै पनि शर्तमा दोषीलाई नछाडिने बताए। अपराधीलाई नियन्त्रणमा लिई सार्वजनिक गर्नुपर्ने, हत्या गरिएका हकलाई सहिद घोषणा गर्नुपर्ने, पूर्व मुस्लिम न्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गरिनुपर्ने, राष्ट्रिय सम्मानका साथ हकको अन्तिम संस्कारको व्यवस्था गरिनुपर्ने माग सङ्घर्ष समितिले राखेको थियो।

यसैगरी मुस्लिम समुदायको सुरक्षाको प्रत्याभूति, चार दलका शीर्ष नेता र सरकारको उपस्थितिमा घटनास्थलमै वार्ताको व्यवस्था, मुस्लिम सङ्घर्ष गठनबन्धनसँग सरकारले यसअघि गरेका सम्झौताको कार्यान्वयनजस्ता मागहरू पनि सङ्घर्ष समितिले अघि सारेको थियो।

पूर्व सभासद् हकको गत सोमबार राति सप्तरीको कल्याणपुर गाविसस्थित आफ्नै पेट्रोल पम्पमा सुतेका बेला धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरिएको थियो। हत्याको अनुसन्धान गर्न धरानस्थित कोसी अञ्चल प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरले घटनास्थलदेखि ३०० मिटर उत्तरमा रहेको बाँसघारीमा शंकास्पद व्यक्तिको सर्ट, एक थान चप्पल र हत्यामा प्रयोग गरिएका छुरा फेला पारे पनि हत्यारा पत्ता लगाउन अझै सकेको छैन।

यसैबीच सडक आन्दोलनमा उत्रिएको सङ्घर्ष समितिले आन्दोलन फिर्ता लिएको जनाए पनि वार्तामा भएको सहमतिबारे जानकारी नपाउँदा आक्रोशित प्रदर्शनकारीले राजमार्गमा रहेका दुई वटा भाडाका गाडीका सिसा फुटाएका छन्।

उनीहरूले को१ज १२०१ नम्बरको भ्यान र बा३च ९५६७ नम्बरको कारको सिसा फुटाएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरी, प्रशासन र मुस्लिम नेताहरूको प्रयासमा बन्द खुलाइएको हो। आक्रोशित भिडलाई शान्त पारेपछि रोकिएका गाडीहरू आ–आफ्नो गन्तव्यतिर जान थालेका छन्। रासस

Leave a Reply

Your email address will not be published.