पत्रकार ठाकुरसिंह थारु पुरस्कृत

ठाकुरसिंह थारु
ठाकुरसिंह थारु

काठमाडौं- ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’बाट बर्दियाका ठाकुरसिंह थारु पुरस्कृत भएका छन्। कान्तिपुर दैनिकका नेपालगन्ज संबाददातासमेत रहेका थारुसँगै यस विधामा काठमाडौंका प्रकाश माथेमा, धादिङकी सरिता श्रेष्ठ, सप्तरीका मनोजकुमार माझी र ललितपुरकी सञ्चुकुमारी लामा तामाङ पुरस्कृत भए।

त्यस्तै काउन्सिलले वार्षिकोत्सवका अवसरमा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीलाई ‘गोपालदास पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरेको छ। उनलाई एक लाख रुपैयाँ राशिसहित पुरस्कृत गरिएको हो।

यसैगरी राससका उपसमाचारदाता रमेश लम्साल ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भए। सो पुरस्कारको राशि १५ हजार रुपैयाँ छ। सोही पुरस्कारबाट दाङका शरद अधिकारी र जुम्लाका नेत्रबहादुर शाहीसमेत पुरस्कृत भए।

‘प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार’बाट पर्साका गया यादव, झापाका लोकराज ढकाल र मकवानपुरका रामकुमार एलन तथा ‘प्रेस काउन्सिल युवा सशक्तीकरण पुरस्कार’बाट सिन्धुपाल्चोकका ऋषिराम पौड्याल, कास्कीकी गोमा घिमिरे र धनुषाका लक्ष्मण यादव सम्मानित भए। पौड्यालले राससबाटै पत्रकारिता सुरु गरेका हुन्।

‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार’ मोरङका विक्रम निरौला र कञ्चनपुरका राजेन्द्रनाथले हात पार्नुभयो भने ‘प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार’ काठमाडौँकी गृष्मा राजभण्डारी र दोलखाकी सन्तोषी कार्की पुरस्कृत भए।

यस्तै ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’बाट मिथिला साप्ताहिक पुरस्कृत भएको छ भने ‘स्तम्भ लेखन पुरस्कार’बाट श्यामसुन्दर शशि र ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’बाट ईश्वरचन्द्र ज्ञवाली पुरस्कृत भए।

त्यसैगरी ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’बाट काठमाडौँका शुकेश्वर पाठक पुरस्कृत भए भने काउन्सिलका कर्मचारीद्वय जगदीशप्रसाद पौडेल र कार्यालय सहयोगी प्रल्हाद बस्नेत पनि पुरस्कृत भए। रासस

Leave a Reply

Your email address will not be published.