राष्ट्रपतिद्वारा ‘कू’ प्रयासको प्रचार गलत

Ghachadarवीरगञ्ज- चुनावी मन्त्रिपरिषद्अघि बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रपतिले चार पटक ‘कू’को प्रयास गरेको आरोपलाई खण्डन गरेका छन्। राष्ट्रपति यादवले चार पटक ‘कू’को प्रयास गरेको भनि पूर्वप्रधानमन्त्री भट्टराईले दिएको अभिब्यक्तिबारे वीरगञ्जमा सञ्चारकर्मीको जिज्ञासामा नेता गच्छदारले यस्तो बताएका हुन्।

‘संविधानअनुसार राष्ट्रपतिको भूमिका सरकारको निर्णयसँग सम्बन्धित छ। राष्ट्रपतिले त्यस्तो कुनै प्रयास गरेको भनि मलाई थाहा छैन्’, उनले भने, ‘मैले थाहा पाएसम्म राष्ट्रपतिले जिम्मेवारी निर्वाह गर्दै, सधैं आफ्नो मर्यादामा बस्नुभएको छ।’

असारमा चुनाव हुने सम्भावना टरेकाले अब कात्तिकको अन्तिम साता वा मंसिर ५ मा जसरी पनि चुनाव हुनेमा गच्छदारले विश्वास दिलाए। अहिले चुनावमा विरोध जनाएका दललाई विश्वासमा लिने प्रयास भइरहेको उनले बताए। उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम नेपाल र मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीलाई उच्चस्तरीय राजनीतिक संयन्त्रमा सामेल गरेर चुनावमा जाने तयारी भइरहेको उनले जानकारी गराए।
चुनावलाई स्वीकार नगर्ने राजनीतिक दललाई लोकतान्त्रिक चरित्रको मान्न नसक्ने उनले टिप्पणी गरे। संविधान सभाको चुनाव गराउने प्रयोजनको लागि मात्र गठित प्रधान्यायाधीश नेतृत्वको वर्तमान सरकारबाट नियमित सरकारी काम सम्पादन हुन नसक्ने भएकाले छिटो निर्वाचन चाहिएको उनले तर्क गरे। चारपटक राष्ट्रपतिले ‘कू’को प्रयास गरेको भट्टराईले शुक्रबार सञ्चारकर्मीसँग दाबी गरेको खबर आएको थियो।

Leave a Reply

Your email address will not be published.