दुर्घटनामा तीन जनाको मृत्यु

चितवन- गएराति भएका अलगअलग सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।  पूर्वी चितवनको वीरेन्द्रनगरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको र रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा अर्को एक जनाको मृत्यु भएको हो। राजविराजबाट नेपालगन्जतर्फ जान आउँदै गरेको ना३ख ७९६१ नम्बरको बसले वीरेन्द्रनगरको खुरखुरेमा ना११प ४५२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भण्डारा– २ का ४७ वर्षीय पूर्णबहादुर विक र भण्डारा– ७ का ५० वर्षीय सुकराम चौधरीको मृत्यु भएको हो।

ठक्करपछि गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा पुरानो मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यस्तै खैरहनीमा रोकी राखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा कठार– ८ का ३० वर्षीय शशी दराईको मृत्यु भएको छ। राति १०ः३० बजेतिर दराई र सन्तोष लामा चढेको मोटरसाइकल खैरहनी– ५ सुर्तानामा ट्र्याक्टरमा ठोक्किएको थियो।

दराईको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा मृत्यु भएको हो। घाइते लामाको भने भरतपुरमा उपचार भइरहेको छ। रासस

Leave a Reply

Your email address will not be published.