मिस नेपालको ‘चिसो हात न्यानो माया’

Miss Nepal Ishani Shrestha
तस्बिर : स्मृति ढुंगाना

काठमाडौं- मिस नेपाल आयोजक संस्था द हिडेन ट्रेजरले जुम्लाको दुर्गम गाउँमा आधारभूत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। ‘चिसो हात न्यानो माया” भन्ने नाराका साथ यही वैशाख ३० र ३१ गते स्वास्थ्य शिविर आयोजना गर्न लागिएको सो संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। ग्रामीण भेगका जनतालाई आधारभूत स्वास्थ्य सेवा दिने तथा जागरण  ल्याउने उद्देश्यले स्वास्थ्य शिविरसँगै आधारभूत स्वास्थ्य सचेतना तथा महिला सशक्तीकरणसम्बन्धी जागरण कार्यक्रम सञ्चालन गरिने संस्थाले जनाएको छ।

संस्थाका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले मिस नेपालले हरेक वर्ष समुदायमा आधारित जागरणमूलक कार्यक्रम गर्ने परम्पराअनुरुप यस वर्ष दुर्गम गाउँमा स्वास्थ्य शिविर तथा जागरण कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। उनले विगतका वर्षमा सहरकेन्द्रित मात्र कार्यक्रम भएको भनेर आलोचना बढेकाले यस पटक दुर्गम जिल्लाको गाउँमा फरक ढङ्गले कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

मिस नेपाल इशानी श्रेष्ठले दुर्गम गाउँका मानिसमा पनि खासगरी बालबालिका र महिलाका स्वास्थ्य र शिक्षाका बारेमा विशेष अभिमुखीकरण कार्यक्रम गरिने बताए। संस्थाका अनुसार स्वास्थ्य शिविरमा दुर्गम गाउँका जनतालाई आधारभूत स्वास्थ्यबारे जानकारी गराउनाका साथै विशेषगरी दाँतको उपचारका बारेमा सशक्तीकरण गराइनेछ। शिविर तथा जागरण कार्यक्रमका लागि केन्द्रबाट दुई चिकित्सक तथा मिस नेपाल श्रेष्ठ, द हिडेन ट्रेजरका अध्यक्ष  कक्षपतिको टोली जुम्ला जाने बताइएको छ।

कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग जुटाउन आगामी बुधबार काठमाडौंको वसन्तपुर र बिहीबार ललितपुरको पाटनमा आर्थिक सङ्कलन गरिने जनाइएको छ। रासस

Leave a Reply

Your email address will not be published.